१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'म हिंसा सहन्न, आत्मरक्षा गर्न सक्छु'

किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिँदै । तस्बिर : सरिता/नागरिक

दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आइरहेकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की सिम्रिका गिरीलाई मनमा धेरै डर लाग्थ्यो । सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत गिरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने अन्यौलमा थिइन् । विद्यालयमा सञ्चालन भएको तीनदिने आत्मरक्षा तालिमले उनीमा जोश थपिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तथा विभिन्न स्थानमा एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने तरिकाहरू सिक्न पाउँदा उनी खुसी छिन् ।  

उनलाई अहिले भने त्यस्तो घटना आफूलाई पर्‍यो भने कसरी समाधान गर्ने भन्नेमा आत्मबल बढेको छ । विद्यालयमा प्रदान गरिएको आत्मरक्षा तालिमले उनलाई आत्मबल बढाएको बताइन् । ‘सञ्चार माध्यममा दिनहुँ जस्तो हामी किशोरी माथि हिंसात्मक घटना, बलात्कार, यौन दुर्व्यवहारको सिकार हुनु परेको घटना सुन्ने गथ्यौ, यस्ता घटना हाम्रो गाउँठाउँमा भयो भने के गर्ने कसो गर्ने भन्ने पनि अन्यौलमा थियौँ, गिरीले भनिन्, अहिले आत्मरक्षा सम्बन्धी तालिम लिएसँगै समाधानका लागि के गर्ने भन्ने बारेमा जानकार छु’ सहजै त्यसको सामना गर्न सक्छु भन्ने आत्मबल बढेको छ ।’

किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार रोकथामका लागि किशोरीलाई आत्मरक्षा तालिम दिन थालेपछि सिम्रिका जस्तै किशोरीहरुमा आत्मबल बढ्दै गएको हो । आफूमाथि हुने कुनै पनि दुर्व्यवहारको प्रतिकार तत्काल गर्नुपर्ने उनले बताइन् । ‘पछाडिबाट कपल तान्ने खोजे, अगाडिबाट घाँटी समात्न खोजे, सार्वजनिक गाडीमा कसैले दुर्व्यवहार गर्न खोजे सबैले थाहा पाउने गरी बोलेर प्रतिकार गर्न सकिन्छ,’ उनले भनिन्, ‘अरु ठाउँमा पनि त्यस्तो बेलामा अरु व्यक्तिको सहायता लिने, आफूलाई परेको समस्या सहयोग पाउने ठाउँमा अरुलाई भन्ने गर्दा पनि धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ ।’

सोही विद्यालयमा अध्ययनरत सुरक्षा बस्यौलाले पनि विद्यालयमा तीन दिनसम्म सञ्चालन भएको आत्मरक्षा तालिम लिइन् । आत्मरक्षाका उपायहरु सिक्न प्रतिकार गर्ने शैली जान्न प्रत्येक दिन बिहानै विद्यालयमा पुगेर तालिम लिएको बताइन् । ‘मैले तालिममा आत्मसुरक्षाका लागि सीप र आत्मविश्वास दुवै लिन पाएँ’, उनले भनिन् ‘कञ्चनपुरकी निर्मलाले भागिरथी भट्टले यो तालिम पहिले नै सिक्न पाउनु भएको भए, त्यो दुर्घटनामा पर्नु हुँदैनथ्यो होला ।’ हामी छोरीहरु पनि छोराभन्दा कमजोर छैनौं । यो तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्दै अब हाम्रो गाउँठाउँमा यस्ता बलात्कारका घटना हुन दिने छैनौं ।

नेपालमा पछिल्लो समय बालिका, किशोरीमाथि घटेका घटना विभिन्न घटनाले ठर त्रास पैदा गरेको छ । आफन्तबाटै बालिका असुरक्षित । आफ्नै प्रेमीबाटै किशोरी बलात्कृत । स्कुलसम्म पुग्न र घरमा फिर्ता हुँदा पनि त्रसित हुनुपर्ने बाध्यता । यस्ता घटना नदोहोरियोस भन्नका लागि आत्मरक्षा तालिम प्रदान गरिएको हो । तीन दिनसम्म प्रदान गरिएको तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्ने उपाय सिकाएको छ । गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने सातवटा उपाय तालिममा सिकाउने गरिएको छ ।

