coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुने भयो बिस्केट जात्रा

भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सिएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।  

बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत भैरवनाथ रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखी सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफएम र सामाजिक सञ्जालमार्फत गर्ने र अनुशासित र मर्यादित रूपमा स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ। साथै बिस्का जात्रा सञ्चालनका लागि आवश्यक तयारी गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्ने र जात्रा अवधिमा शान्तिसुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने निर्णय गरिएको छ।  

बैठकमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जनताको भावनालाई सम्मान गर्दै जात्रा गर्ने निर्णय भएको बताए। नगरपालिकाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुँठीलगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको उनले स्मरण गरे। बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको भैरवनाथको रथ तान्ने जात्रालाई स्वास्थ्य मापदण्डको पालना गरी गराउने सुझाए। साथै लिंगो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गर्ने पनि उनले बताए।  

जनभावनाअनुरूप नगरपालिकाले गरेको जात्रा सञ्चालन गर्नेसम्बन्धी निर्णयमा प्रशासन सकारात्मक रहेको पनि उनले बताए। बैठकमा गुँठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाले पनि आ–आफ्नो धारणा राखेका थिए।

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअघि अर्थात् यो वर्ष वैशाख २८ गते जात्रा सुरु हुनेछ। भक्तपुर नगरको पाँचतले मन्दिरअगाडि राखेर काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको रथलाई डोरीको सहायताले तानेर जात्रा सुरु हुनेछ। 

प्रकाशित: २६ चैत्र २०७७ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App