coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पूर्वीय दर्शन र सनातनी संस्कारमा बाह्य दबाब र प्रभाव’

पछिल्लो समय नेपाललाई हिन्दु राज्य बनाउने विषयमा विभिन्न बहस तथा छलफल भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वीय दर्शन र हिन्दुधर्ममाथि बाह्य दबाब, प्रभाव र प्रलोभन बढेको बताएका छन्। भारतको हरिद्वारमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन आइतबार त्यहाँ पुगेका शाहले मेलालाई सम्बोधन गर्दै धर्म बचाउनुपर्ने र संस्कृतिको रक्षा गर्नुपर्ने बताएका हुन्। 

उनले मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने बताएका छन्। उनले नेपाल र भारतका कैयौँ देवस्थल तथा धामहरूले सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्ने बताउँदै यहाँका धर्म, सभ्यता, सस्कृति र आदर्शहरूले विश्वकै मानवीय मूल्यलाई डोर्‍याउने बताएका छन्। उनले के नेपाल सानो छ भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्धको प्रसंग उल्लेख गर्दै आर्य सभ्यताको महत्व खिइँदै गएको कुरासमेत उल्लेख गरेका छन्।  

उनलाई कुम्भ मेलामा सहभागी हुन स्वामी कैलाशानन्द गिरीले राजाकै सम्मान दिएर निमन्त्रणा गरेका थिए। हिन्दु धर्मअनुसार राजालाई विष्णु भगवानको अवतार समेत मान्ने परम्परालाई मध्यनजर गर्दै कुम्भ मेलामा पूर्वराजा शाहलाई हिन्दु सम्राटका रूपमा निमन्त्रणा गरिएको थियो। हरिद्वार पुगेरका शाहले स्वामी कैलासानन्द गिरीसँग भेटेर आशिर्वाद लिएका थिए। उनी कुम्भ मेलामा सहभागी हुन पहिलो पटक हरिद्वार पुगेका हुन्।  

उनलाई उत्तराखण्डका मुख्यमन्त्री तिर्थसिंह रावतले स्वागत गरेका थिए। कुम्भ मेलामा पुगेका शाहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्र्दै देवभूमि शान्तस्थान रहेको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुने विश्वाससमेत व्यक्त गरेका छन्। नेपाललाई हिन्द ुराज्य बनाउने र राजतन्त्र पुनःस्थापना गर्ने विषयमा विभिन्न पक्षबाट बहस भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र राजाकै हैसियतमा कुम्भ मेलामा सहभागिता जनाउनु र हिन्दुधर्ममाथि प्रहार भइरहेको बताउँदै यसको रक्षाका लागि पहल गर्नुपर्ने अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: ३१ चैत्र २०७७ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App