coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाम गरेको भन्दै ६२ वटा सिटी सफारी नियन्त्रणमा

विराटनगर महानगरपालिका क्षेत्रभित्रका सडकमा सञ्चालन भइरहेका सिटी सफारीलाई प्रहरीले कारबाही थालेको छ ।  

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ। शुक्रबार गरेको कारबाहीमा विराटनगर क्षेत्रबाट ६२ वटा सिटी सफारी नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

‘चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, बिना दर्ताका र नम्बर प्लेट बिना नै सञ्चालन गरिँदै आएका सफारीलाई कारबाहीका गर्न थालेका हौं,’ एसपी खड्काले भने, ‘शुक्रबार मात्रै ६२ वटा सफारी नियन्त्रण लिएका छौं । यो अभियान जिल्लाभर सञ्चालन गर्ने छौं ।’ कानुन विपरीत चलाइने सफारीका कारण राजमार्ग एवं भित्री सडकमा दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापन समस्या भएपछि कारबाही थालेको एसपी खड्काले बताए।  

यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी, बिनानम्बर प्लेट चलाउने र दुर्घटना भएपछि चालक तत्काल फरार हुँदा कारबाही गर्न ठूलो समस्या भइरहेको प्रहरीले जनाएको छ। केही पनि कागजपत्र नभएपछि दुर्घटनाबाट क्षति पुगेको पक्षले उपचार तथा क्षतिपूर्ति नपाउने अवस्था रहेको छ।  

मोरङमा ५ हजार ५ सयमध्ये विराटनगरभित्र ३ हजार ५ सयभन्दा बढी सिटी सफारी चलेको ट्राफिक प्रहरीले जनाएको छ। जिल्लाभर सञ्चालन भएकामध्ये आधाभन्दा बढी नियम विपरीत चलेका छन्।  

सफारी बिक्री गर्ने डिलरले मुनाफा मात्रैलाई ध्यान दिएर जथाभावी बिक्री गरिदिँदा धेरै समस्या भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सिटी सफारीलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरी कानुन अनुसार सबै प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्ने गरी छाड्ने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए।

ट्राफिक नियमविपरीत चलाउनेलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । 

प्रकाशित: १७ वैशाख २०७८ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App