७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली सेनाको प्रदेशस्तरीय सम्मेलन

नेपाली सेनाले मकवानपुरको हेटौंडास्थित मध्यपृतना हेडक्वाटरमा वागमती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन गरेको छ । सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाश प्राप्त सैनिकलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्यले सम्मेलन गरेको हो ।

सम्मेलनमा ८ जिल्लाका भुतपुर्व सैनिक तथा उनीहरुको परिवारको उपस्थिती रहेको थियो । कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक तथा जेष्ठ एकल महिलालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्मान तथा अभिनन्दन गरेका थिए ।

कार्यक्रममा एकल महिलातर्फ हेटौंडा उपमहानगरपालिकाकी स्वर्गीय सेनाका धर्मपत्नी १०३ वर्षीया गोमा ढकाललाई अभिनन्दन गरिएको थियो । त्यस्तै पुरानो गोरख गणबाट अवकाश प्राप्त मकवानपुरको पालुङका ९८ वर्षीय गजेन्द्रबहादुर कार्कीलाई पनि अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा एकै परिवारबाट ४ जना भन्दा बढीले सेनामा सेवा गरेको भन्दै धादिङकी पुर्खा कुमारी सिल्वाल, नुवाकोटका भरमान डंगोल, हुद्धम केपबहादुर थापा, पर्साका हर्कबहादुर राउत क्षेत्री, विष्णुमाया पाण्डे, चितवनकी सन्चकुमारी गुरुङ, चेतबहादुर खड्का, शिवबहादुर थापा, पुर्णबहादुर अधिकारी र धादिङका नरबहादुर थापा गरी ९ जना सम्मानित भएका हुन् ।

त्यस्तै, क्षेत्रमा फरक क्षमता भएका भूतपूर्व सैनिक र उनीहरुको हिताधिकारीलाई व्हील चेयर, बैसाखी पनि प्रदान गरिएको थियो । जसमा पशुपति प्रसाद गणका सिपाही लिलतबहादुर थापा मगरका छोरा राजेश थापा मगर र काली प्रसाद गणका उप सेनानी नहेन्द्रबहादुर थापा क्षेत्रीका छोरी नानु थापालाई व्हील चियर प्रदान गरिएको थियो ।

त्यस्तै, मध्यपृतना अन्तरगतका लघुवित्त एवम् महिला उद्यमशील कर्जा कार्यक्रम मार्फत् कर्जा लिई विभिन्न आयआर्जमुलक उद्यम व्यवसाय सञ्चालन गर्नेहरु मध्ये सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमी व्यवसायीलाई पुरस्कृत गरिएको थियो । नुवाकोटका अवकास अमल्दार राजकुमार आचार्यले सर्वोत्कृष्ट उद्यमी र चितवनकी सुशिला न्यौपानेले उत्कृष्ट उद्यमीको प्रशंसा–पत्रसहित पुरस्कार पाए ।

साथै, लघुवित्त र महिला उद्यमशिल कर्जा वितरण कल्याणकारी कार्यक्रम मार्फत् भूतपूर्व सैनिकहरु, आश्रित परिवार र बहालवाला सैनिक परिवारलाई स्वरोजगार बनाउने उदेश्यले आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नगद सहयोग गरिएको छ । नेपाल ईन्भेष्टमेण्ट बैंकसंगको सहकार्यमा संचालित कार्यक्रम अन्तरगत कृषि फार्म तथा राई मिल सञ्चालकहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रधानसेनापति थापाले भूपूसैनिकका आवश्यकताहरु पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गरिरहेको विभिन्न योजना र कार्यक्रमहरुको नीति तय गरी कार्यान्वयन गरिरहेको बताए । ‘नेपाली सेनाका बहालवाला र पूर्व सेना तथा परिवारहरुको गुनासो, पीर, मर्का, राय र सुझाव सम्मेलनबाट संकलन गरी नीति निर्माण गर्दछौ,’ उनले भने, ‘त्यसैले भूतपूर्व सैनिक सम्मेलन धेरै प्रभावकारी हुन्छ ।’

नेपाली सेनाको योगदानबारे बताउँदै उनले नेपालगञ्ज, इटहरी र पोखरामा ३ वटा क्षेत्रीय अस्पताल संचालन गरिरहेको सेनाले धनगढी र बर्दिवासमा पनि अस्पताल निर्माणको तयारी गरिएको बताए ।

कार्यक्रममा वागमती प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत एवं अवकाश प्राप्त रथी गौरव तण्डुल, मध्य पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी अशोकराज सिग्देल क्षेत्री, कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक एवं रथी सागरबहादुर के.सी, भूपूसैनिकका वरिष्ठ उपाध्यक्ष केशरराज भण्डारी लगायतले नेपाली सेनाको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित: २२ चैत्र २०७७ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App