coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘ड्यौडिया होरी’मा गुन्जियो सुदूर

रानाथारु समुदाय ‘होरी’ खेल्दै। तस्बिर : पुष्पराज/नागरिक

नन्द यशोदाको लाल, गोकुल छोडी गयो

गोकुल छोड्नु छैन है राम्रो  

के होला हाम्रो हाल, गोकुल छोडी गयो  

राधा रुक्मणी गीत सुनाउँछिन्

खन्जरी ढोलक कृष्ण बजाउँछन्  

मुरली मनोहर आज गोकुल छोडिगयो  

यही गीत गाउँदै अहिले सुदूरपश्चिममा होली गुन्जयमान बनेको छ। टाउकोमा पगरी बाँधेर सेतो कुर्ता र जामामा सजिएका वृद्ध/युवाहरूको गोलबद्ध झुण्ड गाउँ गाउँमा यिनै र यस्तै गडवाली, काली कुमौनी ‘होरी’ (होली) गीत गाउँदै रमाइलो गर्दैछन्। एक आपसमा होलीको रंगले रंग्याउँदै ड्यौडिया भाकामा गाइएका श्रीकृष्ण, राम भगवान्का चरित्र गाथाले गुञ्जयमान बनेको छ यतिबेला सुदूर बस्ती।

पूर्वी नेपालमा एक आपसमा रंग दलेर होली मनाइने गरिए पनि सुदूरपश्चिममा पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाएर रंग दल्दै खेल्ने गरिन्छ। त्यस्तै सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारू पनि पहाडी होली जस्तै गोलवद्ध भएर भगवान्का गाथा गाउँदै खेल्ने गरेका छन्।  

द्वारपर युगमा होलीको प्रारम्भ नै श्रीकृष्ण भगवान्ले मथुराबाट सुरुवात गराएका हुन्। असत्यमाथि सत्यको विजयीका रूपमा लिइएको होलीलाई हीरण्यकस्यपकी बहिनी होलिकालाई दहन गरेको खुसीयालीमा मनाइने गरिन्छ। मानिस  र भगवान्बाट समेत आफू नमर्ने ब्रह्माबाट वरदान पाएका हीरण्यकस्यपले आफ्ना छोरा प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा हाम फाल्न पठाएका थिए। अग्निमा हाम फालेकी होलिकाको अग्नि कवच हावाले उडाउँदा उनी भष्म भएकी थिइन्, तर विष्णुभक्त प्रह्लाद भने सकुशल नै रहे। यसरी असत्यमाथि सत्यको विजयका रूपमा भगवान् श्रीकृष्णले होली पर्व मनाएको बूढापाका बताउँछन्। भगवान् श्रीकृष्णले चलाएको होली भएकाले  ब्रजभाषा शैलीमा पुरुषार्थ, कृष्णका लिला, रामका चरित्र गाथा गाइँदै होली खेल्ने गरिन्छ।  

होलिकाको पुतला बनाएर फागुन शुक्ल चतुर्दशीमा दहन गर्दै होली मनाइन्छ र पूर्णिमाको दिन विसर्जन गरिन्छ। त्यसैले पहाडमा चतुर्दशी र तराईमा पूर्णिमामा होली मनाइने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन्।  

रामले रावणलाई तथा कृष्णले मामा कंशलाई मारेको घटनालाई जोडेर गीतमार्फत् लयवद्ध तरिकाले गोलघेरामा सुदूरका पहाडी जिल्लामा होली खेल्ने गरिएको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका संस्कृतिविद् डाक्टर बद्री विनाडी बताउँछन्। ‘होलीमा होली गीत ठाउँअनुसार फरक–फरक हुने गरेको भए पनि मथुरा, कुमाउ, गडवालबाट आएकाले होलिका प्रायः गीत हिन्दी लवजका हुने गरेका छन्,’ विनाडी भन्छन्। फागु पूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेकोे पण्डित हिमालय जोशी बताउँछन्।  

पश्चिम नेपालमा ड्यौडिया होरी कहिले भित्रिएको हो भन्ने एकिन नभए पनि परापूर्व कालदेखि नै चलिआएको मान्न सकिने डोटेली भाषाविद् डा. टीएन जोशी बताउँछन्। सुदूरमा भारतको मथुराको होली प्रभाव परेको बताउँदै उनले भने,‘यहाँ खेलिने होलीमा हिन्दी लवज आउनुका साथै गीत पनि मथुरा, काली कुमाउनी, गडवाली, भाषाको हुने गरेको छ, ‘त्यही भएर उतै (कुमाउ, गडवाल र मथुरा) बाटै भित्रिएको आँकलन गर्न सकिन्छ।’

