१६ चैत्र २०८० शुक्रबार
समाज

रुकुमबाट नक्कली डाक्टर पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा रुकुम पश्चिमबाट एकजना डाक्टर पक्राउ परेका छन्। चौरजहारी मिसन अस्पतालमा कार्यरत ३१ वर्षीय डा. दीपेन्द्र गौतम पक्राउ परेका हुन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो। उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले पक्राउ आदेश दिएको थियो। मनाङस्थित साविकको चामे गाविस–५ का डा. गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग छ। शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता गंगा पन्तले जानकारी दिइन्।  

एमबीबीएस अध्ययनका लागि बंगलादेश जान एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्कलगायतका विवरण सच्याइएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ। ‘आवश्यक नाम, जन्म मिति, उत्तीर्णाङ्क थपघट गरेर किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र बनाएका रहेछन्,’ उनले भनिन्, ‘सोही आधारमा बंगलादेश एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको देखिएको छ।’  

डा. गौतमकलाई आइतबार चौरजहारी मिसन अस्पतालबाटै पक्राउ गरिएको हो। उनले व्यक्तिगत लाभका लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखतसम्बन्धी कसूर अपराध गरेका सिआइबीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता पन्तले जनाइन्।

प्रकाशित: ६ वैशाख २०७८ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App