१६ चैत्र २०८० शुक्रबार
समाज

प्रहरी जिल्याउँदै खैरो हेरोइन कारोबारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सुरक्षा कडा पारिए पनि त्यही बाटो हुँदै भित्रिने अवैध वस्तु तथा सामानहरूमा कमी आउन सकेको छैन। विमानस्थलभित्र प्रहरी चेकिङ छल्न निकै रहस्यमय तरिकाहरू अपनाई अवैध लागु औषध ओसारपसारमा हुने गरेको प्रहरीले जनाएको हो।  

अवैध सामान ओसारपसार गर्दा अनौठो तरिका प्रयोग हुन थालेपछि प्रहरी थप सतर्क हुन थालेको छ। चैत २६ गते विमानस्थलभित्र त्यस्तै अनौठो घटना भएको थियो। पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबासका ४९ वर्षीय दावा लामाले पेटभित्र अवैध लागूऔषध खैरो हेरोइनका क्याप्सुलहरू निलेर ल्याएका थिए। प्रहरीले उनको बाहिरी शरीरभरि चेकजाँच गर्दा कुनै अवैध लागुऔषध भेट्टाए तर एक्सरे मेसिनले उनको शरीरभित्र कुनै लागुऔषध वा धातु रहेको देखायो।

सूचनाका आधारमा शंका गरिएकोमा प्रहरीले उनीमाथि थप शंका गर्ने आधार बन्यो। लामालाई नेपाल प्रहरी अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुलहरू देखिए। अवैध कार्य गर्ने अनौठो तरिका देख्दा प्रहरीसमेत जिल्ल पर्‍यो। पेटबाट निकालिएको खैरो हेरोइनको तौल ९ सय ग्राम रहेको छ।

अचेल अवैध वस्तु/धातु ओसापसार गर्ने अनौठा तरिका भेटिएको प्रहरीको भनाइ छ। शरीरका अंगभित्र लुकाएरै भए पनि लागुऔषध तथा अमूल्य धातु/वस्तुको ओसारपसार हुन थालेपछि प्रहरीलाई थप चुनौती थपिएको छ। ‘अपराध र अवैध कार्यको आकार अनौठो नै हुन्छ, नसोचेको तरिका अपनाएर आपराधिक कार्य गर्नेहरूको जालो नै छ,’ नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरले भने, ‘प्रहरीले शंका लाग्यो र सूचना पायो भने जस्तोसुकै अपराध र अवैध कार्य पनि पत्ता लगाउन र रोक्न सक्छ।’  

अचेल अवैध वस्तु/धातु ओसापसार गर्ने अनौठा तरिका भेटिएको प्रहरीको भनाइ छ। शरीरका अंगभित्र लुकाएरै भए पनि लागुऔषध तथा अमूल्य धातु/वस्तुको ओसारपसार हुन थालेपछि प्रहरीलाई थप चुनौती थपिएको छ। ‘

प्रहरीका अनुसार लामाले लागुऔषध निलेर पेटमा पुर्‍याएका थिए। यसरी ल्याएको लागु औषध दिशाबाट निकालेर बिक्रिवितरण गर्ने योजना बनाएका थिए। शंका गरिएका लामाको पेटमा लागुऔषध भएको पुष्टि भइसकेको प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ। 

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले अपराधमा फरक शैली प्रयोग हुन थालेको बताए। उनले भने, ‘प्रहरीलाई छल्न निकै अनौठा तरिकाहरू अपनाउँछन्, अब प्रविधिको प्रयोग गरेर चेकजाँच बलियो बनाउनु आवश्यक छ।’ उनका अनुसार लामाका साथबाट ३ सय डर अमेरिकी डलर, पासपोर्ट र हवाई टिकट पनि बरामद भएको छ। लामा अहिले ब्युरोको नियन्त्रणमा छन्।

प्रहरीका अनुसार विमानस्थलको चेकजाँच कडा पारिएपनि अवैध लागु औषध कारोबार भने बढेको छ। प्रहरीले एक महिनामा २० जना भन्दा बढी व्यक्तिबाट विभिन्न किसिमका लागु औषध बरामद गरेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले देशभर नै सबैभन्दा बढी हुने आपराधिक घटनामध्ये अवैध लागु औषध अग्रपंक्तिमा पर्छ। गत साउन १ गते यता उपत्यकामा ४ सय पटकभन्दा बढी लागु औषध बरामद भएको छ। जसमध्ये विमान स्थलबाट पनि ७५ पटक लागु औषध बरामद गरेको तथ्यांकमा उल्लेख छ। कोकिन, खैरो र सेतो हेरोइन तथा अन्य लागु औषधका ट्याबलेटहरू प्रहरीले बरामद गर्दै आएको छ।

प्रकाशित: १० वैशाख २०७८ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App