१६ चैत्र २०८० शुक्रबार
समाज

सलाम मुस्कान खातुन

‘एसिड आक्रमण’ भन्नासाथ प्रायः नेपालीको सम्झनामा आइहाल्ने हसिली र साहसी किशोरी हुन्, मुस्कान खातुन । एसिड आक्रमणमा परेकी उनको अनुहार र शरीरका दागहरू दर्दनाक घटनाका साक्षी बनेका छन् । उनले जीवनलाई सकारात्मक रूपमा लिन थालेकी छन् । त्यसैले दरिलो भएर आफ्ना सपनाहरू पछ्याउँदै अघि बढेकी छन् । ‘एसिड आक्रमणबाट मेरो अनुहार बिग्रियो,’ उनीले भनिन्, ‘तर यो दागले मेरो सपना, आँट र मुस्कानलाई असर गर्दैन । अनुहारमा भएका दागबाट मेरो मूल्यांकन गर्नु गलत हो ।’  

एसिड आक्रमणमा परेपछि महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानमा जुटेकी उनी धेरैको प्रेरणाकी स्रोत हुन् । एसिड आक्रमणको अन्त्यका निम्ति उनले गरिरहेको कामलाई प्रोत्साहित गर्न अमेरिकाको विदेशी मन्त्रालयले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्लुओसी) अवार्डबाट पनि सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८)मा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिंकन सहभागी भएको भर्चुअल कार्यक्रममार्फत उनलाई सो अवार्ड प्रदान गरिएको थियो ।  

वीरगन्ज छपकैयाकी मुस्कानलाई एसिड आक्रमणविरुद्धको अभियन्ता भई पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेका थियो । साहसी महिला अवार्ड प्राप्त गर्ने उनी नेपालबाट पहिलो महिला हुन् भने अहिलेसम्मको कान्छीसमेत हुन् । ‘यस अवार्डले मलाई एसिड आक्रमणविरुद्धको अभियानलाई निरन्तरता दिन प्रेरित गरेको छ,’ उनले भनिन्, ‘यसले मलाई महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने जिम्मेवारीसमेत थपिदिएको छ ।’ १४ वर्षदेखि व्यक्तिगत जोखिम र त्याग, शान्ति, न्याय, मानवअधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने साहसी तथा नेतृत्व प्रदर्शन गरेका संसारभरका महिलाहरूलाई सो अवार्ड प्रदान गरिँदै आएको छ ।

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले मुस्कानलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानको छ । ‘म पीडामा भइरहेका बेला सबैभन्दा धेरै मलाई मेरो परिवारले साथ दिएको थियो,’ उनले भनिन्, ‘सबैको साथ र हौसलाका कारण ममा सकारात्मक परिवर्तन आएको छ ।’ सामाजिक सञ्जालमा सक्रिय उनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्यलाभको कामना गर्दै मुस्कुराइरहन आग्रह गरेका थिए ।  

साहसी महिला अवार्ड पाएसँगै उनको जिम्मेवारी बढेको छ । साँझ कलंकीको ढुंगेअड्डास्थित उनको डेरामा पुग्दा उनी हिंसामा परेकी एक किशोरीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेकी थिइन् । उनी पाँच सन्तानमध्येकी दोस्रो सन्तान हुन् । दिदीको विवाह भइसकेकाले तीन भाइबहिनीकी जेठीबाठी उनी नै हुन् । उनको उपचार गर्न काठमाडौं आएसँगै सातजनाको परिवार फ्ल्याट भाडामा लिएर बस्न थालेको डेढ वर्ष हुँदैछ । स्कुलबाट फर्किएलगत्तै उनी बुबा रसुल अन्सारीलाई सहयोग गर्न डेराछेउको पसल पुगिहाल्छिन् । त्यहाँबाट फर्किएपछि भने उनी अध्ययनमा व्यस्त हुने गर्छिन् ।  

