७ वैशाख २०८१ शुक्रबार
समाज

श्रृंखलाबद्ध डकैतीका घटनाले असुरक्षित सिरहाः एक सातामा चार डकैतीका घटना, एकको हत्या

श्रृंखलाबद्ध डकैतीका घटनाले असुरक्षित सुनचाँदी व्यापारीहरु प्लेकार्डसहित बिरोध जनाउँदै । तस्बिर : नागरिक

चैत २० गते राती लहान नगरपाकिला-२ मिलनचोक स्थित रामनाथ यादवको घरमा हतियारधारी लुटेरा समूह प्रवेश गरी ल्यापटप, साइकल, नगद गरी डेढ लाखको सामान लुटपाट गर्यो। यादवले इलाका प्रहरी कार्यालय लहानमा घटना जानकारी गरायो। प्रहरी कार्यालयबाट दुई किलोमिटरको दूरीमा भएको यस घटनामा संलग्न अझै प्रहरी नियन्त्रण बाहिर छ।

चैत २३ गते मध्यराती, लहान नगरपालिका-२ का विन्देश्वर यादव दम्पती मस्त निन्द्रामा थिए। हतियारधारी लुटेरा समूह छतको बाटो उनको घरमा प्रवेश गर्यो। ढोका फोडेर यादव दम्पतीलाई नगद, गरगहना दिन भन्यो। इन्कार गरेपछि लुटेरा समूहले उनीहरुको टाउँमा रडले प्रहार गर्यो। उनीहरु ढलेपछि लुटेरा समूह दराज फुटाएर नगद, गरगहना लुटे। घरमै रहेको किराना पसलबाट तेल र चुरोट सबै लुटेर लगे। उनीहरुको मोबाइल पनि लुटेर लगे।

टाउँको फुटेका यादव दम्पती उपचारका लागि अस्पताल पुगे। यादव दम्पतीको टाउँकोमा १८ वटा टाँका लगाएर अस्पतालले डिस्चार्ज गर्यो। यादवले अस्पतालबाट डाक्टरको माबाइल मागेर प्रहरीलाई घटनाबारे जानकारी गराएर घर फर्के। लुटपाटमा संलग्न अझै प्रहरी नियन्त्रण बाहिर छ।

चैत २८ गते मध्यराति नकाब लगाएका हतियारधारी समूह लहान नगरपालिका २३ स्थित अमिता ज्वेलर्समा ढोका फोडेर प्रवेश गर्यो। सुनचाँदी व्यापारी प्रदीप मिझारलाई कन्चटमा पेस्तोल भिराएर सो समूहले ज्वेलर्समा रहेको सम्पूर्ण सुनचाँदी दिन भन्यो। उनी मानेन्। उनकी श्रीमती अमिता मिझारलाई नियन्त्रणमा लिएर प्रदीपलाई टाउँकोमा खुकुरी प्रहार गर्यो। तब पनि उनी सुनचाँदी दिन मानेनन्। सो समूहले प्रदीपलाई छातीमा गोली हानेर श्रीमती अमिताकै आँखा अगाडी मारे। र, सम्पूर्ण सुनचाँदी नगद लुटेर लगे। प्रतिकार गर्दा अमिताको दाहिने हातमा खुकुरी प्रहार गरेर घाइते बनायो।  

ज्वेलर्सबाट लुटेरा समूहले ३ तोला सुन, ५ तोला चाँदी, खुट्टामा लगाउने चाँदीको कडा २ थान र डेढ लाख रुपैयाँ नगद लुटेर लगेको प्रहरीले जनाएको छ। हत्या र डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले लहान नगरपालिका–७ का २६ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट म्याद लिइसकेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालले बताए। चौधरीसहित संलग्नमाथि हत्या तथा डाँका मुद्दा दर्ता गरिएको छ। घटनामा ८÷९ जना संलग्न रहेको पीडित अमिताले बताएकी छिन्। प्रहरीले अहिलेसम्म तीन जनाको मात्र पहिचान भएको जनाएको छ।

दुई दशकअघि लहान नगरपालिका २२ सिसवनी गाउँ छाडेर नेपालगञ्ज, बुटवल हुँदै लहान फर्केर सुनचाँदी पसलमा कालिगढको काम गर्थे मिझार। पोहोर मात्र उनी लहान नगरपालिका–२३ गढिया चोकस्थित वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा अमिता ज्वेलर्सको नमले सुनचाँदी पसल सुरु गरेका थिए।

