४ वैशाख २०८१ मंगलबार
समाज

२०७७ को पदकमा चुच्चे नक्सा राखिने

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेको पदकमा राखिएको नेपालको नक्सा विवादमा परेपछि २०७७ सालको पदकमा भने नयाँ नक्सा समेटेर बुधबार वितरण गरिने भएको छ। २०७६ सालमा बाँड्नुपर्ने पदकमा नेपालको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सर्वत्र विरोध भएपछि संविधान दिवस २०७७ को पदक तथा मानपदवी भने नयाँ नक्सा समेटेर वितरण गर्न लागिएको हो।

संविधान दिवस २०७७ असोज ३ का अवसरमा भएको घोषणाअनुसार राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकामध्ये ४ सय ५२ जनालाई भने नयाँ नक्सा समेटिएका पदकबाट राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशोभन गरिने भएको छ। यसअघि गत शुक्रबार राष्ट्रपति भण्डारीले संविधान दिवस २०७६ को निर्णयअनुसार विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ सय ३३ जनालाई विभिन्न पदक वितरण गरेकी थिइन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गत शुक्रबार वितरण गरिएका पदक २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भई सोही समयमै तयार भएको र सो समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लेख भएकाले नयाँ नक्सा समेट्न नसकिएको बताए। ‘शुक्रबार वितरित पदक २०७६ मा घोषणा भएको र यसलाई २०७७ वैशाख १ मा वितरण गर्नुपर्ने भए पनि कोरोनाका कारण वितरण गर्न सकिएको थिएन,’ गृहका प्रवक्ता बुढाले भने, ‘नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा समेटेर २०७७ असोज ३ गते घोषणा भएका पदक बुधबार वितरण गरिनेछ।’

२०७६ को पदक गत शुक्रबार बाँडिए पनि त्यसको छपाइको काम भने उतिबेलै भएकाले पछि अद्यावधिक भएको नेपालको नक्सा प्रयोग गर्न नसकिएको गृहले जनाएको छ। पदकमा उल्लेख भएको नक्साको विरोधमा विभिन्न विद्यार्थी संगठनले प्रदर्शन गर्नुका साथै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो।

प्रकाशित: ३१ चैत्र २०७७ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App