बुबा रसुल अन्सारी कक्षा ९ मा अध्ययरत उनलाई कलंकीको ब्राइट फ्युचर सेकेन्डरी स्कुलसम्म पु¥याउने गर्छन् । बिहान साढे ६ बजे स्कुल पुगिसक्ने उनी दिउँसो ४ बजेपछि मात्रै डेराका फर्किन्छिन् । डाक्टर बन्ने सपना साचेकी उनको आजकल कापी, किताब, कलम र पढाइ लेखाइमा प्रेम बसेको छ । बुवाआमाको दुःख बुझेकी मुस्कान जागिर खाएर उनीहरूलाई खुसी राख्न लम्किएकी छन् । ‘पढाइ पूरा गरेपछि जागिर गरेर बुवाआमालाई राम्ररी पाल्छु,’ उनी भन्छिन् । छोरीको कुरा सुनेर बुवाआमा दंग छन् । वीरगन्जको मुस्लिम परिवारमा जन्मिएकी उनलाई सानै उमेरमा विवाहको प्रस्ताव आएका थिए । उनका बुवा रसुल छोरीहरूलाई पढाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका थिए ।  

प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण सम्साद मियाँ र साजिद मियाँले वीरगन्जमा उनीमाथि २०७६ भदौ २० मा १४ वर्षको उमेरमा एसिड छ्यापिदिएका थिए । स्कुल जाँदै गर्दा बिहान ६ बजे एसिड छ्यापिएकी उनको अनुहार र शरीरमा दागहरू लागेका छन् । तर यसले न उनको मुस्कान खोसेको छ, न त साहस नै । वीरगन्जमा कक्षा ९ मा पढ्दै गरेकी मुस्कानले कक्षामा शिक्षकले पढाउँदा एसिड आक्रमणबारे पढेकी थिइन् । एसिडले पोल्छ भन्ने कुरा उनलाई थाहा थियो । एसिड आक्रमण भएलगत्तै उनलाई आफूमाथि एसिड छ्यापिएकोबारे चाल पाइनन् । ‘केटाहरूले मेरो अनुहारमा तातो पानी छ्यापिदिएजस्तो लाग्यो,’ उनले स्मरण गरिन्, ‘सो तरल पदार्थ मेरो अनुहार, घाँटी, हातमा पर्नेबित्तिकै अत्यधिक पोल्न थाल्यो । एक्कासि भुइँमा बजारिएकी थिएँ । होस आउँदा वीरगन्जको नारायणी अस्पतालको बेडमा थिएँ ।’  

मुस्कान बेहोस भएर बाटोमा ढलेको देखेर उनका साथीहरूले अस्पताल पु¥याइदिएका थिए । वीरगन्जको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका निम्ति काठमाडौं रिफर गरिएको थियो । काठमाडौंको कीर्तिपुर अस्पताल पुगेपछि मात्र उनलले आफूमाथि एसिड आक्रमण भएको जानकारी पाएकी थिइन् । एसिड आक्रमणमा परेको थाहा पाएपछि उनीलाई शरीर बिग्रिनेभन्दा पढाइ छुट्ने चिन्ता थियो । उता उनका बुबा रसुल र आमा सहनाज खातुनलाई छोरीको चिन्ता थियो । एसिडले छोएको मुस्कानको अनुहार र घाँटीका दाग सुक्ने क्रममा छन् । अझ पनि मुस्कानको मस्तिष्कका एसिड आक्रमणको दर्दनाक घटना ताजै छ । ‘बाटोमा उभिइरहेका थिएँ,’ उतिबेलाको घटना स्मरण गर्दै उनले भनिन्, ‘दुईजना केटाले मुस्कान यो पानी खान भन्दै थिए । तिमीहरूले दिएको पानी किन खाने भनेर म आफ्नो बाटो लागेको थिएँ । उनीहरूले मलाई धेरै पटक पछाडि फर्केर हेर्न भनेपछि पछाडि फर्किंदा नपिउने भनेको पानी मेरो अनुहारमा छ्यापिदिएका थिए । उनीहरूको नियत मलाई एसिड पिउन दिने रहेछ । मैले नमानेपछि अनुहारमा छ्यापिदिए ।’  

परबाट फ्याँकिएका तरल पदार्थ अनुहारमा पर्ने भएपछि मुस्कानले स्कुल ब्यागले छेक्ने कोसिस गरेकी थिइन् । तर ब्यागले पुरै छेक्न सकेन । उनीमाथि एसिड आक्रमण गर्ने किशोर र सहयोगीलाई पर्सा जिल्ला अदालतको आदेशअनुसार बालसुधार गृह पठाइएको थियो । एसिडले घाँटी, हात र अनुहारको दायाँ भागमा गम्भीर चोट लागेको उनी हाल स्वास्थ्य उपचारका लागि सातामा दुई दिन कीर्तिपुर अस्पताल धाइरहेकी छन् । अहिले एसिडको पीडालाई उनले आफ्नो शक्ति बनाएकी छन् ।

