६ वैशाख २०८१ बिहीबार
समाज

वैशाख मसान्तभित्र वार्षिक परीक्षा सक्नुः पोखरा महानगरपालिका

पोखरा–५ प्रस्याङस्थित समता शिक्षा निकेतनमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । महानगरभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरले बताएको छ ।  

महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्नेगरि निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनैपनि विद्यालयले परीक्षा लिन सक्ने आचार्यले बताए ।  

‘संक्रमणको जोखिम बढेकोले वैशाख मसान्त्रभित्र परीक्षा सक्ने गरि विद्यालयले आफु अनुकुल तयारी गर्न सक्नेछन,’ आचार्यले भने, ‘स्वास्थ्यमा मापदण्ड पालना गरेर सुरक्षित तरिकाले सिफ्ट मिलाएर परीक्षा लिन सक्नेछन् ।‘ कुन समयमा र सिफ्टमा परीक्षा लिने भन्ने बारेमा विद्यालय आफैले निर्णय लिन सक्छन ।’  

कक्षा ८ को नगरस्तरीय परीक्षा भने पुरानै तालिका अनुसार जेठ ३ गतेपछि नै हुने उनले बताए । ‘जेठ ३ गतेदेखि हुने गरि तालिका प्रकाशित भएको कक्षा ८ को नगरस्तरीय परीक्षाको तालिकामा भने अहिलेसम्म फेरबदल भएको छैन । तर, पछि गएर अवस्था हेरेर तलमाथि हुनसक्छ,’ आचार्यले भने, ‘जेठ ३ गतेसम्मको अवस्थाले त्यो परीक्षाबारे निर्णय गर्नेछ ।’ त्यस्तै १० कक्षाको माध्यमिक शिक्षा परीक्षाको निर्णय भने केन्द्रीय निर्णय अनुसार नै हुने उनले बताए । ११ र १२ कक्षाको परीक्षा र पठनपाठनबारे पनि कुनै निर्णय नभएको र परीक्षा तालिका पनि केन्द्रले तोके अनुसार नै हुने उनले जानकारी दिए ।  

७ कक्षाभन्दा तल र ९ कक्षाका विद्यार्थीको परीक्षाबारे मात्र महानगरले अहिले निर्णय गरेको उनले बताए । विद्यालयतहमा अध्ययनरत बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै बैशाख मसान्तसम्म भर्चुअल कक्षा लिने गरि निर्णय गर्न शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सरकारले यसअघि नै कोरोनो भाइरस संक्रमणको अति प्रभावित जिल्लामा काठमाडौं, कास्की, रुपन्देही सहितका जिल्लालाई वर्गीकरण गरेको थियो ।  

सिसिएमसीले गरेको सिफारिसलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरे अनुसार हुने आचार्यले बताए । ‘मन्त्रिपरिषद्ले हाम्रो भन्दा फरक निर्णय गरेको खण्डमा हामीले पनि त्यही तरिका अपनाउने हो । तर, अहिलेका लागि महानगरले निर्णय गरेको छ,’ आचार्यले भने, ‘सकेसम्म जोखिम कम हुँदै वार्षिक परीक्षा सक्ने योजना हो ।’ तर संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अति प्रभावित जिल्लाका शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेकाले सरकारले त्यही निर्णय गरेमा अहिलेको परीक्षा तालिका पनि फेरबदल हुनसक्ने उनले बताए ।  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कास्कीका अध्यक्ष प्रेम शर्माले संक्रमणको त्रासको कारणले गर्दा वैशाख मसान्तभित्र परीक्षा सक्न बाध्य भएको बताए । उनका अनुसार सबै कक्षाको कोर्ष नसकिएकोले जेठ १५ सम्म पठनपाठन गराउने सोँच भएपनि संक्रमणका कारण केही समय अगावै वार्षिक परीक्षा लिन बाध्य भएको उनले बताए ।

‘जेठ १५ गतेसम्म पठापाठन गराउने योजना हो । त्यो बेलासम्म पढाउन पाएको भए सबै कक्षाको कोर्ष सकिन्थ्यो,’ शर्माले भने, ‘पोहोर ढिला गरि पढाउन थालियो । कतिपयले भर्चुअलमाध्यमबाट पढाएपनि त्यसले औपचारिकता पाएन । त्यसले गर्दा केही समस्या थियो । भौतिक रुपमा सुरुदेखि पढाउन पाएको भए समस्या हुने थिएन ।’ भर्चुअल कक्षालाई पनि कतिपयले औपचारिक रुपमा नलिएकोले केही कठिन भएको शर्माले बताए ।  

कोरोना संक्रमण बढेकोले महानगरपालिकाले परीक्षाको निर्णय गरेको भएपनि कास्कीका अरु कुनैपनि स्थानीयतहले तत्काल परीक्षा गर्ने तयारी नगरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारायणप्रसाद सुवेदीले बताए । ‘महानगरपालिकाभित्र बढी जोखिम देखिएको छ । त्यही अनुसार महानगरले परीक्षा गराउन सक्छ । अरु स्थानीय तहले भने अहिलेसम्म कुनै निर्णय गरेका छैनन,’ सुवेदीले भने, ‘परीक्षा कहिले र कसरि संचालन गर्ने भन्ने निर्णय गर्न स्थानीय तह स्वतन्त्र छन् ।’ पोखरा बाहेक अरु गाउँपालिकामा अहिलेसम्म खासै समस्या नभएकोले तत्काल परीक्षा हुने सम्भावना कम रहेको उनले बताए ।  

पोखराका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका पछिल्लो समय संक्रमित हुने गरेका छन् । केही चल्तीका विद्यालयका बालबालिकामा कोरोनाको संक्रमण पुष्टि भएपछि विद्यालय संचालक र अभिभावक त्रसित भएका छन् । बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने दोधारमा रहेको अभिभावकको गुनासो छ । कास्कीमा मात्र १२ कक्षा भन्दा तलका विद्यार्थीको संख्या १ लाख २० हजार छ ।

प्रकाशित: ५ वैशाख २०७८ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App