६ वैशाख २०८१ बिहीबार
समाज

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण

१४ किलोमिटरलाई १५ मिनेट

कहिले जाम हुने त कहिले माटो उडेर धुलाम्य हुँदा सवारीचालकका आँखा टालिएर दुर्घटनाको भय हुने धनगढी–अत्तरिया सडक अब सोचेभन्दा फरक भएको छ। धनगढीको मोहना पुलदेखि अत्तरियासम्मको धुलाम्य सडक अहिले चिल्लो बन्दा धनगढी मोहना पुलदेखि अत्तरिया चोकसम्म पुग्न समय नै लाग्दैन।  

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकखण्डको निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा यात्रा सहज भएको छ। ‘अब अत्तरिया टाढा रहेन,’ स्थानीय विनय खड्काले भने, ‘धनगढीबाट अत्तरिया १५ मिनेटमै पुग्न सकिने भएको छ।’ पहिले धनगढी–अत्तरिया ‘सिंगल लेन’ हुँदा सडक जाम हुने गरेको बताउँदै उनले भने, ‘अहिले त एकैपटक धनगढीदेखि सरर्र अत्तरिया पुगेको पत्तै हुँदैन।’  

अत्तरिया–धनगढी आउजाउ गर्न असहज हुने गरेको बताउँदै अत्तरिया क्षेत्रमा पत्रकारिता गरिरहेका वीरेन्द्र भट्ट भन्छन्, ‘अहिले धनगढीमा कुनै कार्यक्रम भयो भने क्षणभरमै पुग्न सकिन्छ।’ धुलाम्य सडक हुँदा धनगढी जानै मन नलाग्ने, गइहाले पनि झोलामा अर्को एक जोर लुगा राखेर लैजानुपर्ने बाध्यता टरेको बताउँदै उनले भने, ‘पहिले धनगढी जाँदा एक जोर लुगा फोहोर भइसक्थ्यो, अर्को जोर लुगा झोलामा भिरेर जानुपथ्र्यो, अहिले त्यो हटेको छ।

’चिल्लो र चिप्लो सडकले सवारीसाधनलाई पनि अप्ठ्यारो नहुने गरेको उनले बताए। ‘पहिले ठाउँठाउँमा फुटेको सडकमाथि मोटरसाइकल चलाउँदा दैनिकजसो पन्चर हुनुका साथै बिग्रने गरेको थियो,’ उनले भने, ‘अहिले त मोटरसाइकल पनि न पन्चर हुन्छ, न त पहिलेको जति बिग्रन्छ।’ यस्तो सब सडक सुविधाका कारण भएको उनी बताउँछन्।

सडक निर्माण हुँदा धुलोले किनारमा व्यापार व्यवसाय गर्नेहरू र बसोबास गर्नेहरूलाई सास्ती उस्तै थियो। ६ लेन सडक निर्माण भएपछि भने धुलोको सास्ती कम भएको छ। ‘सडक निर्माण हुँदाका तीन वर्ष धुलोधुवाँले सास्ती खेप्यौं,’ स्थानीय राम चौधरीले भने, ‘सडक निर्माणपछि भने धुलोमुक्त भएका छौं।’ पहिले धुलोधुवाँले श्वासप्रश्वासका बिरामी पनि बढेको बताउँदै उनले भने, ‘अहिले भने त्यस्तो समस्या छैन।’  

बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै आम नागरिक खुसी भएका छन्। ‘अहिले धनगढी आउजाउ गर्ने साइकलयात्री हुन् या सवारीसाधन चालकलाई सडकले सहज भएको छ,’ उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा भन्छन्, ‘६ लेनले अब धनगढी टाढा रहेन।’ यो सडक निर्माणले अत्तरिया बजारको मुहारमा पनि परिवर्तन छाएको उनी बताउँछन्। ‘अत्तरिया बजारको दक्षिणी क्षेत्र सडक विस्तारपछि गज्जबको देखिएको छ,’ उनले भने।  

सडक निर्माण राम्रो भए पनि केही अव्यावहारिकता भने भएको उनी बताउँछन्। ६ लेन सडकमा अव्यावहारिक क्रसिङ ९डिभाइडर०ले भने केही असहजता छाएको उनले बताए। आम नागरिकलाई अव्यावहारिक क्रसिङ ९डिभाइडर० ले भने सास्ती दिइरहेको छ। करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यताले सास्ती दिएको हो।  

‘धनगढी चौराहाबाट विद्युत् कार्यालयमा महसुल बुझाउन जाँदा मिलनचोक पुगेर पुनः फर्कनुपर्ने बाध्यता छ,’ स्थानीय युवराज चौधरीले भने, ‘६ लेन सडकमा अव्यावहारिक क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेन जान निकै टाढा जानुपर्ने बनाइएको छ।’ धनगढी सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र र त्यसमा पनि प्रदेशकै राजधानी रहेको ठाउँमा जनघनत्वको चाप अत्यधिक रहेकाले त्यस्तो ठाउँमा क्रसिङ राख्दा व्यावहारिकता निभाउनुपर्ने उनी बताउँछन्। 

‘धनगढीको मोहना पुलदेखि चटकपुरको मुख्य बजार क्षेत्रमा जम्मा ३ ठाउँमा मात्रै क्रसिङ राखिनाले साइकल, मोटरसाइकल तथा चारपांग्रे सवारीसाधनलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो अलि अव्यावहारिक भएकाले सामान्य यात्रुले सास्ती खेप्नु परेको छ।’ क्रसिङ राखिँदा पेट्रोलियम पदार्थ राखिएको पम्प, विद्यालय, भिडभाड हुने सरकारी कार्यालय तथा सवारीसाधन पार्किङ गरिने स्थल नजिक हुनुपर्नेमा पूरै अव्यावहारिक र मनमौजी तरिकाले राखिएको उनले गुनासो गरे।  

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकखण्डमा तत्काल केही स्थानमा सर्भिस रोडको काम भइरहेको बताउँदै मोहना पुल–अत्तरिया सडक योजनाका इन्जिनियर तथा सूचना अधिकारी लक्ष्मण रावलले भने, ‘भौतिक प्रगति ९० प्रतिशत भएको छ।’ यो सडक निर्माण अघि अत्तरियादेखि धनगढी पुग्न यात्रुलाई करिब पौने घण्टा लाग्ने गरेको बताउँदै उनले भने, ‘६ लेन सडकपछि भने मानिस १५ मिनेटमै पुग्न सक्छन्।’ यसले आवतजावतमा सहजता हुनुका साथै दुर्घटनाको दरमा कमी आएको पनि उनले बताए। ‘यसअघि दुर्घटना दर बढी थियो,’ उनले भने, ‘६ लेन सडक निर्माणपछि भने दुर्घटना दरमा कमी आएको छ।’

प्रकाशित: २५ चैत्र २०७७ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App