८ वैशाख २०८१ शनिबार
समाज

कोरोना लुकाएर घर फर्किएका युवकको मृत्यु

रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका–२, का ३८ वर्षीय एक पुरुष भारतमै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भए । कोरोना भाइरसबाट संक्रमित उनी केही दिनअघि मात्रै भारतबाट घर फर्किएका थिए । आफू कोरोना संक्रमति भएको नखुलाएर उनी झुक्याउँदै घरसम्म पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भर्ना भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भयो ।

उनी मात्र होइन रोजगारीबाट भारत गएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षितरुपले घरसम्म पुग्ने गरेका छन् । जसले गर्दा कोरोना भाइरसको जोखिम बढाएको छ । आफ्नो र अरुको स्वास्थ्यको ख्यालै नगरि यसरी असुरक्षित घरसम्म पुग्दा अन्य व्यक्ति पनि संक्रमित हुने र कोरोना भाइरस भयावह हुने स्थानीय बताउँछन् । भारतमा दैनिक संक्रमण दर बढ्दै गएपछि रोजगारीका लागि गएका घर फर्किन थालेका छन् । सीमा क्षेत्रमा सामान्य चेकजाँच गर्दा पनि उनीहरु झुक्याएर घरसम्म पुग्छन् । ‘उनी (दुल्लु–२, का ३८ वर्षीय पुरुष) कोरोना संक्रमित हुँ भनेर खुलेको भए समयमै उपचार हुन्थ्यो,’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले भने, ‘लुकाएर राख्दा ज्यान गयो ।’ मृतक ती व्यक्तिबाट अरुलाई पनि सरेको हुन सक्ने भएकाले स्वाब संकलन गरिने बताइएको छ ।

त्यस्तै सुर्खेतकी पत्रकार सीता ओली नेपालगन्जबाट सुर्खेत जाँदै थिएन । उनी सवार गाडीको पछाडि सिटमा भारतबा फर्किएका व्यक्तिहरु थिए । चेक पोष्टमा सुरक्षाकर्मीलाई झुक्याउन चालकले गाडीमा सवार ती व्यक्तिलाई उपाय सिकाउँदै गर्दा पत्रकार ओलीले प्रतिवाद गरिन् । केही समयसम्मको भनाभनपछि अन्ततः भारतबाट आएका ति व्यक्तिले सुरक्षाकर्मीलाई झुक्याएरै छाडे । ‘बबईमा चेकजाँचका लागि बसेका सुरक्षाकर्मीहरुलाई चालकदलकाले हामी भारतबाट होइन नेपालकै पूर्वी क्षेत्रबाट आएको भन्नु है, नत्र यतै झार्दिन्छ भन्दै थिए,’ उनले त्यस दिनको सम्झना गर्दै भनिन्, ‘सचेत नागरिकको हिसाबले मैले उनीहरुलाई लापरबाही नगर्नुस् भनेर तर उल्टै मै माथि आइलागे ।’ घर छिटो पुग्ने उद्देश्यले यसरी कोरोना लुकाउँदा जोखिम तिव्ररुपले बढ्ने भन्दै स्वास्थ्यकर्मीहरुले यस्तो नगर्न अनुरोध गरेका छन् । ‘कोरोना संक्रमित हुनु अपराध होइन,’ ‘जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन रेग्मीले भने, ‘यसलाई लुकाउनुभन्दा उपचार गर्दा ज्यान बच्छ ।’

दैनिक सयौं जना प्रवेश गर्ने बबई नाकामा प्रहरीले चेकजाँच गर्ने गरेको छ । शंकास्पद देखिएकालाई कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । हाल कर्णालीमा ७९ जना कोरोना संक्रमितका बिरामी छन् ।

प्रकाशित: ५ वैशाख २०७८ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App