७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलमा जितगढी युद्ध संग्रहालय बन्ने

दुई सय चार वर्षअघि नेपाली फौजले अंग्रेजलाई परास्त गरेको बुटवलको ऐतिहासिक जिगतढी किल्लाको इतिहास बचाई राख्न बुटवलमा युद्ध संग्रहालय बनाइने भएको छ । नेपाल–अंग्रेज युद्धको पुरानो झल्को दिनेगरी बुटवल उपमहानगरपालिका १ स्थित जितगढीकिल्ला नजिकै जितगढी युद्ध संग्रहालय बनाउन लागीएको हो ।  

ऐतिहासिक  शहर बटौली र जितगढीको संरक्षण र संबद्र्धन गर्दै पर्यटकीय विकासकालागि बुटवल उपनगरपालिकाले संग्रहालय निर्माण गर्न लागेको हो । करिब ३ कठ्ठा जमीनमा बन्न लागेको संग्रहालय चार तले हुनेछ । माथिका तीन वटा तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार पाइने गरी क्याफे राखिनेछ। भुई तलामा समग्र बुटवललाई चिनाउने विभिन्न सामाग्रीहरु मायाको चिनो स्वरुप राखिएको शोभिनियर सप पनि राखिनेछ। संग्रहालयले नेपाल–अंग्रेज युद्धका बेला प्रयोग भएका हतियार, युद्धकला,पहिरनसंगै रेशम मार्ग, नून, घिउको कारोबार हुने बटौलीको सांस्कृतिक झल्को दिने दाबी गरिएको छ।  

पुरानो र आधुनिक बुटवलको पहिचान झल्काउन, नयाँ पुस्ता र आगन्तुकहरूलाई त्यसबारे जानकारी गराउने गरी समग्र बुटवलको पहिचान झल्कने गरी संग्रहायलय निर्माण गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । जितगढी बुटवलको मात्रै नभइ सिंगो मुलुकको राष्ट्रिय स्वाभिमान,शान र गौरब भएको भन्दै उनले जितगढीको इतिहासलाइ जीवन्त राख्न संग्रहालय निर्माण गर्न लागीएको बताए ।  

६ करोड ८२ लाख ५० हजारको लागतमा संग्रहालय निर्माण हुन लागेको नगरपालिकाका उपमेयर गुमादेवी आर्चायले बताइन । दुइ बर्षमा संग्रहालय निर्माण सम्पन्न गर्ने गरीउपमहानगरपालिका र शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालि बीच गत माघमै ठेक्का सम्झौता भएको हो । तोकिएकै समयमा निर्माण सक्ने गरी आायोजनाको समन्वय गरिने  उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । बुटवल १ का वडा अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट पनि संग्रहालय निर्माणमा सहयोग र समन्वय गरीने प्रतिबद्धता जनाए ।

। जितगढीलाइ बटौली पर्यटनको केन्द्रका रुपमा विकास गर्दै उपसहरहरुलाई पनि जोडेर पर्यटन सक्रिट बनाउने योजना नगरपालिकाले अगाडि  सारेको छ । त्यसकालागि बुटवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकी पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडीने बताइएको छ । ५० वर्षपछिको जनघनत्वलाई ध्यानमा राखेर उपमहागरले  एकीकृत शहरी विकास गुरुयोजना बनाइएको नगरप्रमुख सुवेदीले बताए ।  

इतिहासका अनुसार बिक्रम सम्वत १८७१  पुष २१ देखि नेपाल–अंग्रेज युद्ध सुरु भएको थियो । कुमाउ–गडवाल,मकवानपुरगढी,कोशी–टिस्टा,बुटवल जितगढीमा अंग्रेज फौजसंग नेपाली फौजले युद्ध लडेका थिए । त्यसक्रममा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२  बैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाइ परास्त गरी धपाएका थिए । ऐतिहासिक र पुरातात्विक महत्वको त्यही जितगढी किल्लाको संरक्षण गर्दै यसलाइ पर्यटकीय स्थलको रुपमा विकास गर्न बुटवल नगरपालिकाले ढिलै भएपनि अभियान चलाएको छ ।

प्रकाशित: २१ चैत्र २०७७ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App