coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानी पर्दा वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

झन्डै १ साता धुवाँ र धुलोको तुवालोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएकोछ। जनस्वास्थ्यका लागि ‘घातक’ मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ। तर पनि वायु प्रदूषण ‘अस्वस्थकर’ तहमै रहेको छ। राजधानीको भैंसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक(अक्वा) ४ सय माथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौंको वायुको गुणस्तर (एक्वा) १६०को हाराहारीमा झरेको देखाए। 

वायु प्रदूषणको मात्रा नाप्ने इन्डेकस (अक्वा) १५० अंकदेखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ । एक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वको मापन गरिन्छ । प्रदूषण मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा व्यास भएका कणहरूलाई पीएम १० को रुपमा नापिन्छ।

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो। बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवालोका कारण गत शुक्रबार वायुमण्डलको पारदर्शिता (भिजिविलिटी) को मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर ७ किलोमिटर पुगेको छ । कमजोर भिजिविलिटीका कारण आन्तरिक हवाई उडानसमेत प्रभावित भएका थिए।

‘हावा चलेको छ , यो राम्रो हो तर यो स्थानीय वायुका कारणले गर्दा भएको हो । केही हदसम्म सक्रिय भए पनि हाल पश्चिमी वायु अत्यन्त कमजोर छ,’ उनले भने। अबका ३–४ दिनसम्म पश्चिमी वायु कमजोर नै रहने भएकाले वायुमण्डल पूर्णरूपमा सफा हुन कठिन हुने महाशाखाको अनुमान छ।  

‘बुधबारको जस्तै हल्का वर्षा भइरहेमा वायुमण्डलमा तैरिकका घातक धुलाका कारण थिग्रने जाने थिए,’ उनी भन्छन् । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको उनी बताउँछन्। मौसमविद् प्रधानाङ्ग यसपटक चर्काे वायु प्रदूषणको कारक जंगलको डढेलो रहकाले त्यसलाई रोक्न आवश्यक रहेको तर्क गर्छन्। मकनवारपुर, चितवन, पर्सा, नुवाकोटलगायत देशका अधिकांश जिल्लाका वनमा डडेलो लागेकाले त्यही धुँवा र धुलोले काठमाडौंको आकाश ढाकिएको हो।

‘पछिल्लो संकट वरपरका जिल्लाहरूमा भएको डढेलोका कारणले आएका हो। त्यसैले तत्काल डढेलो नियन्त्रण गर्न आवश्यक छ,’ प्रधानाङ्ग भन्छन् । पछिल्ला दिनमा अकस्मात बढेको प्रदूषणले आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, घाँटी खसखस हुनेलगायतका प्रदूषण सम्बद्ध एलर्जीले राजधानीवासी आक्रान्त बनेका थिए। प्रदूषणका कारण सरकारले बुधबारदेखि ४ दिनसम्मका लागि विद्यालय तथा कलेजहरूमा पठनपाठनसमेत बन्द गर्नुपरेको थियो। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावराण विभागले एक विज्ञप्ति नै निकालेर प्रदूषणको अत्यधिकस्तरले बालबालिक, जेष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू बढी प्रभावित हुने भएकाले त्यो समूह सकेसम्म घरबाहिर ननिस्कन र अन्य उमेर समूहका पनि सम्भव भएसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा विशेष सावधानी अपनाउन अनुरोध गरेको थियो।

यसैगरी विभागले आगो वाल्दा प्रदूषण बढ्ने भएकाले फोहोर बाल्ने तथा खुला रुपमा आगो बाल्ने काम नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार जनाएअनुसार हाल स्थानीय वायुुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेने र अधिकांश बाँकी भूभागमा अझै पनि तुवालो रहेको बिहीबार प्रकाशित बुलेटिनमा जनाएको छ। वायुको गुणस्तरका तथ्यांक संकलन तथा प्रसोधन गर्ने स्विजरल्यान्डमा रहेको संस्था एयर भिजुयलका अनुसार बिहीबार दिउँसो वायुको स्तर र प्रदुषित सहरको सूचीमा विश्वका झण्डै १ सय सहरमा काठमाडांै सातौ नम्बरमा रहेको छ। गत साता कााठमाडौं पहिलो नम्बरमा थियो। वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सय जनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। 

प्रकाशित: २० चैत्र २०७७ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App