coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डढेलाले नासियो जडीबुटी

गौरीगंगा नगरपालिका–४ कैलाशपुरका वैद्य टोपबहादुर जोगी थारू अचेल जंगल नगएको हप्ता भइसक्यो। हरेक दिन जंगल गएर जडीबुटी खोजेर ल्याउने र बिरामीलाई उपचार गर्ने उनको दैनिकी केही दिनदेखि ठप्प छ। डढेलोले उनी जंगल छिर्न नसकेका हुन्। डढेलोले वर्षौदेखिको उनको जडीबुटी दिएर उपचार गर्ने समाजसेवाले अहिले बिराम पाएको छ ‘बिरामीलाई जडीबुटी दिन मलाई फुर्सदै हुँदैनथ्यो,’ उनले भने, ‘अहिले जंगलमा डढेलो लाग्दा जडीबुटी नासिएका छन्, घरवरिपरि भएका केही जडीबुटी सञ्चित रहँदा केही बिरामीको उपचार भएको छ भने बाँकीलाई जडीबुटी दिनै सकेको छैन।’  

गाउँको जंगलैभरि डढेलो सल्केको प्रति चिन्ता गर्दै उनले भने,‘मेरो जीवनकालभरि यस्तो डढेलो कहिल्यै देखेको थिएन, यसपालि भएका जडीबुटी सबै सखाप हुने भए।’ डढेलोले वन सखाप हुनुका साथै वनभित्रका बहुमूल्य जडीबुटी पनि नासिने चिन्ता थपिएको उनी बताउँछन्। ‘हाम्रो यो वनमा अत्याधिक मात्रामा जडीबुटी छ,’ उनले भने, ‘यो वर्षको डढेलोले सबै सखाप हुने भयो।’ जंगल जोगाउन मात्रै नभई त्यहाँ रहेका जडीबुटी संरक्षणका लागि पनि सम्बन्धित निकाय जाग्नुपर्ने उनी बताउँछन्।  

पछिल्लो समयमा सुदूरपश्चिमको जंगलमा डढेलो सल्कँदा बहुमूल्य जडीबुटी नासिने चिन्ता थपिएको बताउँदै प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर खगेन्द्र बमले भने, ‘डढेलोले सुदूरपश्चिममा पाइने २ सय ५० भन्दा बढी जडीबुटी नासिने सम्भावना रहेको छ।’ सुदूरपश्चिमका तराईमा भुइँ अमला, सर्पगन्धा, अस्र्वगन्धा, हर्रो, बर्रो, अमला, वन हलेदो, असुरो, गुर्जो, पिपली पहाडी भेगमा चुत्रो, दालचिनी, टिमुर, कुटकी, चिराइतो, पाँचऔलो, यार्सागुम्बालगायतका जडीबुटी पाइने गरेको बताउँदै उनले भने, ‘महत्वपूर्ण जडीबुटीहरू सुदूरपश्चिमका वनजंगलमा पाइन्छन्।’ 

डढेलोका कारणले यि र यस्ता महत्वपूर्ण जडीबुटी नासिनुका साथै वंशै विनाश हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताए । ‘डढेलोले गर्दा जडीबुटीका बोटविरुवा पूरै डढ्नेछन् भने त्यसका बीजहरू पनि पोलिएर नष्टहुँदा अर्कोपटक उम्रने सम्भावना न्यून छ,’ उनले भने,‘त्यसैले पनि यसपटकको डढेलोले जडीबुटीलाई बढी प्रभावित पारेको छ।’ सुदूरपश्चिममा व्यवसायीक रुपमा जडीबुटीको खेती नगरिएकोले जंगलकै भर पर्नुपरेको बताउँदै उनले भने,‘घरमा व्यवसायीक रुपमा खेती गरिएको भए बीउ त जोगिन्थ्यो, तर यहाँ सबै जडीबुटी जंगलमै रहेका कारण डढेलोले सखाप हुने सम्भावना बढी छ।’ 

प्राकृतिक जडीबुटी डढेर नासिने र पुनत्र्पादन हुने नहुने निश्चित नभएकाले डढेलोले जडीबुटीको वंश विनाश हुने सम्भावना बढेको उनी बताउँछन्। जंगलमा डढेलो लाग्दा सबैले वातावरण विग्रियो, धुवाँले प्रदूषण बढ्यो, जंगल विनाश भयो भन्ने मात्रै गरेको भन्दै उनले भने,‘जंगलमा डढेलो लाग्दा बहुमूल्य जडीबुटी नासिएको कसैलाई थाहै हुँदैन, त्यसतर्फ कसैले चिन्ता गर्दैनन्।’  

डढेलो लाग्दा इकोसिस्टम बिग्रियो भन्नेहरूले जैविकि विविधताका हिसाबले त्यसलाई कहिल्यै नहेरिएको भन्दै उनले चिन्ता गरे । ‘जंगलमा जैविक विविधता बिग्रिएको चिन्ता कसैलाई हुँदैन,’ उनले भने,‘खाली जंगल विनाश भयो, वातावरण विग्रियो भन्ने मात्रै चिन्ता गर्छन्।’ सुदूरका जंगलमा औषधीय  गुण भएका तमामौ जडीबुटी रहेको र त्यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले भने,‘जंगललाई डढेलोबाट जोगाउन सबैभन्दा पहिले वन व्यवस्थापन र समयमै अग्नि नियन्त्रण रेखा, कन्ट्रोल फायर जस्ता विधि अपनाउन आवश्यक छ।’ डढेलो नियन्त्रण गर्न सके जंगल जोगिनुका साथै त्यहाँ रहेको जैविक विविधतायुक्त बहुमूल्य जडीबुटी पनि जोगिने उनी बताउँछन्।  

अन्य वर्षको तुलनामा यस वर्ष जंगलमा अहिले नै अत्याधिक डढेलो लागेको बताउँदै प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज बिष्टले भने,‘यसवर्ष अत्याधिक डढेलो लागेको छ, डढेलोले जंगल मासिनुका साथै त्यहाँ रहेका बहुमूल्य जडीबुटी पनि निसिएका छन्।’ सुदूरपश्चिममा तमामौ जडीबुटी रहेको बताउँदै उनले भने,‘सुदूरपश्चिममा तमामौ जडीबुटी छ, जंगलमा लागेको डढेलोले हुर्केका जडीबुटी नासिएका छन्।’ वनजंगल जोगाउनुका साथै यहाँ रहेका जैविक विविधतालाई संरक्षण गर्न पनि डढेलो नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: ३ वैशाख २०७८ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App