यसअघि कीर्तिपुर अस्पतालमा भर्ना भएर झन्डै ६ महिना उपचार गराइरहँदा उनले महिला तथा बालिकामाथि हुने विभिन्न प्रकारका हिंसाविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । त्यस्तै उनले एसिड आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि सरकारसँग अपिल गरिरहेकी थिइन् । एसिड आक्रमणविरुद्धको अभियानपछि सरकारले एसिड आक्रमणकारीहरूलाई कारबाही तथा एसिड बिक्रीलाई नियमन गर्ने अध्यादेश ल्याएको थियो ।  

छोरी महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा जोडिएको देखेर उनका बुबा रसुल खुसी छन् । ‘छोरीले एसिडको ठूलो दाग कसरी सहन सक्लिन् भन्ने पिर थियो,’ उनले भने, ‘अहिले उनले यस दागलाई शक्तिको रूप लिएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा जुटेकी छन् । उनी हाम्रा लागि समेत प्रेरणाको स्रोत भएकी छन् ।’  

अहिले उनी आत्मरक्षाको निम्ति मार्सल आर्ट (तेक्वान्दो) को प्रशिक्षण लिइरहेकी छन् । फुर्सदमा पुस्तकहरू पढ्ने, पेन्टिङ बनाउने र गीत गुनगुनाउने गर्छिन् । ‘सेल्फ डिफेन्सबारे सामान्य ज्ञान मात्र भइदिएको भए ममाथि एसिड आक्रमण भइराख्दा प्रतिकार गर्ने थिएँ,’ उनले भनिन्, ‘हाम्रोजस्तो समाजमा छोरीहरूलाई बलियो बनाउन मार्सल आर्टको प्रशिक्षण दिनु जरुरी छ ।’  

मुस्कान सामाजिक सञ्जालमा सक्रिय भइरहेकी छन् । महिलाहरूका विषयमा आउने जवाफको प्रतिक्रिया दिइहाल्ने गरेको उनी बताउँछिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको हौसलाले महिलामाथि हुने हिंसाविरुद्ध बोल्न प्रोत्साहित गरेको उनी बताउँछिन् । ‘एसिड आक्रमणपछि अहिले मैले दोस्रो जीवन पाएकी छु,’ उनले भनिन्, ‘देशविदेशबाट शुभचिन्तक, सेलिब्रेटी र राजनीतिज्ञलगायतले मलाई हौसला दिइरहेका छन् । सामाजिक सञ्जालबाट सूचनासमेत पाउने गरेकी छु । परिवारको साथ र सहयोगले अगाडि बढिरहेको छु ।’ औपचारिक शिक्षालाई निरन्तरता दिन लागिपरेकी उनी महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध सशक्त भएर आवाज उठाउने तर्क गर्छिन् । ‘हामीमाथि भएको हिंसाको घटना लुकाउनुभन्दा बाहिर ल्याएर सामाजिक रूपान्तरण गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘हिंसा सहेर चुप लागेर बस्यौं भने धेरैले पीडा खेप्नुपर्ने हुन्छ ।’ उनीमाथि एसिड आक्रमण हुँदा पीडकलाई कारबाही गर्ने कानुनी व्यवस्था फितलो थियो । पीडितको घाउचोट हेरेर पीडकलाई सजाय हुन्थ्यो ।  

