७ वैशाख २०८१ शुक्रबार
समाज

लाइसेन्स मापदण्ड ७० ल्याए पास

फाईल तस्बिर/नागरिक

सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

‘यसअघि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (परीक्षा) ट्रायलमा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्याएमा उत्तीर्ण भएको मानिनेछ,’ उनले भने, ‘समय सान्दर्भिक सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा फेरबदल गरेका हौं।’ कोभिड–१९ का कारण सवारीचालक अनुमतिपत्र झन्डै १० महिना ठप्प भएको थियो। १० महिनासम्म अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुँदा करिब ७ लाख सेवाग्राहीले अनलाइनमार्फत आवेदन फाराम भरेका छन्।

विभागले सेवाग्राहीको अत्यधिक चाप भएकाले पनि अहिले नयाँ निर्देशिका ल्याएर यसअघि फेल भएका सेवाग्राहीको संख्या घटाउन लागेको हो। प्रवक्ता भुसालले संघीय सरकारमातहतको विभागले प्रदेश सरकारमातहत रहेका यातायात व्यवस्था कार्यालयहरूलाई सवारीचालक अनुमतिपत्र लिने ट्रायल सेन्टर र जनशक्ति पनि थप गर्न सिफारिस गरेको बताए।  

‘अहिले लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राही अत्यधिक छन्। त्यसैले पनि कर्मचारी र सेन्टर थप गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिन अनुरोध गरेका छौं,’ उनले भने। कोभिड–१९ को संक्रमण बढेसँगै अहिले दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन खरिद गर्नेको संख्या उल्लेख्य मात्रामा बढे पनि सरकारले लाइसेन्ससम्बन्धी आवश्यक निर्णय नगर्दा लाखौं सेवाग्राही मर्कामा परेका छन्। विभागका प्रवक्ता भुसालले करिब ६ लाख सेवाग्राहीले ट्रायल दिन बाँकी रहेको बताए। ‘अहिले धमाधम ट्रायल परीक्षा सञ्चालन भइरहेको छ तर अपेक्षित मात्रामा संख्या बढाउन सकेका छैनौं,’ उनले भने, ‘नयाँ निर्देशिकाले पनि ट्रायल दिनेको संख्या क्रमशः घट्दै जानेछ।’

दुईपांग्रे सवारीसाधनको ट्रायल मापदण्ड

मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। नयाँ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर ट्रायल फेल भने भइँदैन। दुईपटकभन्दा बढी सो रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ। साँघुरो फलेकको अंकभार १० तोकिएको छ।

साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगाबै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। तर एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्। त्यसैगरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

चारपांग्रे सवारीसाधनको निर्देशिका

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ ९एट० को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ। निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ।

त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। तर अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चारपांग्रे सवारीचालकलाई र्‍याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडी बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ। ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ।

त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ। काठमाडौं उपत्यकामा सवारीचालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय रहेका छन्। उपत्यकाबाहिर करिब ११ स्थानबाट सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका छन्।

प्रकाशित: २४ चैत्र २०७७ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App