६ वैशाख २०८१ बिहीबार
समाज

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

हालसम्म बाँकेका ११० र बाहिरी जिल्लाका १११ जनाको मृत्यु

कोरोना संक्रमणबाट भेरी अस्पतालमा मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन गर्दै नेपाली सेना लगायत । तस्बिर : नागरिक

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।  

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी ६८ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी बैशाख १५ गते भेरी अस्पतालमा भर्ना भएका थिए । भोलीपल्ट पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।  

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको हो । यही बैशाख १३ गते कोरोना पोजेटिभ भएकोमा बैशाख १५ गते उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बिहीबार दिउँसो मृत्यु भएको हो ।  

मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै ३३ वर्षीय पुरुषको बिहीबार उपचारका क्रममा मत्यु भएको छ । यही बैशाख १३ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि बुधबार अस्पतालमा उनी भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बिहीबार बिहान १०ः३० बजेतिर मृत्यु भएको हो ।  

यस्तै भेरी अस्पतालमा ५१ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । टिकापुर नगरपालिका वडा नम्बर १ कैलाली घर भएकी उनको बिहीबार बिहान १० बजे मृत्यु भएको हो । यही बैशाख १४ गते कैलालीमा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा झन् गम्भिर समस्या देखिएपछि थप उपचारका लागि भेरी अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यसैगरी लम्कीचुहा नगरपालिका वडा नम्बर १ कैलाली निवासी ४३ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख १४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि बिहान ७ः५० बजेतिर मृत्यु भएको हो ।

यस्तै भेरी अस्पतालमै खजुरा गाउँपालिका वडा नम्बर २ बाँके निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १० गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो । त्यसपछि भेरी अस्पतालमा बैशाख १२ गते भर्ना भएकी उनको बिहीबार बिहान ८ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यही बैशाख १० गते पिसिआर परिक्षण गराएकोमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । भेरी अस्पतालमा बुधबार भर्ना भएका उनको भोलीपल्ट बिहीबार बिहान साढे ५ बजेतिर मृत्यु भएको हो ।  

भेरी अस्पतालमा उपचार गराइरहेका बर्दिया, बढैयाताल गाउँपालिका वडा नम्बर ८ बर्दिया निवासी ३२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । यही बैशाख ९ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमा बुधबार भर्ना भएका उनको राती साढे १ बजेतिर मृत्यु भएको हो ।  

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । यही बैशाख १० गते बागेश्वरी ल्याबमा कोरोना पोजेटिभ देखिएपछि उनी बैशाख ११ गते भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बुधबार राती १० बजे अस्पतालमा मृत्यु भएको हो ।  

यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा बुधबार मात्र कोरोना पोजेटिभ देखिएकोमा सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि राती ९ बजे मेडिकल कलेजमा मृत्यु भएको हो ।  

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । यही बैशाख ६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । भेरी अस्पतालमा बुधबार भर्ना भएका उनको राती ९ बजेतिर मृत्यु भएको हो ।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ निवासी उनको बुधबार राती ८ः५५ बजेतिर मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि उनी बुधबार अस्पतालमा भर्ना भएका थिए । यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका १ सय १० र बाहिरी जिल्लाका १ सय ११ जनाको मृत्यु भइसकेको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए ।

प्रकाशित: १६ वैशाख २०७८ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App