उनले घाउचोट नभएर अपराधीको सोचअनुसारको सजाय दिनुपर्ने अभियानलाई निरन्तरता दिएकी थिइन् । केही समयअघि सरकारले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो । फलस्वरूप राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै गत असोज १२ मा ‘एसिड तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७’ जारी भएको छ । सो अध्यादेशमार्फत एसिड अपराध गर्नेविरुद्ध कैद र जरिवानालगायत कानुनी प्रावधान हेरफेर गर्न मुलुकी अपराध संहिता २०७४ सहित पाँचवटा कानुनका दफा फेरिएको छ । सो कानुनमा एसिड आक्रमण गर्नेलाई २० वर्षसम्म जेल सजाय र १० लाख जरिवाना हुनेछ भने पीडकले पीडितलाई क्षतिपूर्ति दिनुपर्नेछ । एसिडको खुला बिक्री वितरण बन्द गर्ने, आक्रमण गर्नेलाई कडा सजाय, पीडितलाई निःशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने कानुन राज्यले ल्याइसकेको छ । तर यसका लागि जनचेतनामा समेत आवश्यक रहेको ठहर मुस्कानको छ ।  

‘ममाथि एसिड आक्रमण हुँदा अपराधीहरूले म चुपचाप बस्छु भनेर सोचेका थिए,’ मुस्कानले भनिन्, ‘बिनागल्ती पाइएको पीडालाई बाहिर ल्याएँ ।’ उनी अध्यादेशको प्रभावकारी कार्यान्वयन हुनेमा आशावादी छिन् । उनका बुबा रसुल पनि छोरीले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्ने तर्क गर्छन् । ‘मुस्कानले धेरैको मनोबल बढाइदिएकी छन्,’ उनले भने, ‘एसिड आक्रमणमा परेपनि उनको मुस्कान कसैले खोस्न सकेको छैन । त्यसैले उनले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्छ ।’  

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले उनलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानले गरेकी छन् । ‘म पीडामा भइरहेका बेला सबैभन्दा धेरै मलाई मेरो परिवारले साथ दिएको थियो,’ उनले भनिन्, ‘सबैको साथ र हौसलाका कारण ममा सकारात्मक परिवर्तन आएको छ ।’ 

सामाजिक सञ्जालमा सक्रिय उनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्यलाभको कामना गर्दै मुस्कुराइरहन आग्रह गरेका थिए । ‘मेरो ठम्याइ छ कि तपाईं बलियो किशोरी हो । मेरो शुभकामना छ– तपाईंलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस् र सधैंभरि यसरी नै मुस्कुराउनुहोस्,’ बच्चनले भनेका थिए । अस्पतालबाट डेरा फर्किएलगत्तै उनी कलंकीस्थित स्कुलमा भर्ना भएकी थिइन् । पढाइलाई कसरी निरन्तरता दिने भनेर अन्योलमा परिरहेको अवस्थामा उनलाई स्कुलले उनको भव्य स्वागत गरेको थियो । डेराबाट बाहिर निस्किँदा उनी बुर्का लगाउँछिन् । एसिड आक्रमणपछि उनले बुर्का लगाउन थालेकी हुन् । ‘घरबाट बाहिर हिँड्दा घाउको इन्फेक्सन नहोस् भनेर बुर्का लगाउने गरेकी छु,’ उनले भनिन्, ‘मलाई आफ्नो अनुहार लुकाएर हिँड्न मन पर्दैन । अनुहार लुकाएर हिँड्दा एसिड छ्याप्ने अपराधीहरूको मनोबल उच्च हुन सक्छ । मचाहिँ किन अनुहार लुकाएर हिँड्नु ?’

एसिड आक्रमणमा परेकाहरूका निम्ति काम गरिरहेका उज्जवलविक्रम थापाले भने, ‘एसिड आक्रमणमा परेको मुस्कान एउटा पात्र हुन् । मुस्कानले प्राप्त गरेका पुरस्कारले उनीजस्ता पीडितलाई अपराधविरुद्ध आवाज बुलन्द पार्न हौसला दिएकी छन् । साहसी महिला अवार्डले हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरले पहिचान दिएको छ ।’  

एसिड आक्रमणमा पर्ने मुस्कान मात्र एक्ली होइनन् । सरकारी तथ्यांकअनुसार पछिल्लो सात वर्षमा २८ वटा एसिड आक्रमणका घटनामा २० जना एसिड आक्रमणका पीडितमध्ये १८ महिला र चार पुरुष छन् । त्यसमध्ये धेरै किशोरी छन् । एसिड आक्रमणबाट हालसम्म दुई महिलाको मृत्यु भइसकेको छ । एसिड आक्रमण गरेको आरोपमा २५ पुरुष र दुई महिला पक्राउ परेका छन् ।

प्रकाशित: ११ वैशाख २०७८ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App