coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली प्रदेशसभा जाने बाटोको बीचमा बिजुलीको पोलसहित कालोपत्रे

मुख्य बजार क्षेत्रदेखि प्रदेशसभा भवन जाने कालोपत्रे सडकको बीचमै विद्युतका पोलहरु छन् । विद्युत प्राधिकरणले समयमै पोलहरु नहटाउँदा निर्माण कम्पनीले बीचैमा पोल राखेर सडक कालोपत्रे गर्‍यो । ठेक्काको म्याद गुज्रिन लाग्दा पनि प्राधिकरणले पोल नहटाएकाले पोलहरुकैबीचमा कालोपत्रे गर्नु परेको निर्माण कम्पनीले जनाएको छ ।    

‘सडक कालोपत्रेको म्याद गुज्रिन लाग्यो, विद्युत प्राधिकरणले पोल हटाएन्,’ श्याम एण्ड शंकर कन्ट्रक्सनका सञ्चालक पदम खड्काले भने, ‘सडकको बीचमै पोलहरु राखेर कालोपत्रे गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ सडकको बीचमा विद्युतका पोल हुँदा दुर्घटनाको जोखिम बढेको छ ।  

रत्नराजमार्ग हुँदै इन्जिनियरिङ कलेजसम्म जोड्ने छ किलोमिटर सडक अघिल्लो आर्थिक वर्षको अन्त्यतिर कालोपत्रे भइसक्नुपर्ने थियो । २०७४ असार २८ गते काठमाडौंको महालक्ष्मी–किरातेश्वर–केएसके जेभीले सडक कालोपत्रेको ठेक्का लिएपनि अहिलेसम्म सम्पन्न गरेको छैन् । अधिकांस पूर्वाधार निर्माणमा कामचोर ठेकेदारको लापरवाही देखिन्छ । तर, यो सडक भने विद्युत कार्यालयका कारण कालोपत्रे सम्पन्न हुन सकेको छैन ।  

रत्नराजमार्गदेखि इन्जिनियरिङ क्याम्पस जोड्ने यो सडकको चौडाई छ मिटर थियो । विस्तारका क्रममा १० मिटर पुर्‍याइएको छ । सडकको बीचमा विद्युतका पोल छन् । ‘समयमै विद्युत प्राविधिकरणले पोल नहटाउँदा थपिएको म्याद (२०७७–पुस) भित्र पनि कालोपत्रे गर्न सकिएन्,’ सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्रप्रसाद भट्टले भने, ‘अरु ठाउँमा निर्माण कम्पनीका कारण ढिलाई हुन्छ, यो सडककोे हकमा विद्युत कार्यालयका कारण ढिलाई भइरहेको छ ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३६ वटा सडक फराकिलो र कालोपत्रे गर्ने काम भइरहेको छ । संघीय, प्रदेश र स्थानीय सरकारमार्फत ४० करोड आठ लाख रुपैयाँमा निर्माण भइरहेका यी सडकमा पर्ने विद्युतका पोलहरु नहटाइँदा समस्या उत्पन्न भएको छ ।  

पूर्वाधार विकास कार्यालयका अनुसार अहिले फराकिलो र कालोपत्रेको काम भइरहेका सडकमा विद्युतका डेढ सय बढी पोलहरु सार्नुपर्ने छ । ‘पोलहरु सार्नका लागि एक करोडबढी रुपैयाँ विद्युत कार्यालयको खातामा जम्मा गरिसकेका छौं,’ पूर्वाधार विकास कार्यालय सुर्खेतका निर्देशक बासुदेव पौड्यालले भने, ‘विद्युत कार्यालयको गतिविधिले गर्दा सम्पन्न भइसक्नुपर्ने सडकहरु पनि अधुरै छन् ।’

निर्माण कम्पनीहरुले सडकभित्र पर्ने पोलहरु हटाइदिन पटक–पटक कार्यालयहरुलाई पत्र लेखेका छन् । ‘निर्माण कम्पनीले विद्युतका पोल हटाइदिन आग्रह गर्दै पटक–पटक पत्र लेखेका छन्, हामीले पनि सम्वन्धीत कार्यालयलाई पोल हटाउनका लागि दिनुपर्ने भुक्तानी पनि गरिसकेका छौं,’ उनले भने, ‘प्राधिकरणले ढिलो गर्दा त्यसको असर सडक निर्माणमा परिरहेको छ ।’

वीरेन्द्रनगर–४ को पिपलचौतारादेखि पार्क जोड्ने सडक कालोपत्रेको काम सुरु भएको तीन वर्ष भयो । निर्माण कम्पनीले कालोपत्रेका लागि आवश्यक सामाग्रीहरु पनि थुपारेको छ । सडकको बीचमा पर्ने ५० वटा पोलहरु नहटाइँदा कालोपत्रेको काम अघि बढेको छैन् । स्थानीयहरुले पटक–पटक विद्युत प्राधिकरणको कार्यालयमा पुगेर धर्ना दिएका छन् । ‘पोल नहटाइँदा अहिले आवत–जावतमा पनि समस्या उत्पन्न भएको छ,’ स्थानीय दीर्घप्रसाद चालिसेले भने, ‘एक साताभित्र पोल नसारिए आन्दोलन गर्ने निर्णय गरेका छौं ।’

प्राधिकरणका सुर्खेतस्थित कार्यालयका प्रमुख टंकराज गिरीले जनशक्ति अभावमा समयमै पोल सार्ने काम गर्न नसकिएको बताए । ‘जनशक्ति थोरै छ, कार्यालयकै नियमित काम गर्न समस्या भइरहेका बेला थप कामको जिम्मेवारी आइलाग्यो,’ उनले भने, ‘प्राथमिकताका आधारमा पोलहरु सार्ने काम गरिरहेका छौं ।’

प्रकाशित: २९ चैत्र २०७७ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App