डढेलोले जलेर खोटाङमा वृद्धाको मृत्यु भएको छ । स्थानीय तारेभीर सामुदायीक वनमा लागेको डढेलोमा पर्दा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीया डम्बरकुमारी आले मगरको मृत्यु भएको हो । बुधबार दिउँसो जंगलमा लागेको डढेलोको लप्काले भेट्दा वृद्धाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको सुन्तलेका वडाध्यक्ष अमरबहादुर आलेमगरले बताए ।
उनलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । वृद्धाको उद्धारकाक्रममा दुई जना घाईते भएको वडाध्यक्ष मगरले बताए । डढेलो वस्ती नजिक आएपछि अन्य स्थानीय भने कपडा भिजाएर घरको छानामा राखेर बसिरहेको अवस्थामा वृद्धा भने डढेलो हेर्न पुगेको स्थानीयले बताएका छन् ।
प्रहरीले घट्नास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । ‘बारीको डिलसम्म आएको डढेलो नजिक पुग्दा कपडाबाट आगो सल्केर डम्बरकुमारीको मृत्यु भएको हो,’ वडाध्यक्ष मगरले भने, ‘जलेको अवस्थामा उद्धार गरेर अस्पताल लैजाने तयारीकैक्रममा वृद्धाको मृत्यु भएको हो ।’
प्रकाशित: २५ चैत्र २०७७ १३:२५ बुधबार