८ वैशाख २०८१ शनिबार
समाज

कोरोना कालमा सुरक्षा झनै कठिन

कोरोना संक्रमणका कारण निकै अहसज बनेको २०७७ साल आपराधिक गतिविधिका हिसाबले सन्तोषजनक रहन सकेन। सामान्य अपराधमा कमी आए पनि जघन्य अपराध भने २०७७ मा बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । यो वर्ष साइबर अपराध र आत्महत्याका घट्ना ह्वात्तै बढे। 

गत वर्ष वैशाखयता सबैखाले गरी २१ हजार ७ सय ५८ वटा अपराधिक गतिविधि भएका छन्। बैतडीकी बालिका भागिरथीको बलात्कारपछि हत्या भएको गम्भीर घटनादेखि चौरजहारीको निर्मम घटनासमेत २०७७ सालमै भए।  कोरोना संक्रमणका कारण सहरी इलाका शान्त देखिएपनि ठूला घटनामा भने कमी आउन सकेन। जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा गम्भीर घटना भयो । घटना भइरहँदा चौरजहारी प्रहरी कार्यालयले करिब ३० मिनेटपछि खबर पायो।

प्रहरी निरीक्षक सन्तोष लामिछानेसहित पाँचजनाको टोली घटनास्थल पुग्यो। जाजरकोटतर्फबाट पनि दुई जना प्रहरी घटनास्थलमा पुगेका थिए। तर, प्रहरीले घटना भइरहँदा परैबाट नियालिरहेको र घटना साम्य पार्न नसक्दा ६ जनाको ज्यान गएको भन्दै प्रहरीको सर्वत्र निन्दा भयो। यद्यपि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही अघि बढायो।  

कोरोना महामारीको समयमा सरकारको फितलो उस्थितिदेखि निरास भएका सर्वसाधारणले सामाजिक सञ्जालमा सरकारको आलोचना गरे । तर, सरकारले लेखेको विषयलाई लिएर सर्वसाधारणलाई सतायो । सामाजिक सञ्जालमा लेखेकै भरमा स पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरी ५ दिन थुनामा राख्यो।  

२०७७ सालमा प्रहरी चुकेका केही घटनाहरू पनि छन्। २०७७ मै भएको अपहरणसम्बन्धी गम्भीर आरोपको उजुरी प्रहरीले दर्ता गर्न मानेन । आफू अपहरणमा परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गराउन खोजे पनि प्रहरीले दर्ता गर्न नमानेपछि प्रहरीको विरोध भयो। त्यस्तै कोरोना महामारीको बेला सरकारको कार्यशैली चित्त नबुझेर सडकमा निस्किएका सर्वसाधारण र प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा बर्साएको थियो।  

२०७७ सालमा साइबर अपराध मौलायो । सहरबजार ठप्प भइरहेको बेला साइबर अपराधका घटनामा भने कमी आएन। अनलाईन मार्पmत प्रहरीमा उजुरी गर्नेहरूको संख्या बढ्यो। प्रहरीका अनुसार लकडाउनको बेला अन्य आपराधिक घटनामा कमी आए पनि कम्प्युटर, इन्टरनेट तथा प्रविधिमार्फत हुने आपराधिक क्रियाकलापले झन् उचाइ लियो। प्रविधिको व्याप्त प्रयोग भएको र बाहिरी अपराध गर्न नपाएपछि लकडाउनको मौका छोपी साइबर अपराध गर्ने गिरोह मौलाएको छ । यो वर्ष एक हजार २ सय भन्दा बढी साइबर अपराधसम्बन्धी घटना भएका छन्। 

