८ वैशाख २०८१ शनिबार
समाज

गिद्ध मर्नुको कारण पत्ता लगाउन नमुना काठमाडौं पठाइयो

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा मरेका गिद्ध। तस्बिर सौजन्य: जिल्ला वन कार्यलय पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा एकै स्थानमा ६७ गिद्ध मर्नुको कारण पत्ता लगाउन नमुना संकलन गरी परीक्षणका लागि बिहीबार काठमाडौ पठाइएको छ। मृत भेटिएका गिद्धमध्ये ३३ वटा अति संकटापन्न प्रजातिको सेतो डंगर जातका छन्। ३१ वटा जाडो छल्न हिमाली क्षेत्रबाट तराई झरेका हिमाली गिद्ध हुन्। बाहिरी देशबाट आएको भनिएका राजगिद्ध दुईवटा छन्। एउटा सानो जातको खैरे गिद्ध मृत्त अवस्थामा भेटिएकोे जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्लेले बताए। उनका अनुसार घाइते अवस्थामा भेटिएको एउटा हिमाली गिद्धको भने उपचार भइरहेको छ।

बुधबार बिहानै घाँसदाउरा गर्न गएका स्थानीयले जितपुरको चौरमा थुप्रै गिद्ध मरेको देखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसलगत्तै घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी र वन कार्यालयका अधिकारीहरूले घटना स्थलमा मरेका कुकुरको सिनो यत्रतत्र छरीएको र केही कुकुर मारेर बोरामा बाँधेर फलेको अवस्थामा फेला परेको बताए। नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गिद्ध मरेको वरपर कुकुरको सिनो छरिएको र दुईवटा बोरामा मरेका कुकुर बाँधेर फालेको अवस्थामा भेटिएको बताए।

‘घटना स्थल हेर्दा ती गिद्धले कुकुरको सिनो खाएको सहजै अनुमान गर्न सकिन्छ। केही मरेका कुकुर बोरामा बाँधेर फालेको पनि भेटियो,’ प्रजिअ मिश्रले भने। कुकुरलाई विष खुवाएर मारिएका र त्यही विषयुक्त सिनो खाएर गिद्ध मरेको हुन सक्ने आशंका स्थानीयको छ। प्रहरी र वन कार्यालयका अधिकारीहरूले पनि घटनाको छानबिन भइरहेको बताएका छन्। प्रजिअ मिश्रका अनुसार वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाको छानबिन गरिरहेको छ। मरेका गिद्धको रिपोर्ट आएपछि घटनाको यथार्थ बाहिर आउने उनले बताए।

बिनाकारण कुनै पनि पशुपक्षिलाइ विष खुवाएर मार्न नपाइने कानुनी प्रावधान भए पनि एकैपटक ठुलो संख्यामा कुकुर कसले मारेर फाले भन्ने सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ। कुकुरलाइ बिषय खुवाएर मारिएको र सोही सिनो खाएर गिद्द मरेको पाइए दोषी पत्ता लगाई वन्यजन्तु ऐनबमोजिम कारबाही गरिने प्रजिअ मिश्रले बताए।  

नेपाल पंक्षि संरक्षण संघका ईश्वरी चौधरीले गिद्धको पोष्टमार्टम रिपोर्टले विषाक्त सिनोका कारण मृत्यु भएको देखाए पनि थप अनुशन्धान र पुष्टिका लागि नमुना संकलन गरी काठमाडौं पठाइएको बताए। नेपालमा संकटापन्न अवस्थामा रहेका गिद्ध यती धेरै संख्यामा एकैपटक मरेको यो पहिलो घटना भएको चौधरीको दाबी छ।  

केही वर्षयता गिद्धको संख्या घट्दै गएर लोप हुने अवस्थामा पुगेपछि करिब डेढ दशकदेखि नेपालमा गिद्ध संरक्षण अभियान सुरु भएको थियो। गिद्ध संरक्षण अयिभानकालागि रूपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको थियो।

प्रकाशित: १० वैशाख २०७८ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App