८ वैशाख २०८१ शनिबार
समाज

बुटवलमा हत्या गरी बाग्लुङ लगेर गाडीयो शव

एक महिना अघि बुटवलबाट हराएका एक जना युवा व्यवसायीको शव बाग्लुङ जिल्लामा गाडीएको अवस्थामा फेला परेको छ। नवलपरासीको देवचुली नगरपालिका ३ केरबानीका ३२ बर्षीय नारायण बस्यालको शव बाग्लुङको ढोरपाटन नगरपालिका २ रिनामवेसीमा गाडीएको अवस्थामा फेला परेको हो।  

बस्यालको बुटवलमै हत्या गरी शव बाग्लुङ लगेर गाडीएको अनुशन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतीतसिंह राठौरले बताए। प्रहरीका अनुसार बुटवलमा हत्या गरी शव सुटकेशमा राखेर बसको डिक्कीमा बाग्लुङ पुर्‍याइएको थियो। शव सहितको सुटकेस बस चाढाएर बाग्लुङ पुराइएको र रिनाम बेसीकै कुलोको मुहान नजिकै गाडीएको अवस्थामा फेला परेको हो’ डिएसपि राठौरले भने।

शवबाट दुर्गन्ध आउन थालेपछि बाख्रा चराउन जाने स्थानीयले थाहा पाएर बाग्लुङ प्रहरीलाइ खबर गरेका थिए। बाग्लुङ प्रहरीले केन्द्र सहित सबै जिल्लाहरुमा यो खबर सहित हराएका व्यक्तिहरुको जानकारी माग गरेपछि इकाका प्रहरी कार्यालय बुटवलले बस्याल हराएको हुलीया सहितको जानकारी बाग्लुङ प्रहरीलाइ पठाएको थियो। गाडीएको शव बैशाख १ गते प्रहरीले झिकेर अनुशन्धान थालेको हो। भित्री कपडामा भेटिएका कागजात र परिवारको सनाखतबाट शव बस्यालको भएको पत्ता लागेको डिएसपि राठौरले बताए।

 बुटवलको ट्राफिक चोकमा सियोर जब डटकम नामको व्यवसाय संचालन गर्दै आएका बस्याल चैत ४ गते बुटवलबाटै सम्पर्क बिहिन भएका थिए। चैत ५ गते उनका दाजुले प्रहरीमा उजुरी दिएका थिए। बस्यालको हत्या आरोपमा प्रहरीले बिहिबार एक जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवलमा क्यान्टिन व्यवसाय गर्ने मित्रलाल खनाल छन। हत्यामा संलग्नको आशंकामा प्रहरीले मित्रलालका दाजु गौरीशंकर खनालको पनि खोजी तिब्र पारेको छ। घटना बाहिरीए लगत्तै गौरीशंकर फारर छन। ढोरपाटन २ रिनाम स्थाइ घर भइ बुटवलमा बस्दै आएका खनाल दाजुभाइले बुटवलकै कालिका स्कुल र सिद्धार्थ कलेजमा क्यान्टिन संचालन गर्दै आएका थिए। पक्राउ परेका मित्रलालले आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।  

अभियुक्तले आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरेपनि एक्लैले हत्या गरी शव बाग्लुङ पुर्‍याउन सम्भव नभएकाले अन्य व्यक्तिहरु समेत शंकाको घेरामा रहेको प्रहरीले जनाएको छ। ‘हत्यामा अन्य व्यक्ति या पेशेवर हत्याराको पनि संलग्नता हुन सक्ने देखिएको छ। अनुशन्धान जारी छ’ डिएसपि राठौरले भने। साझेदारीमा व्यवसाय गर्ने भन्दै खनाल दाजुभाइले बस्यालसंग आर्थिक लेनदेन गरेको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ। हत्या गरीएका बस्याल केही बर्ष जापान बसेर फर्केपछि बुटवलमा आफनै व्यवसाय संचालन गरेका थिए। उनकी श्रीमती करिब दुइ महिनाकी सुत्केरी छन।

प्रकाशित: ३ वैशाख २०७८ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App