४ वैशाख २०८१ मंगलबार
समाज

होटलको पालो प्रणाली हट्यो

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसल । तस्बिरः हिमनाथ/नागरिक

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको ‘पालो प्रणाली’ हटेको छ । होटल व्यवसायीले पालो प्रणाली कायम राख्दा आएका यात्रु बिचल्लीमा परेको गुनासो आएपछि निकुञ्जले पालो प्रणाली हटाएको हो ।  

निकुञ्ज क्षेत्रमा पर्ने तीनवटा पदमार्ग मध्ये धुन्चे–गोसाइँकुण्ड पदमार्गमा अफसिजनमा पालो प्रणालीमा होटल सञ्चालन हुँदै आएको थियो । यसअघि पालो प्रणालीमा होटल सञ्चालन गरेपनि सीमित संख्यामा पर्यटक आउने हुँदा समस्या हुने थिएन । १२ वर्षदेखि व्यवसायीले पालो प्रणालीमा होटल सञ्चालन गरेपनि निकुञ्जले यसप्रति कुनैपनि कदम चालेको थिएन । यसपटक नेपाली पर्यटकको आगमन बढ्दा समेत व्यवसायीले सीमित होटल मात्र सञ्चालन गरेर यात्रुलाई समस्यामा पारेको गुनासो आएको थियो ।  

व्यवसायीसँग भएको सम्झौता अनुसार १२ महिना नै होटल सञ्चालन गर्नुपर्ने हुन्छ । व्यवसायीले आगामी दिनमा पनि पालो प्रणाली सुरु गरेको खण्डमा कारवाही गरिने प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् । बिहीबार निकुञ्ज र व्यवसायी बीच भएको छलफलले स्थान अनुसार दररेट निर्धारण गर्ने, मेनु राख्ने र ग्राहकलाई बिल अनिवार्य दिनुपर्ने निर्णय गरेको छ ।  

धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन् । जसमा क वर्गको २, ख वर्गको ८ र ग वर्गको ३ वटा छन् । साथै निजी जग्गामा समेत होटलहरू निर्माण भएका छन् ।  

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन् । उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउन पर्छ । निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले १ लाख २० हजार, ‘ख’ बर्गकाले ९० हजार, ‘ग’ बर्गकाले ६० हजार र घ बर्गकाले २० हजार रुपयाँ वार्षिक राजस्व तिर्नुपर्छ । चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ ।  

भूकम्प जानुअघि ५५ वटा होटल सञ्चालनमा थिए । भूकम्पपश्चात निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो । लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ वटा र ठाडेपाटी रुटमा १६ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय क्षेत्रहरूमा अझै पनि विदेशी पर्यटक आउन सकेका छैनन् । स्वदेशी पर्यटकको आगमन विस्तारै बढ्दै गएको छ । आएका पर्यटक गोसाइँकुण्ड गइरहेका छन् ।

प्रकाशित: २० चैत्र २०७७ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App