८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकाको केन्द्रमा सडक पुग्यो

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ। गाउँपालिकाको लामो प्रयासपछि केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो।

गाउँपालिकामा सडक पुगेपछि अध्यक्ष धामीले डोजर चालकलाई अबिर र मालाले सम्मान समेत गरे। गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि अब सजिलो हुने सिगासवासीले बताएका छन्। गाउँपालिकाको केन्द्र सम्म सडक नपुग्दा धेरै समस्या हुने गरेकोमा अब सजिलो भएको स्थानीय पदम साउँदले जानकारी दिए। उनले भने, ‘गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि अब हामीहरुलाई सजिलो भएको छ। सडक पहुँच नहुँदा धेरै अप्ठ्यारो परेको थियो। अब आवतजावत समेत सजिलो हुनेछ।’

गाउँपालिकाको केन्द्रसम्म सडक पुगेपछि अब अन्य पूर्वाधारका काम समेत सहज हुने गाउँपालिका अध्यक्ष धामीले बताए। सिगासको केन्द्र गर्जेमा सडक पुगेसँगै जिल्लाका १० वटै स्थानीय तहका केन्द्रमा सडकको पहुँच पुगेको छ।  

सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आफ्नो कार्यकालमा नयाँ भवन बनेको, खानेपानी पुगेको र सडक पुगेको कुरा मुख्य उपलब्धि भएको गाउँपालिका अध्यक्ष धामीले बताए। उनले भने, ‘नागरिकको चाहना अनुसार हामीले काम गरिरहेका छौं। प्रत्येक वडाका भवन बनाएका छौं। गाउँपालिकाको आफ्नै भवन बनाएका छौं। अहिले गाउँपालिकाको केन्द्रमा पनि सडक पुगेको छ। यो नै हाम्रो उपलब्धि हो।’ गाउँपालिकाको करिब अढाई करोड रुपैयाँको लागतमा २३ किलोमिटर सडक खनिएपछि गर्जेमा सडक पुगेको हो।

प्रकाशित: ७ वैशाख २०७८ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App