जुम्ला हिमा गाउँपालिका–२ का कमल रोकाया फोक्सोमा देखिएको समस्याले ग्रसित छन । विरामी भएपछि सुर्खेतको माया मेडिकल, काठमाण्डौं वीर अस्पताल, चितवनमा रहेको अस्पताल, भारतको लखनउ सम्म उपचारका लागि पुगे। तर फोक्सोमा देखिएको समस्या निको हुन सकेन । हाल काठमाडौंस्थित टिचिङ अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।
कामका लागि भारत गएका कमल स्वास्थ्यमा समस्या देखिएपछि गत मंसिरमा घर फर्किएका थिए । तीन महिना देखि आइसियुमा राखेर उपचार भइराखेको छ, कमलका भाइ भैरवले भने, ‘जता लिए पनि जस्तो उपचार गरेपनि निको हुदैन । अहिले आर्थिक अभावका कारण औषधि किन्ने पैसा समेत छैन । ’ कमलको उपचारको लागि १९ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । त्यो सबै क्रृण सापट गरेर संकलन गरेको रकम हो ।
म तीन महिना देखि आइसियुमा गम्भीर बिरामी भएका दाजुको उपचारमा कुरिरहेको छु, भैरवले भने, ‘अस्पतालको आन्तरिक सहयोग भएपनि महंगो औषधि किन्नुपर्ने अवस्था छ । आर्थिक अभावले औषधि किन्न सकिएको छैन । यो अवस्था सम्म त जेनतेन धानियो अब आर्थिक अवस्थाले धान्ला जस्तो छैन,उनले भने, ‘यत्रो धेरै खर्च गर्दा पनि औषधि किन्ने रकम नहुँदा दाजुको उपचार हुन सकेन भने म के गरौँ ।’
भारतमा काम गर्ने क्रममा २०७७ साल मंसिर महिनामा उत्तराखण्डाको परेकमा विरामी भएपछि नेपाल फर्किएका थिए । सुर्खेतको माया नर्सिङ होम हुदै सुर्खेत अस्पातलमा ७ दिन, त्यसपछि काठमाडौं वीर अस्पतालमा १३ दिन आइसीयुमा १ महिना, भरतपुरमा एक दिन, फेरि नेपालगंज, लखनउ हँुदै फेरी काठमाडौं शिक्षण अस्पतालमा भर्ना गरिएको छ । गत माघ २० गते देखि कमल रोकाया टिचिङ अस्पतालको आईसियुमा छन्।
कमलको उपचारका लागि १९ लाख रुपैयाँ खर्च भएकोमा १८ लाख ऋण हो । जग्गा धितो ६ लाख रुपैयाँ बैंकबाट निकालिएको थियो । अन्य ऋण गरेर उपचार गरियो तर उक्त रकम सकिएपछि अहिले ठूलो समस्या भएको छ । औषधि किन्न नसकिएको भन्दै हार गुहार गरिरहेको भैरब रोकाया बताउँछन ।
हिमा गाउँपालिकाले ५० हजार रकम सहयोग गरेको छ । यसैगरी अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले १५ हजार रुपैयाँ, जुम्ली सेवा समाजले १० हजार रुपैयाँ र इन्द्रेणी कार्यक्रमबाट ४० हजार रुपैयँ प्राप्त भएकोछ । भाइ भैरबले भने, ‘क्रृण सापट गर्दा पनि नपुगेकोले औषधि किन्नकै लागि भएपनि हारगुहार गरिरहेको छु । ’
बिरामीको औषधि किन्ने रुपैयाँ नहुदा अस्पतालले कुरुवाको खानाको जिम्मेवारी अस्पतालले लिएको छ । टिचिङ अस्पताल आईसियु ईन्चार्ज उमा खनाल कमलको खाना खाने क्रममा श्वासनलीमा खाना अड्किएका कारण इन्फेक्सन भएर प्वाल परेपछि गम्भीर रुपमा बिरामी परेको बताउँछिन । अस्पतालले तीन महिना देखि आइसियुमा राखेर हरप्रयास उपचार गरिरहेको छ । उनले भनिन्, ‘उपचारमा कुनै कन्ज्जुस्याइँ छैन । तर आर्थिक अभावका कारण समस्या भइरहेको छ । ’ बिरामी कमलको तौल २८ केजी मात्र छ । डा. अञ्जन सापकोटा सहितका डाक्टर उपचार गरिरहेका छन ।
आर्थिक अवस्था कमजोर र ऋण गरेको पैसा सकिएपछि विरामी सहित कुरुवाको खाना समेत खुवाउने जिम्मा अस्पतालले लिएको आईसियू ईन्चार्ज खनालले बताइन । कमलको जीवन बचाउन वाह्रय औषधीपनि धेरै आवश्यक रहेकाले आर्थिक सहयोगको आवश्यकता रहेको छ । उनले भनिन्,‘कमलको जीवन रक्षाको लागि यतिबेला आर्थिक सहयोगको खाँचो छ । ’
प्रकाशित: ३० चैत्र २०७७ ०६:५७ सोमबार