coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘हिमालले महिला र पुरुष आरोही भनेर चिन्दैन’

अन्नपूर्ण आरोहीलाई पोखरामा गरिएको सम्मान । तस्बिरः सन्तोष पोखरेल÷नागरिक

हो, अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण निकै नै जोखिमपूर्ण छ भन्ने उनलाई थाहा थियो, तरपनि, त्यही जोखिमपूर्ण हिमालको चुचुरोमा नेपाली महिलाको पहिलो पाइला पु¥याउने हुट्हुटीले भने उनलाई छाडेको थिएन । आखिर जोखिमपूर्ण भनिएको आरोहण उनले फत्ते गरेरै छाडिन् ।

आरोही पूर्णिमा श्रेष्ठ सहितको टोलीले अन्नपूर्ण प्रथम आरोहणको अनुभव सुनाइरहँदा उनीहरुले देखाएको साहसको खुलेरै प्रशंसा भईरहेको थियो । श्रेष्ठले यसअघि सगरमाथा, आमादब्लम र मनासलु हिमालको समेत आरोहण गरिसकेकी छिन् । गोरखाकी श्रेष्ठले धौलागिरी र अन्नपूर्ण प्रथममा नेपाली महिला नपुगेको थाहा पाएपछि आरोहणको रुची जागेको बताईन् ।  

‘धौलागिरी र अन्नपूर्ण प्रथममा नेपाली महिला नपुगेको थाहा पाएकी थिए,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले गरेको सम्मान थाप्दै श्रेष्ठले भनिन,‘अन्नपूर्ण प्रथम आरोहण निकै नै जोखिमपूर्ण छ । बाटो छैन र हिमपहिरोको उत्तिकै डर छ भन्ने थाहा थियो । तर, त्यो डरत्रासभित्र आँट पनि थियो ।’

अन्नपूर्ण प्रथम आरोहणको चाहना २०१९ मै पुरा गर्ने चाहना उनमा थियो, तर उनले त्यो बेला पाइनन् । ‘आधारशिविर पुग्दासम्म म एक्ली महिला आरोहणमा निस्केकी छु जस्तो लागेको थियो । तर, जब आधारशिविर पुगेर अरु ५ जना महिला आरोहीलाई भेटेपछि झनै आँट पलायो,’ उनले सुनाइन, ‘आरोहण टिममा ६ जना महिला भएपनि झनै ढुक्क भए । अब भने अन्नपूर्ण प्रथम आरोहणको सपना पुरा हुने भयो भन्ने लाग्यो ।’

गोरखाकी उनले प्रदेशको पर्यटन व्यवसाय उकास्न आरोहणको महत्व बुझेकी छिन् । आफ्नो प्रदेशको विकासको लागि केही गर्नुपर्छ भन्ने सोच थियो, त्यही पुरा गर्नका लागि पनि जोखिमपूर्ण आरोहणमा पाइला चालेको श्रेष्ठले बताईन ् । ‘हुन त मैले यसअघि नै तीनवटा हिमाल आरोहण पुरा गरेकी थिए । तर अन्नपूर्णमा पलपलमा डर थियो । महिला भएर जोखिमपूर्ण आरोहणमा निस्केको भन्दा झनै चिन्ता लाग्थ्यो,’ उनले भनिन, ‘तर, हिमाल आरोहणले महिला र पुरुष आरोही भनेर चिन्दैन, आरोहणको अप्ठेरो सबै आरोहीलाई हुन्छ भनेर चित्त बुझाउँथे ।’

यही समुहकी अर्कि आरोही माया शेर्पाले अन्नपूर्णमा प्रथम आरोहण सफल भएको सातदशकपछि नेपाली महिलाको पाइला पुग्नु आफैमा साहसिक काम भएको बताईन । शेर्पाले पनि अन्नपूर्ण प्रथम आरोहण अघिल्लै वर्ष पुरा गर्ने लक्ष्य राखेकी थिइन, तर कोरोना भाइरस संक्रमणका कारण पुरा हुन पाएको थिएन । ‘अन्नपूर्ण आरोहण निकै नै चुनौतीपूर्ण हो, त्यसमा पनि जोखिमयुक्त पहिचान भएका हिमालको आरोहण त झनै गाह्रो,’ शेर्पाले भनिन, ‘तर आरोहण पुरा गरेर नेपाली महिलाको साहसलाई विश्वमाझ चिनाउन सकिएको छ ।’

शेर्पाका अनुसार समुहमा रहेका ६ जना महिलामध्ये ३ जना विवाहित थिए । उनीहरुका छोराछोरी छन् । आरोहणका क्रममा तिनै छोराछोरी सम्झिएर पनि आँशु बगेको शेर्पाले बताइन । ‘क्याम्पमा सुत्दा पनि जोखिम थियो । धरापयुक्त खोँचको माथिको क्याम्पमा बाध्य भएर सुत्यौ,’ उनले भनिन, ‘हिउँको पहिरो झरेको आवाज सुन्दा सुत्नै नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो, तर, नसुति हुँदैनथ्यो ।’ ‘मरिन्छ वा बाचिन्छ भन्ने नै थाहा हुँदैन, तर, आरोहण पुरा गर्न सकियो । यसले विश्वमा नेपालको आरोहणलाई पहिचान दिलाएको छ,’ उनले भनिन ।  

अन्नपूर्ण प्रथम आरोहणमा सफलता हात पारेका उनै आरोहीलाई पोखरामा सोमबार अबेर सम्मान गरिएको थियो । समुहमा रहेका पूर्णिमा श्रेष्ठ, माया शेर्पा, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङजेन शेर्पा, दावा फुटि शेर्पालाई सम्मान गरिएको थियो । उनीहरुले गत शुक्रबार दिउँसो साढे १ बजे आरोहण पुरा गरेका थिए ।

उनै आरोहीलाई पोखरामा सम्मान गर्दै पर्यटन व्यवसायीले नेपाली महिलाले विश्वमै साहस प्रकट गरेको बताए । पर्यटन बोर्डका पोखरा म्यानेजर विमल कँडेलले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा आरोहण सफलताले आशाको झिल्को देख्न पाएको बताए । निकै नै जोखिमपूर्ण हिमाल आरोहण गरेर महिलाले नेपाली आरोहण इतिहासमा आफुलाई सक्षम दर्ज गर्न सफल भएको उनले बताए । महिला घरभित्र मात्र सिमित हुन्छन भन्ने घेरालाई फराकिलो बनाउन सफल भएको उनले बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि भट्टराइले आरोहण क्षेत्रलाई सुरक्षित बनाउनका लागि अब ध्यान दिनुपर्ने बताए । ‘आरोहणलाई सुरक्षित बनाउन अब ध्यान दिने बेला भएको छ,’ भट्टराइले भने, ‘पदयात्रा क्षेत्रलाई सुरक्षित बनाउन अब सबैले ध्यान दिनुपर्छ ।’

टान पश्चिमाञ्चलका अध्यक्ष सु्शील पौडेलले पर्यटन क्षेत्रमा महिला आरोहीको सफलताले सबैलाई गौरभान्वित बनाएको बताए । ‘अन्नपूर्ण आरोहणको सफलताले पर्यटन क्षेत्रमा आशाको किरण पलाएका छन । अहिलेको अप्ठेरोमा पनि यो सफलता हात परेको छ,’ पौडेलले भने, ‘सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूताउने प्रयास भएको छ ।’

प्रकाशित: ७ वैशाख २०७८ ००:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App