coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आठौंपटक जिब्रो छेडाए बुद्धकृष्णले

मध्यपुर थिमि नगरपालिका वडा नम्बर ८, बोडेको खासी टोलमा प्रत्येक वर्ष वैशाख २ गते जस्तै यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन्। यसअघि २०७६ सालमा पनि उनैले सातौंपटक जिब्रो छेडाएका थिए। गत वर्ष भने कोरोनाका कारण जात्रा रोकिएको थियो।  

जिब्रो छेडाउनुअघि उनी विशेष पहिरनका साथ बोडे पुगेका थिए। उनलाई लिन बाजागाजासहितको टोली घर पुगेको थियो। जिब्रो छेड्ने ब्यक्तिको सम्मानस्वरूप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। जिब्रो छेडाइसकेपछि उनले परम्पार अनुसार चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरेका थिए। नगर परिक्रमाका गरी महालक्ष्मी मन्दिरमा पुगेपछि जिब्रो छेडेको सियो झिकिएको थियो। यसपछि बोडेको जिब्रो छेड्ने जात्रा सकिन्छ। जिब्रो छेडाउने व्यक्तिको परिवारले भोज खुवाउने परम्परा छ।  

जिब्रो छेडाएका बाग एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पताल मध्यपुर थिमिका एम्बुलेन्स चालक हुन्। उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडाएका थिए। त्यसपछि उनले २०६५ सम्म निरन्तर रूपमा जिब्रो छेडाएका थिए।  जात्रा जोगाउन यस वर्ष पनि आफूले जिब्रो छेडाएको उनले बताए। नयाँ पुस्ता कोही जिब्रो छेडाउन नआएकोले जात्रा जोगाउन आफैं जिब्रो छेडाउन तयार रहेको उनले बताए आफूले सकेसम्म जिब्रो छेडाउने तर आफूले नसकेपछि कसले छेडाउला भन्ने चिन्ता उनमा छ। 

जिब्रो छेडाउनुअघि यस्ता व्यक्तिले केही वैज्ञानिक प्रक्रिया अपनाएका हुन्छन्। दुई दिनअघिदेखि भोकै बस्छन्। पानी भने पिउँछन्। दुई दिन खाना नखाएपछि जिब्रोले केही स्वाद थाहा नपाउने र जिब्रो छेड्दा नदुख्ने बताइन्छ। जिब्रो छेड्ने सुईलाई पनि वैज्ञानिक तरिकाले राखिन्छ। सुईलाई एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाएर राखिन्छ। सुई करिब १ फिट लामो हुन्छ।  

हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांक अनुसार हर्कनरसिंहले २२ पटक, बेखानारायण हाय श्रेष्ठले ३२ पटक, हरिदेव किला श्रेष्ठले १ पटक, हरिभासिक श्रेष्ठले ३ पटक, ईन्द्रबाटा श्रेष्ठले २ पटक, हर्केश्वर श्रेष्ठले ३ पटक, चन्द्रसेन घो श्रेष्ठले ७ पटक, दिलकुमार खपे श्रेष्ठले ७ पटक, मुनी घो श्रेष्ठले १ पटक, धर्मराज बलाम श्रेष्ठले १ पटक, कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धचन्द्र बाग श्रेष्ठले ६ पटक र जुजुभाइले ८ पटक जिब्रो छेडाएका छन्। 

प्रकाशित: ३ वैशाख २०७८ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App