coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध जुट्दै हातः एम्बुलेन्स, शववाहन, अक्सिजन र औषधि निःशुल्क

पर्सामा बढ्दो कोरोना संक्रमणको त्रास र मृत्युका घट्नाबीच समस्यासंग जुध्न सहयोग र साथ जुटन थालेको छ। यहाँ निःशुल्क अक्सिजन, एम्बुलेन्स र शववाहनको ब्यवस्था भएको छ। एउटा गैरसरकारी संस्थाले सरकारी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोगस्वरुप दिएको छ। त्यसतै यहाँस्थित नेशनल मेडिकल कलेजले एक सय ७२ शैयाको अस्थायी कोरोना बिशेष अस्पताल संचालनमा ल्याएको छ।  

यहाँ वीरगन्ज महानगरपालिकाले निःशुल्क अक्सिजन बैंक स्थापना गरेको हो। कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। मंगलबारदेखि सञ्चालनमा ल्याइएको अक्सिजन बैंक वीरगन्ज महानगरपालिका परिसरमा स्थापना गरिएको हो। अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचार प्रभावित भइरहेको अवस्था सामना गर्न निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको नगरप्रमुख सरावगीले बताए।  

त्यसतै महानगरपालिकाले कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेका संक्रमितका लागि आवश्यक पर्ने औषधि किट समेत निःशुल्क रुपमा वितरण गर्न थालेको छ। वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमितका लागि घरघरमैं औषधि निःशुल्क वितरण सुरु गरेको जनाएको छ। कोरोना संक्रमितलाई लक्षणअनुसार चलाइने सहयोगी औषधि प्रदान गरिएको महानगरका नगर प्रमुख सरावगीले जानकारी दिए। पारासिटामोल, भिटामिन सि, भिटामिन डि, एसिडिटी रोक्ने औषधि र एन्बिायोटिक जस्ता आठ प्रकारका औषधि महानगरले उपलब्ध गराएको छ। संक्रमितलाई औषधिको प्रयोग विधि र मात्रासमेत बताउने गरिएको छ।  

एम्बुलेन्स र शव वाहन

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवको संसदीय क्षेत्र विकास कोष र वीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा निःशुल्क एम्बुलेन्स र शव वाहन बुधबारदेखि सञ्चालनमा ल्याइएको छ। एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद यादवले महामारीको समयमा निःशुल्क एम्बुलेन्स सेवाले थोरै भएपनि मानिसहरुलाई सहयोग मिल्ने विश्वास व्यक्त गरे। पोहोर कोरोना संक्रमण बढेको बेला एम्बुलेन्स तथा शव वाहनको अभावमा कोरोना संक्रमित तथा संक्रमितका आफन्तले सास्ती खेप्नुपरेको उनले सम्झे। यसपटक त्यस्तो समस्या खेप्न नपरोस् भनेर एम्बुलेन्स खरिदका लागि आफ्नो संसदीय विकास कोषबाट ४६ लाख रुपैयाँ उपलब्ध गराएको सांसद यादवले बताए। महानगरपालिकामार्फत् एम्बुलेन्स सेवा सञ्चालन गरिने महानगरपालिकाका नगरप्रमुख सरावगीले बताए।

संस्थाद्वारा भेन्टिलेटर सहयोग

'गैरसरकारी संस्था सानो पाइलाले, वीरगन्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ। ‘स्वास्प्रश्वासमा समस्या देखिएका कोरोना संक्रमित बिरामीहरुको उपचारमा उपयोगी हुने विश्वासका साथ हामी भेन्टिलेटर हस्तान्तरण गरेका हौँ,' संस्थाले जारी गरेको विज्ञप्तिमा छ।  

यसअघि नारायणी अस्पतालमा मात्र १० वटा भेन्टिलेटर थियो। जसमध्ये ५ वटा कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा थियो भने बाँकी पाँच अन्य प्रकारका सिकिस्त बिरामीको उपचारका लागि प्रयोगमा रहेको थियो। नारायणी अस्पतालमा अब प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ। जसमध्ये ११ वटा कोरोना संक्रमितका लागि उपयोगमा आउने भएको छ। गत मंगलबार सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन्। गैरनाफामुलक कम्पनी ‘भेन्टिलेटर सर्भिस’ सँगको सहकार्यमा सानो पाइलाले नेपाल नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो।  

१ सय ७२ शैयाको कोभिड अस्पताल

वीरगन्जमा नेशनल मेडिकल कलेजले कोरोना संक्रमितका लागि १७२ बेडको कोरोना अस्पताल बनाएर संक्रमितको उपचार सुरु गरेको छ। बिगतमा बाबा इन्टरनेशनल होटल संचालन रेहको भवनलाई अस्थायी कोरोना अस्पताल बनाएर अघिल्लो वर्षजस्तै कलेजले कोरोना संक्रमितका लागि अस्पताल सुरु गरेको हो।  

अस्पतालले जनाए अनुसार यस अस्थायी कोरोना बिशेष अस्पतालमा ६ वटा भेन्टिलेटरसहित २० शैयाको सघन उपचार कक्ष (आईसीयू) पनि छ। त्यस्तै १२ शैयाको आकास्मिक स्क्रिनिङ वार्ड बनाइएको छ। गत बुधबारदेखि लक्षणसहितका कोरोना संक्रमित बिरामीहरुको उपचार त्यहा सुरु गरिएको कलेजका प्रबन्ध निर्देशक महमद बसरुद्दिन अन्सारीले बताए।

प्रकाशित: १७ वैशाख २०७८ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App