७ वैशाख २०८१ शुक्रबार
समाज

जहाँ जोडी बाघ साता अघिदेखि रमाइरहेका छन्

सशस्त्र प्रहरीको मधुवन नगरपालिकास्थित भगरैयास्थित बिओपीबाट एसपी नरबहादुर रावतलाई बाघ देखिएको खबर दिनहुँ जस्तो आउनु नौलो विषयवस्तु थिएन।

बस्ती र सीमा सुरक्षाका लागि अपरिहार्य ठानेर अन्तर्राष्ट्रिय जैविक मार्ग नजिक रहेको बिओपी स्थापना गरेसँगै जंगलको राजा र रानीको गतिबिधि बढेको खबर पाईरहेका थिए उनले। पाटे बाघ नेपालबाट भारततर्फ गयो। बाघ भारतबाट नेपालतर्फ आयो। दैनिक यसरी नै आउने फोनमा एसपी रावतको निर्देशन हुन्थ्यो–सुरक्षित हुनु र गाउँलेलाई सतर्कता अपनाउन आग्रह गर्नु। यसअघि बिओपीदेखि तीन सय मिटर दूरीमा तीनजनालाई बाघले झम्टेर लगिसकेको छ।  

शनिबार राती बाघ कराएको कराई छ सर! भन्ने खबर एसपी रावतले पाउँछन्। राती नै टर्च बाल्दा दुईवटा बाघ देखिएको जाहेर मातहतले गर्छ। आईतबार ५ः३० बजे बिहानको समय जोडी बाघ बिओपीअघि रहेको खबर आएपछि एसपी रावत घटनास्थल जाने निर्णय गर्छन्। प्रजिअ शन्त बहादुरलाई फोन गर्छन्। सँगै नागरिक संवाददाता लिएर प्रजिअसँगै ६ः१५ बजे सदरमुकामदेखि २४ किलोमिटरको दूरीमा रहेको भगरैयामा बस्तीमा गाडी पुग्छ। गाडी छाडेर पैदल बिओपीभित्र टोली पस्न थाल्छ।  

हिम्मत बटुलेर त्यहाँ पुग्दा बाघ ५० मिटरको दूरीमा साक्षात्कार हुन्छ। ५० मिटर दूरीमा रहेको जंगलको राजाले घुरेर हेर्छ। जोडी बाघ सडक वरपर गरिरहेको दृश्य आँखा सामुन्नेमा देखिन्छ। बिओपीको छतमा माथि दृश्य नियाल्दा–बाघले कहिले हामीलाई घुरेर हेर्छ। पुनः कोल्टो परेर बसेकी बघिनि नजिक पुग्छ।  

मानिसको आवाज सुनेपछि उक्लेर सडकमा आएर बाघले फेरि घुर्छ। पुनः बघिनि नजिक जाने र बाघले हामीतर्फ हर्ने गतिबिधि नियमिति दोहोर्‍याउँछ।  

बाघले डेढ घन्टासम्म गतिबिधि दोहोर्‍याउँछ। तर बघिनि शान्त बस्छे। चैत अन्तिम भईसक्दा पनि तराईमा विहानी पख चिसो चिसो छ। जब घाम देखिने बेला फरक गतिबिधि बघिनिले गरेको देखिन्छ। बघिनि बाघलाई छाडेर अन्तै जान खोज्छे। भाले बाघ दुगुर्दै गएर बाटो छेक्छ। अन्ततः बाघको पदचाप पछ्याउँदै बघिनि पछि लागेर जंगलका राजा र रानी ओझेल पर्छन्। करिब डेढ घन्टा लाज माने जस्तो गरी भाले बाघ र पोथीले खुसी साटेको दृश्य रोमान्चक देखिन्छ। संरक्षणविद्का अनुसार यौन क्रिडाको समय बाघ निडर तरिकाले प्रस्तुत हुने गर्छ। क्रिडाको समय भएकाले लामो समयसम्म एकै ठाउँमा बसेर गतिबिधि गरेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रबिन कडरियाले अनुमान गरे। बाघले असुरक्षित भएको महशुस भएकाले बाघ सडक उक्लेर रेक्कि गरेको प्रत्यक्षदर्शी प्रजिअ सुनारले दाबी गरे। ‘म बाघको विज्ञ त होइन’ उनी भन्छन्,‘प्रत्यक्षदर्शी भएर बाघको जोडीको गतिबिधि नियाल्न पाए, जंगलको राजा र रानीले माया साटेको देख्न पाइयो।’ घाम छिप्पिदै जादा बाघको जोडी जंगल पसेको उनले सुनाए।

मधुवन ३ भग्रैया बाघको पर्याय भनेर चिनिएको छ। भगरैया र धनौराका पाँच जनालाई बाघले मारिसकेको छ। मध्यवर्तीका ५ जनालाई बाघले मारेको हो। यसरी बाघबाट मृत्यु भएको संख्या दश पुगेको छ। भगरैया क्षेत्रबाट निकुन्ज प्रशासनले एउटा नरभक्षी पाटे नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने करिब एक किलोमिटरको दूरी बाघ आवागमन गर्ने मार्ग हो। पुस्तैनी बाटोमा बाघले आवागमन गरेको संरक्षणविद्ले दाबी गर्छन्। भगरैयालाई बाघ जोन भन्दा पनि फरक नपर्ने एक सशस्त्र प्रहरी अधिकृतले बताए। ‘यो ठाउँ बाघको डेटिङ स्पोट जस्तै बनेको छ’ उनी भन्छन्,‘हामीले सँधै देख्थ्यौं, सिडिओ र एसपी सापलाई देखाउन पाइयो।’ उनका अनुसार साताअघिदेखि जोडी बाघ यस क्षेत्रमा रमाईरहेका छन्। बघिनि कराएपछि जोडी बाघले गतिबिधि गरिरहेका उनी बताउँछन्।

सशस्त्र प्रहरीले बाघबाट आक्रमण घटना दोहोरिन नदिन माईकिङ गरेर सर्वसाधरणलाई सुरक्षित रहन आग्रह गरेको छ। बाघ देखिएको क्षेत्र हिँड्डुल पूर्ण रुपमा प्रतिबन्ध लगाएको प्रजिअ सुनारले जानकारी गराए।

प्रकाशित: ३० चैत्र २०७७ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App