८ वैशाख २०८१ शनिबार
समाज

वायु प्रदूषण छपक्कै भएपछि दिउँसै अँध्यारो

म्याग्दीकाे सदरमुकाम बेनीबजारस्थित जिल्ला प्रशासन कार्यालय अगाडि बिहिबार दिउँसाे ४ बजेकाे दृश्य। तस्बिर: नागरिक

बेनी सामुदायिक माविमा कक्षा ८ मा अध्ययनरत असल आचार्य बिहीबार विद्यालयबाट घर फर्किने क्रममा एक्कासि अँध्यारो भएपछि आत्तिँदै विद्यालयभित्रै प्रवेश गरे। विद्यालयबाट बाहिर निस्किएका अधिकतम विद्यार्थी दिउँसो ४ बजे नै अँध्यारो भएपछि त्रसित हुँदै विद्यालयमै प्रवेश गरेपछि अभिभावकलाई बोलाएर जिम्मा लगाइएको छ।  

सदरमुकाम बेनीबजारसँगै आसपासका क्षेत्रमा जानुपर्ने विद्यार्थीलाई अभिभावक र शिक्षकको सहयोगमा सवारीसाधनको व्यवस्था मिलाएर पठाइएको विद्यालयले जनाएको छ। ‘करिब १ सयको हाराहारीमा विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइयो, केहीलाई शिक्षकले नै घरघर पुर्‍याइदिनुभयो,’ प्रधानाध्यापक दीपक श्रेष्ठले भने। उनका अनुसार केही विद्यार्थीले आँखा पोलेको महसुस गरेकोसमेत बताए। वायु प्रदूषण र तुवाँलोले विकराल रूप लिइरहेको अवस्थामा विद्यालयले विद्यार्थीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको प्रअ श्रेष्ठको भनाइ छ। अधिक वायु प्रदूषणका कारण दिउँसै अँध्यारो भएपछि कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म आत्तिएका थिए।  

दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासि धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो। ग्रामीण क्षेत्रमा घाँसदाउरा गर्न वनजंगल गएकाहरूसमेत अँध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका युवा गोपाल आचार्यले बताए। ‘अहिलेसम्म अनुभव नगरेको भन्दै सबै त्रसित छन्, ‘एक्कासि अँध्यारो भएपछि आत्तिँदै सबै घरभित्र प्रवेश गरे,’ आचार्यले भने। उनका अनुसार विद्यार्थी रुँदैं घर फर्किएका थिए। म्याग्दीको सदरमुकाम बेनी आसपासका जंगलसँगै जिल्लाका अधिकतर वनमा डढेलो लागेका कारण पनि वायु प्रदूषणको अवस्था विकराल बनेको हो।

यस वर्ष करिब १४ सय हेक्टर क्षेत्रफल डढेलोले सखाप भएको छ। वायुको गुणस्तर सूचकांक (एक्युआई) ले म्याग्दीको मापन नगर्ने भएकाले सामान्य वा घातक भन्ने सूचकमा देखिएको छैन। घरनजिकैको जंगलमा डढेलो लाग्दा बालबालिकामा श्वासप्रश्वासको समस्या देखिन सक्ने बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए। ‘वातावरणीय प्रदूषण चुरोट जत्तिकै हानिकारक हुन्छ, ‘आजको अवस्थाले थप जोखिम निम्त्याउन सक्छ,’ डा. बस्ताकोटीले भने। चुरोटमा भन्दा बढी क्यान्सरजन्य रसायन प्रदूषणमा पाइने डा. बस्ताकोटीको भनाइ छ।  

आँखा पोल्ने समस्या  

वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ। वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुक्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन्। बेनी आसपासको क्षेत्र तुवाँलोले छपक्कै छोपेपछि बिहीबार दिउँसो अन्धकार भएको थियो। हावामा फरक किसिमको गन्ध महसुस गरिएको पत्रकार महासंघ म्याग्दी शाखाका सदस्य सन्दीप खत्रीले बताए। ‘आँखा पोलेको छ, ‘हावामा पनि फरक गन्ध आएको छ,’ खत्रीले भने। उनले धुवाँमा बसेजस्तै आँखा पोल्ने समस्या देखिएको बताए।  

यता वन तथा वातावरण विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्दुविक्रम जोशीले वायु प्रदूषणकै कारण यो समस्या आएको बताए। वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधि प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रवक्ता जोशीको सुझाव छ। एक्युआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको अवस्थामा दम, थाँतीलगायत समस्या भएका बिरामी, बालबालिकालाई अत्यावश्यक काम परे मात्रै बाहिर जाने नत्र घरभित्रै बस्नसमेत मन्त्रालयका प्रवक्ता जोशीको अनुरोध छ। ‘आँखा पोल्ने समस्या विषाक्त हावाले हो, हेल्चक्र्याइँ गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ,’ प्रवक्ता जोशीले थपे। 

प्रकाशित: ३ वैशाख २०७८ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App