८ वैशाख २०८१ शनिबार
समाज

अख्तियारका पूर्व प्रमुखआयुक्त बस्नेत अस्वस्थ, अस्पताल भर्ना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्नेत अस्वस्थ भएपछि विगत दुई हप्ताअघि अस्पताल भर्ना भएका छन्। पाँच वर्षअघि मुटुको शल्यक्रिया गरेका बस्नेतको मुटुको समस्या बल्झिएपछि कारागार प्रशासनले दुई साताअघि अस्पताल भर्ना गरेर उपचार गर्न अनुमति दिएको थियो।

 डिल्लीबजारस्थित कारागारमा रहेका बस्नेतको चैत २३ गते राति समस्या आएपछि तत्कालै हिमाल अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि केही दिन आराम भए पनि पुनः समस्या आएपछि परिवारका सदस्यहरूको आग्रहमा उनलाई अहिले ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ। पारिवारिक सदस्यका अनुसार पाँच वर्षअघि भारत, नयाँदिल्लीको म्याक्स अस्पतालमा मुटुको शल्यक्रिया गराएका थिए।

बन्दी अवस्थामा रहेका उनको स्वास्थ्य अत्यन्तै नाजुक अवस्थामा पुगेको चिकित्सकहरूले जनाएका छन्। चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीका अनुसार बस्नेतको मुटुको मुख्य रक्तनलीमा रक्त प्रवाहमा अवरोध देखिएका कारण उनलाई समस्या परेको हो। सोही समस्याका कारण बस्नेतको गंगालाल ह्दयरोग केन्द्र र वीर अस्पतालमा पटक पटक परीक्षण गराई सकेका छन्। कारागारकै चिकित्सकले समेत स्वास्थ्य परीक्षण गर्दा पूर्व प्रमुखआयुक्त बस्नेतलाई मेजर अपरेसन गरेको अस्पतालमै लगेर उपचार गर्न सिफारिस गरिसकेका छन्।  

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको चर्चित मुद्दामा मुछिएका बस्नेत चारखालस्थित डिल्लीबजार कारागारमा पूपक्र्षका लागि थुनामा रहेका थिए। थुनामै रहेको अवस्थामा बुवा बिरामी भएको उनका छोरा कमल बस्नेतले जानकारी दिए। उनका अनुसार चिकित्सकहरूले भारतस्थित म्याक्स अस्पतालमै चेकजाँच गराउन सिफारिस गरेको पनि बताए। कारागार व्यवस्थापन विभागसँग आग्रह गरेर अस्पताल भर्ना गरी उपचार गराइरहेको छोरा कमलले बताए। सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी राज्यलाई हानी नोक्सानी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेतसहित १७५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा चलाएको थियो।  

सो मुद्दामा अख्तियार अनुसन्धान आयोगपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरेको थियो। व्यूरोले भने आरोपितहरूलाई भ्रष्टाचार मुद्दामा अख्तियारले मुद्दा दायर गरिसकेकोले ठगी मुद्दा नचलाउने निष्कर्ष निकाल्दै मुद्दा नचाउने जनाएको छ। तर मन्त्रिपरिषद्को निर्णयलाई मुद्दा चलाउन नपाइने अख्तियारको क्षेत्राधिकारभित्र नपरेपनि अख्तियारले भने मन्त्री र सचिवहरूलाई समेत मुद्दा चलाएको थियो। विशेष अदालतले पनि धेरैजसो आरोपीको हकमा धरौटी मागेको छ। सचिवहरू दिनेशहरि अधिकारी र छविराज पन्त धरौटीमा रिहा भएका छन् तर बस्न्यातलाई भने अदालतले धरौटी नै नमागी थुनामा पठाएको थियो। 

अख्तियारले २२ माघ ०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेकामध्ये सयभन्दा धेरै अदालतमा उपस्थित भएका छन्। पूर्वमन्त्री विजय गच्छदार भने उपस्थित भएका छैनन्। अदालतले उनको घर ठेगानामा पत्रचार गरेको भए पनि उनी फरार रहँदै आएका छन्। आरोपित तत्कालीन मन्त्रीहरूले पनि सफाई पाएको अवस्थामा गच्छेदारले मन्त्रिपरिषद्को निर्णयमा अख्तियारको क्षेत्राधिकार नहुने भन्दै अदालत जान आनाकानी गरिरहेको स्रोतको दावी छ। मन्त्रिपरिषद्को निर्णय नीतिगत हो होइन भन्ने बारेमा भने नेपाल प्रहरीको सिआइबी मौन रहेको छ। अख्तियारको क्षेत्राधिकारभित्र नरहेको विषयलाई अख्तियारले नै मुद्दा चलाएको बारेमा सर्वोच्च अदालतले त्यसको निरूपण गर्नुपर्ने सिआइबीले जनाएको छ। तर अख्तियारले भने मन्त्रिपरिषद्को निर्णयकै विरुद्धमा मुद्दा चलाएको थियो।

प्रकाशित: ८ वैशाख २०७८ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App