coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाघ देखिएपछि राजमार्गकिनारको झाडी सफाइ

माघ अन्तिम साता कैलालीको मध्यवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थाल्यो। कैलारी गाउँपालिकाको दुधियामा स्थानीय २८ वर्षीय दुर्गा चौधरीलाई आक्रमण गरेर घाइते बनाएको बाघ त्यहाँबाट दोस्रो दिन मसुरियाको बढैपुर जंगलमा देखियो। तेस्रो दिन गौरीगंगा नगरपालिका–५ अन्डैया पुगेको बाघले स्थानीय २५ वर्षीया कला धामीलाई आक्रमण गरेको थियो। 

आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भयो। बाघले कैलारीको दुधिया र अन्डैयामा आक्रमण गरेपछि त्रसित बनेका स्थानीयले भने सडककिनारको झाडी सफा गरेका छन्। बाघको मुभमेन्ट बढ्न थालेको र सडक भएर आउजाउ गर्ने यात्रुलाई आक्रमण हुन सक्ने भन्दै स्थानीय सामुदायिक वनले सडककिनारको झाडी सफाइ गरेका हुन्।  

पूर्व–पश्चिम राजमार्गकिनारमा रहेका सामुदायिक वन र हसुलिया क्षेत्र जाने सडककिनारका वन क्षेत्रमा झाडी सफाइ गरिएको हो। सो सडक भएर आउजाउ गर्ने यात्रु डराउन थालेपछि सडककिनारको झाडी सफाइ गरिएको सामुदायिक वनका पदाधिकारी बताउँछन्। ‘पूर्व–पश्चिम राजमार्गको बढैपुर–राजीपुर क्षेत्रमा रहेका चारवटा सामुदायिक वनमा झाडी सफाइ गरिएको छ,’ सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने, ‘बाघको मुभमेन्ट बढ्न थालेपछि सडक यात्रा गर्ने यात्रुहरू डराउन थाले, त्यसैले सडककिनारको झाडी सफाइ गरिएको हो।’

उनका अनुसार गौरीगंगा नगरपालिका–४ स्थित हरियाली वसन्ता सामुदायिक वन, कालिका सामुदायिक वन र वडा नम्बर ८ को गौरी गणेश सामुदायिक वन, शिवशक्ति सामुदायिक वन तथा वडा नम्बर ९ को हरियाली सामुदायिक वन र शिवशंकर सामुदायिक वनमा सडककिनारको झाडी सफाइ गरिएको हो। ‘बाघको ओहोरदोहोरमा यात्रुले टाढैबाट देख्न सक्ने भएकाले झाडी सफाइ गरिएको हो,’ उनले भने, ‘अहिले त्यस क्षेत्रमा मोटरबाटोबाट हिँड्ने यात्रु निर्धक्कसँग आवतजावत गरिरहेका छन्।’  

सडककिनारका जंगल सफाइ फागुनमै गरिएको बताउँदै उनले भने, ‘यस क्षेत्रको सडककिनारको झाडी सफाइ फागुनमै गरिएको हो।’ सडककिनारको २५ मिटर एरिया र सामुदायिक वन क्षेत्रको २५ मिटर गरेर सडककिनारको ५० मिटर क्षेत्रमा झाडी सफाइ गरिएको उनले बताए। सडकमा हिँडडुल गर्दा बाघ टाढैबाट देखियोस् र ज्यान जोगाउन सहज होस् भनेर स्थानीय सामुदायिक वनले राजमार्गकिनारको झाडी सफाइ गरेको डिभिजन वन कार्यालय कैलालीका डिभिजनल प्रमुख रामचन्द्र कँडेलले बताए। उनले भने, ‘झ्याप्पै बाघ नआओस् भनेरै झाडी सफाइ गरिएको हो।’

प्रकाशित: २० चैत्र २०७७ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App