व्यक्ति, व्यापार, आर्थिक कारोबार, बैंक खातालगायतलाई लक्षित गरी प्रविधिमार्फत अपराध गर्ने समूह बढेको ब्युरोको तथ्यांकले देखाउँछ। साइबर अपराध ब्युरो भोटाहिटीका अनुसार गत वर्ष चैत ११ गतेयता ब्युरोमा १ हजार २ सय ८० वटा उजुरी परेका छन्।  प्रहरी प्रधान कार्यालयका अनुसार २०७७ वैशाखयता २ हजार ७ सय भन्दा बढी आत्महत्या सम्बन्धिका घटना भएका छन् । तीमध्ये सबैभन्दा बढी आत्महत्या लकडाउनको समयमा भएको नेपाल प्रहरीले जनाएको छ।

 त्यस्तै, २०७७ साउन यता कर्तव्य ज्यान सम्बन्धि ६ सय ६९ वटा मुद्दा दर्ता भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी ८ सय २, चोरी सम्बन्धी २ सय १३, लागु औषध कारोबारसम्बन्धी २ हजार ६ सय २६, अपहरणसम्बन्धी ८८ वटा, जबरजस्ती करणसम्बन्धी १७ सय १९, बालबालिकामाथि यौन दुराचारसम्बन्धी १ सय ४९, बोक्सीको आरोपसम्बन्धी ६० वटा र बैंकिङ कसुरसम्बन्धी १ सय ४३ लगायत गरी विभिन्न अपराधका २१ हजार ५ सय ५८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन्।  

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुवँरले अन्य वर्षको तुलनामा यो वर्ष अपराधिक गतिविधि कम भएको जानकारी दिए। उनका अनुसार केही जघन्य अपराध भएपनि अघिल्ला वर्षहरूमा झै यो वर्ष धेरै अपराध मौलाउन पाएनन्। लकडाउनका कारण सहरबजार ठप्प भएको तथा मानिसहरू घरमै हुने भएकोले लुटपाटका घटनामा ज्यादै कमी आएको प्रवक्ता कुवँरको भनाई छ। ‘समय र अवस्था अनुसार नेपाल प्रहरीले आफ्नो जिम्मेवारी निभाउँदै आएको छ,’ उनले भने, ‘२०७७ साल नेपाल प्रहरीको लागि पनि निकै असहज र चुनौतीपूर्ण रह्यो किनभने असहज अवस्थामा जनतालाई शान्तिसुरक्षा प्रहरीले नै दिलायो।’  

उनका अनुसार आपराधिक गतिविधिमा अग्रपंक्तिमा रहेको काठमाडौं उपत्यका लकडाउनको बेला भने केही शान्त देखियो। २०७७ मा हिरासत कक्ष पनि खाली भए। सधै खचाखच हुने प्रहरी हिरासत कक्षहरू खाली हुँदा अपराध घटेको अनुमान गरियो। तर, लकडाउन खुलेपछि भने आपराधिक गतिविधि बढेको पाइएको छ।  

नेपाल प्रहरीमा पूर्व डिआइजी हेमन्त मल्लले कोरोना महामारीको बेला भौतिक रुपमा हुने अपराधिक कार्य कम भएपछि प्रविधि र सामाजिक सञ्जालमार्फत हुने घट्ना बढेको बताए। उनले भने, ‘कोरोना महामारीको बेला सरकारले गरिब र असहाय वर्गलाई व्यवस्थापन गर्न सकेन, जसका कारण धेरैले दुःख पाए, तर पहिलेको तुलनामा अपराधिक घटनामा भने कमी नै हो।’ लकडाउनको बेलामा अत्यावश्यकबाहेकका अन्य सबै काम रोकिए । प्रहरीमा सरुवा र बढुवा बाहेकका अन्य काम रोकिए। संगठनलाई बलियो पार्ने योजनामा बनेनन्। पुराना चर्चित घटनाको अनुसन्धानमा पनि प्रहरीले यो वर्ष त्यति प्रगति हासिल गर्न सकेन । निर्मला पन्त घटना र ३३ किलो सुन प्रकरणको अनुसन्धानबारे प्रहरी थप अलमल भइरहेको छ।  

प्रकाशित: १ वैशाख २०७८ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App