८ वैशाख २०८१ शनिबार
समाज

बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। 

जिल्लाका १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ। वनमा आगलागी भएपछि चराचुरुङ्गी, बोटबिरुवा, वन्यजन्तुलगायतका जिवजन्तु मरेका छन् भने धुँवाले वातावरण प्रदूषित भएको छ। यहाँका अधिकांश वन जंगलमा आगलागी भएको स्थानीय बताउँछन्।

वनमा भएको आगलागीका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ। वन जङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाइ छ। खडेरीका कारण वन जंगलमा रुख आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उनले बताए। हिँउदे बर्षा नहुनु र खडेरीका कारण यसपालि डढेलोको जोखिम बढेको हो। 

समुदायमा रहेका केही गलत सोचका कारण मानिसले जंगलमा आगो लगाउने गरेको उनले बताए। जंगलमा डढेलो लगाउँदा चरिचरनको लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताको कारण जानीजानी डढेलो लगाउने गरेको डिभिजन वन प्रमुख पराजुलीले बताए।

प्रकाशित: ५ वैशाख २०७८ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App