चैत ३० गते साँझ करिब ७ बजे। लहान नगरपालिका ७ स्थित मुख्य बजारमै रहेको सुनचाँदी व्यपारी राजेश सारडाको घरमा हतियारधारी डाँकाको समूह प्रवेश गर्यो। तीन जना भित्र प्रवेश गरे। बाँकी घर बाहिर पहरामा खटिएका थिए। भित्र प्रवेश गर्ने बित्तिकै राजेशका वृद्ध पिता भगिरथ सारडाको कन्चटमा पेस्तोल भिराएर मुख खोले सल्टाइदिन्छु भन्दै लकरको साँचो मागे। दिन नमान्दा धारिलो हतियारले उनको हातमा प्रहार गर्यो। डरले उनी साँचो डाँकालाई सुम्पे। लकरबाट सुनचाँदी नगद बोरामा भरिसकेपछि आँगनमा पार्क गरिएको जिपको साँचो मागे। दिन नमान्दा उनको बुहारीको टाउँकोमा धारिलो हतियार प्रहार गर्यो। र, नदिए गोली हानिदिने धम्की दिएपछि उनले गाडीको साँचो डाँकालाई जिम्मा लगाए। साँचो पाउने बित्तिकै गाडीमा सुनचाँदी र नगदले भरिएको बोरा लोड गरेर पश्चितर्फ हुइँकियो। डाका समूह गइसकेपछि छिमेकीलाई गुहारेका थिए सारडा परिवार। छिमेकी जुटेपछि प्रहरीलाई घटनाबारे जानकारी गरायो।  

जानकारी पाएर घटनास्थलमा पुगेका प्रहरी खोजतलाशमा जुट्यो। डीएसप तपनकुमार दाहाल सूचना पछ्याउँदै जाँदा राती करिब १० बजे कल्याणपुर नगरपालिका १२ बेल्हाबाट बा १० च ९३०२ नम्बरको सारडाको जिप बरामद भयो। 'जिपमा साँचो लागेकै थियो,' डीएसपी दहालले नागरिकसँग भने,‘स्टार्टमै छोडेर डाँका समूह भागेका थिए।’ कमला पलार क्षेत्रमा डाँका समूहलाई खोज्न प्रहरीलाई हम्मे पर्यो। अहिलेसम्म डाँका समूहबारे प्रहरी सराकविहीन छ।

प्रहरीले गाडीबाट १ तोलाको सुनाको ब्रासलेट एक थान, चाँदीको २ सय ७४ थान हँसुली, ६० थान कल्ली, २६ थान चुडी, ६९ थान पायल, २ सय ५४ थान चाँदीको सिक्का बरामद गरिएको डीएसपी दाहालले बताए।

सुनचाँदी व्यवसायी संघ सिरहाका अध्यक्ष एवं राजेशका आफन्त विकास सारडाका अनुसार चाँदीका सामान मात्र बरामद भएका छन्। सुन कति लुटिएको बारे पीडित परिवार अझै बोल्न सक्ने अवस्थामै छैन।

उल्लेखित घटनाले लहान क्षेत्रमा अपरधले कसरी पैठ जमाउँदैछ भने प्रष्ट पार्छ। श्रृंखलाबद्ध डकैतीका घटनाले यस भेगका व्यपारी मात्र होइन स्थानीयवासीहरूलाई आतंकित बनाएको छ। सुरक्षा मामिलाका जानकारकाअनुसार मधेसको भौगोलिक अवस्थिति, अपराधको प्रवृत्तिबारे राम्रो दख्खल नभएका सुरक्षा प्रमुखहरूको तैनाथीका कारण यस क्षेत्रको सुरक्षा व्यवस्था माथि अपराध हाबी भएको देखिन्छ। अपराधिमाथि सुरक्षाकर्मी आक्रामक रुपमा प्रस्तुत हुन नसक्दाको परिणाम आपराधिक समूहले प्रहरीको साम्मुन्नेमै आपराधिक घटना घटनाउने आट गरिरहेका छन्। 

प्रहरीमाथि अपराधि हाबी भएको घटनाक्रमले देखाएको छ। सुनचाँदी व्यापारीमाथि भैरहेको श्रृंखलाबद्ध आक्रमणविरुद्ध लहानका सुनचाँदी व्यापारीहरुले मंगलबार पसल बन्द गरे। सुनचाँदी व्यवसायी संघका अध्यक्ष विकास सारडाका अनुसार सिरहा जिल्लाभरि दुई सय ७५ वटा सुनचाँदी पसल सञ्चालनमा छन्। लहानमा मात्रै ६३ वटा पसल संचालित छन्। पछिल्लो घटनाक्रमले व्यापारीहरु डराएका छन्। सुरक्षाको प्रत्याभूति नभए यहाँबाट व्यापारीहरु पलायन हुनेछन्।

प्रकाशित: १ वैशाख २०७८ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App