सिद्धलेक गाउँपालिका वडा नं ४ नलाङमा रहेको कालीदेबी माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया अम्बिका श्रेष्ठ आत्मरक्षा तालिम लिएपछि आत्मबल बढेको बताइन् । ‘तालिममा सुरक्षाका साथै नेतृत्व कसरी गर्ने, आफ्ना समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने सिकेसँगै आफूले पनि धेरै कुरा गर्न सक्छु, समस्या पर्दा समाधान गर्न सक्नु भन्ने हिम्मत बढेको छ’ उनले भनिन् ‘पहिला सानो कुरा कसैलाई भन्न डर लाग्थ्यो, कुनै समस्या पर्दा मनमनै दबाएर राख्नुपर्ने हुन्थ्यो, अहिले भने समस्या पर्दा के गर्ने भन्ने, कसलाई भन्ने, कसरी समाधान गर्ने भन्ने सबै थाहा पाएको छु ।’

आत्मरक्षा तालिमले किशोरीहरुमाथि हुने दुर्व्यवहार र हिंसा कम गर्न सहयोग पुगेको कालीदेबी माध्यमिक विद्यालयका प्रधानाध्यपक झकबहादुर थापाले बताए । समाजमा व्याप्त हिंसालाई न्यूनिकरण गर्न यो तालिमले सघाउ पुर्‍याउँछ, प्रधानाध्यपक थापाले भने, ‘हाम्रा पालमा यो तालिम लिन पाइएन, धेरै दिदी बैनी बलात्कार र महिला हिंसाका सिकार भए, यो तालिमले अहिलेका साना नानीदेखि लिएर हाम्रो उमेरका महिलाहरुमा थप उर्जा थपेको छ ।’ किशोरीलाई मात्र होइन किशोरहरुलाई पनि यो तालिम प्रदान गरिएको छ ।  

जिल्लाको पाँच वटा स्थानीय तहको १३ वटा विद्यालयमा अध्ययनरत किशोर र किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । भिएसओ र आसमान नेपालको सहयोगमा फाइट व्याक संस्थाले तालिम प्रदान गरेको हो । तालिम पश्चात बालिकामा आत्मविश्वास बढेको छ भने उनीहरूले सुरक्षित महशुस गरेका छन् । शारीरिक रुपमा गर्न सकिने सुरक्षा, हिंसाबाट कसरी बच्ने, दुर्व्यवहारको सामना र प्रतिकार कसरी गर्ने, समस्याको समाधान कसरी गर्ने, समस्या पर्दा कसरी अरुलाई भन्ने, सहयोग गर्न सक्ने को को हुन्छन् भन्ने जानकारी दिने गरेको फाइट व्याककी मास्टर ट्रेनर पुजा गुरुङले बताइन् ।

बालिका, किशोरीमाथि कुनै बेला पनि हिंसा हुने जोखिम छ । त्यसैले यस्ता तालिमको आवश्यक थियो । उनीहरूमाथि हामीले स्कुलमै पुगेर आत्मरक्षा गर्ने उपाय सिकाए पछि किशोरीहरू प्रतिकार गर्न सक्ने भएको मास्टर ट्रेनर पुजा गुरुङले बताइन् । ‘हामीले किशोरीहरुमा हुने विभिन्न समस्या समाधनका लागि उनीहरुको आत्मबल बढाउने खालका आत्मरक्षा तथा नेतृत्व सम्बन्धी तालिम प्रदान गर्दै आएका छौँ’ गुरुङले भनिन्, ‘किशोरीलाई मात्र होइन किशोरहरुलाई पनि एकदिनको तालिम प्रदान गरेका हौँ, यसबाट उनीहरुमा सकारात्मक प्रभाव परेको छ ।’

प्रकाशित: २५ चैत्र २०७७ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App