८ वैशाख २०८१ शनिबार
समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो ‘चैती छठ’

लोकआस्थाको पर्वको रूपमा रहेको छठको चैत संस्करण सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म चल्ने छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन भएको हो।

विश्वभर छठ पर्व कात्तिक शुक्ल पक्षमा मनाइने भए पनि चैतको शुक्लपक्षमा पनि केही वर्षदेखि छठ मनाइन थालिएको हो। छठ पर्वको उद्भवस्थल मानिएको रौतहटमा करिब दुई दशक पहिलेदेखि चैती छठ मनाउन थालिएको हो।

पहिले लोक महापर्व छठ चैतमै मनाइने गरिन्थ्यो र अत्यधिक गर्मीले तीन दिनसम्म निराहार व्रत बस्न समस्या हुने भएकाले कात्तिक महिनामा मनाउन सुरुआत गरिएको जनश्रुति अझै पनि विद्यमान रहेको छ। पहिले मूल छठ नै चैत महिनाको भएको लोकोक्तिको आधारमा फेरि केही वर्षदेखि चैतमा छठ मनाउन थालिएको हो।

नयाँ वर्ष सुरु भएदेखि तराई मधेसमा लगातार पर्व मनाइँदै छ। वैशाख १ मा नयाँ वर्षसँगै सतुआन, वैशाख २ मा जुडशीतल, वैशाख ३ मा चैती छठको नहाखाएके, वैशाख ४ मा खरना, वैशाख ५ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभरि श्रीसप्ताको पूजा गर्ने र वैशाख ६ मा उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैती छठको समापन गरिएको छ।

अझै केही पर्व र उत्सवमै बित्ने देखिएको छ। चैते दसैंको अवधि चलिरहेकाले विभिन्न मन्दिर तथा शक्तिपीठमा निरन्तर पूजापाठ चलिरहेको छ। चैते दसैं र रामनवमी मनाउन अझै बाँकी छ। विगत करिब दुई दशकदेखि मनान थालिएको चैती छठ मान्ने व्रतालुको संख्या हरेक वर्ष बढ्दै गएको छ। प्रदेश २ का प्रायः सबै जिल्लामा श्रद्धा र भक्तिपूर्वक अत्यन्त निष्ठाका साथ चैती छठ मनाइएको छ।

कोरोनाको फैलिरहेको समयमा मनाइएको चैती छठमा भौतिक दूरी र पर्याप्त सावधानी नअपनाइएको गुनासो पनि रहेको छ। यद्यपि कात्तिकको जस्तो अत्यधिक भीडभाड नभएको चैती छठप्रति लोकआस्था उत्तिकै रहेको बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बताएका छन्।

प्रकाशित: ७ वैशाख २०७८ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App