६ वैशाख २०८१ बिहीबार
समाज

बालविवाह विरुद्ध किशोरी

बालविवाह घटाउन बैतडीका किशोरी सक्रिय हुन थालेका छन्। स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा बालिकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका किशोरी सञ्जालका सदस्य बालविवाह लगायतका हानीकारक चलन हटाउन अग्रसर भएका हुन्। सञ्जालमा आबद्ध किशोरी अहिले आफू बालविवाहबारे बुझ्न र त्यसपछि अरुलाई बुझाउने कार्यमा लागेका छन्।

बालविवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरूबाट सिक्दै किशोरीहरूले आफ्नो गाउँटोलमा त्यसको प्रचार गरिरहेका छन्। बैतडीका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिका वडामा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा रेडक्रसले बालविवाह रोकथाम कार्यक्रम सञ्चालन गरेपछि किशोरीहरु जागरुक हुन थालेका हुन्। 

‘किशोरी सञ्जालमा आबद्ध भएपछि हामीले धेरै कुरा जान्ने अवसर पाएका छौँ,’ पाटन नगरपालिका ९ की किशोरी सहजकर्ता जयन्ती भण्डारीले भनिन, ‘हामीले बुझेका कुरा आफ्ना घर, छिमेकमा पनि बुझाइरहेका छौँ।’ उनीहरू आफ्ना अधिकार के हुन् र कहाँ गएर अधिकार माग्ने भन्नेमा सचेत हुँदै गएका छन्। किशोरीहरू बालविवाह र त्यसको असरका बारेमा बुझ्ने हुँदै जाँदा उनीहरूविरुद्ध हुने कानुनविपरीतका घटना रोक्न तथा न्यायका लागि पहल गर्न सहज हुँदै गएको सहजकर्ता  भण्डारीले बताइन्।

किशोरी सञ्जालका सदस्य रुपान्तरण कक्षामा सहभागी भएर जागरुक हुन थालेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। गाउँमा कसैको बालविवाह हुन लागेको जानकारी आए त्यसलाई रोक्न किशोरीहरू योजना बनाउँछन् र खट्छन्। बेलाबेलामा उनीहरू बालविवाहविरुद्ध चेतनामूलक र्‍याली निकाल्छन् सडक नाटकदेखि जनप्रतिनिधिसम्मलाई भेटेर झक्झक्याउँदै सचेत गराउँदै आएको पाटन नगरपालिका–९ की किशोरी सहजकर्ता शान्ति बिष्टले बताइन्। ‘बालविवाह हुन लागेको थाहा पाएपछि घरमा गएर अभिभावकलाई सम्झाउँछौ,’ उनले भनिन ‘बालविवाहबाट पर्ने असरका बारेमा बताएपछि धेरै अभिभावक बालविवाह रोक्न तयार हुन्छन्, नमानेमा स्थानीय  तह वा प्रहरीमा खबर गर्ने गरेका छौं।’

सञ्जालमा आबद्ध किशोरीहरूले बालविवाह रोक्न खोज्दा समाजबाट आलोचना खेप्नु परेको बताउँछन्। बालविवाह लगायत हानीकारक चलन हटाउन किशोरी, अभिभावक, धामीझाक्री, पण्डितहरुको लागि अभिमुखीकरण सञ्चालन गर्दै आएको रेडक्रस बैतडीकका सभापति भीमदत्त पाण्डेयले बताए। सचेतना कक्षामा किशोरीका समस्या लगायत सामाजिक विकृति विसंगतीका बारेमा छलफल हुने गरेको हो। रुपान्तरण तालिम लिएका किशोरीले अन्य किशोरीलाई सचेतना कक्षामार्फत् सन्देश प्रवाह गर्ने गरेका छन्। छोरीलाई बोझका रुपमा लिने र सानैमा बिवाह गरिदिने चलन छ।

 यो चलन ग्रामिण बस्तीमा बढी छ। बालविवाह गर्ने चलन सामाजिक समस्याको रुपमा रहेको जिल्ला समुन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। पूरातनवादी सोचसँगै सानै उमेरमा छोरीको बिहे गरीदिए उम्किइन्छ भने सोचकै कारण बालबिवाहका घटना हुने गरेको उनको भनाइ छ। समाजमा विद्यमान कुसंस्कारको नियन्त्रण, न्यूनीकरण र निर्मूलीकरण गर्न यो अभियान थालिएको हो। किशोरी र अभिभावक जागरुक भए बालविवाह न्यूनीकरण गर्न सहज हुने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए।

बालविवाहबाट पर्ने असरबारे किशोरकिशोरीलाई जानकारी भएपछि उनीहरु आफै बालविवाह विरुद्ध लाग्ने गरेका छन्। किशोरीहरु घरदैलो कार्यक्रमदेखि साप्ताहिक रुपमा कक्षा सञ्चालन गर्ने गरेका छन्। सचेतना कक्षाबाट बालविवाहबाट हुने हानीनोक्सानीका बारेमा बुझेपछि बालविवाह लगायत सामाजिक कुसंस्कार विरुद्ध लाग्न सहज भएको शिवनाथ गाउँपालिका–५ की सोनिया पार्कीले बताइन्। अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जालको प्रभाव, कानुनी ज्ञानको अभावमा जिल्ला बालविवाह घट्न सकेको छैन। 

प्रकाशित: ३० चैत्र २०७७ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App