नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गाल यस वर्षको प्रगति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।
निजी क्षेत्रको जिल्लाकै अग्रणी प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार दङ्गाललाई सम्मान गरेको हो। प्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र विद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले संयूक्त रुपमा सम्मानपत्रका साथ दोसल्ला उनलाई ओढाएर सम्मानित गरेका थिए।
जिल्लामा रहेर डेढ दशकदेखि पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै विद्यालयले यस वर्षको पत्रकारिता विधातर्फको सम्मान पत्रकार दङ्गाललाई दिएको हो। साहित्यतर्फको सम्मान भने साहित्यकार दिलबहादुर कार्कीले पाए। उनलाई प्रगति साहित्य सम्मान दिइएको हो। जिल्लाको कला, पत्रकारिता, साहित्य, खेलकुद लगायत विधामा योगदान पुर्याउने व्यक्तिलाई विद्यालयले बिगत १५ वर्षदेखि सम्मान गर्दै आएको छ।
पत्रकार तथा साहित्यकार डम्बर रसिक भारती संयोजक रहेको समितिको छनोटको आधारमा पत्रकार दङ्गाल र साहित्यकार कार्कीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। वार्षिकोत्सवमा विद्यालयको आन्तरिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए।
प्रकाशित: २८ चैत्र २०७७ १४:१८ शनिबार