 अछामी होली  

‘सेतो जामामा पगरी बाँधेर सेतै फेटा पहिरिएर ‘अछामी होरी’ डेउडाको लयमा खेलिने गरिन्छ। अछामी होरी शिवरात्रिको दिनबाट औपचारिक सुरुआत गरिने भए पनि विशेषगरी अष्टमीको दिनबाट बेलुकीपख प्रत्येक गाउँमा होरी खेल्ने प्रचलन छ। मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ। त्यही चीरलाई पूर्णिमाको दिन होली खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ। होलीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिका डेउडा गाउने प्रचलन छ।  

अछामी समुदायको ठूलो बस्ती रहेको मंगलसेनसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको झलारीमा साता दिनदेखि निरन्तर ‘होरी’ को रौनकले छाएको छ। होलीको आगमनसँगै संस्कृति र सभ्यता झल्काउने पुराना गीत लोप भएर अश्लील गीतले गाउँ सहर गुञ्जायमान भएपछि भने केही निराशा थपिएको छ। भाइचारा र सद्भावसाथ मनाइने होली पछिल्लो समयमा रिस साँध्ने पर्व बनेको छ। होरी डेउडा दुईओटा समूहमा विभाजन भएर खेलिन्छ। यो खेल खेल्दा सफा सेतो कपडाको पहिरनमा सजिने परम्परा छ। खेलमा एक समूहमा कम्तीमा २० देखि २५ जनासम्म खेलाडी हुनुपर्छ। जति खेलाडी संख्या बढी भयो त्यति नै रमाइलो हुन्छ।

सुदूरपश्चिममा मनाइने अन्य होलीभन्दा भिन्न प्रकारको अछामी होली हो। अछाममा होलीको विषेश महŒव रहने गरेको छ। शिष्ट भाषामा मौलिक पहिरनसहित सुदूरपश्चिममा अछाममा मात्रै खेलिने गरेको संस्कृतिविद् डा. विनाडी बताउँछन्। उनले भने, ‘अछामीहरूले शिवरात्रिका दिन ‘पर्गलो’ (ध्वजा पताका) शिवमन्दिरमा चढाएर होरी (होली) को सुरुवात गर्छन्। र त्यहींबाट होली खेल्न सुरु हुन्छ।’ सेतो पोशाक लगाएर देवीको मन्दिर या देवस्थलबाट सुरु भएर हप्ता दिनसम्मै होली खेलिने गरिएको बताउँदै सांस्कृतिक समाज टीकापुर कैलाली अध्यक्ष प्रेमबहादुर रावलले भने, ‘अछामको सुवाली गाउँमा भारतको अलिगढबाट ७० वर्ष अघि आएका डण्डी स्वामीले परम्परागत होली गीतलाई परिमार्जित गर्दै काली कुमाउनी र अलिगढको लवजमा परिवर्तन गरेका थिए। तिनै अलिगढे होली गीत अहिलेसम्म गाउँदै आइएको छ।’ कैलालीको टीकापुरमा बसाइँसरेर आएका अछामीहरूले पनि समूह बनाएर हप्तौ पहिलेदेखि अछामी होरी खेल्ने गरेको स्थानीय बताउँछन्।  

अछामी राजा भान शाहीकी कान्छी श्रीमतीले आफ्नो माइती कुमाउबाट ‘कुमाउनी होरी’ दाइजो स्वरूप भित्र्याएको बूढापाका बताउने गर्छन्। कुमाउनी होरी भन्दा केही भाका र चालमा फेरबदल भए पनि सुदूरका अन्य जिल्ला भन्दा अछामी होलिले फरकपन बोकेको संस्कृतिविद्हरू बताउँछन्। सेतो कुर्ता सरवाल र सेतै पगडीमा सजिएका पुरुषहरू फूल कानमा सिउँरिएर फूलकै लामो गरि उनिएका माला लगाई होरीका गीतसँगै लामबद्ध भएर अछामी होरी खेल्ने गरिन्छ। खेलका बीचमा ढोल, ताल र नरसिंहा बाजाका तालले फरक रौनक थप्ने गर्छ।  

मरी होरी’को तयारीमा रानाथारू  

पश्चिम तराईमै बसोबास गर्ने आदिवासी राना समुदाय भने १५ दिन अघिदेखि होली मनाउन थालेका छन्। कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा एक महिनासम्म चल्ने होलीको रौनक अहिले बस्तीमा छाएको छ।    

अहिले रानाथारू समुदायको बस्तीमा रातिको समयमा ‘होरी नृत्य’ (होली नाच) रमझम छाएको छ। १५ दिन राति र १५ दिन दिउँसो खेलिने होली राना समुदायमा परम्परागत चलन हो। यही चलनअनुसार अहिले केटाकेटी रातिको समयमा होरी नाच गरेर होली पर्व मनाउन थालेका छन्। ‘यसलाई हाम्रो भाषामा ‘जिन्दा होरी’ (जिउँदो होली) भनिन्छ,’ धनगढी–११ बेलागाउँका विजय रानाले भने,‘जिन्दा होरी चीर दहन नभएसम्म खेलिने गरिन्छ।’ रानाथारूले होरी पर्व सुरु भएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा टाढा खुला क्षेत्रमा थुपार्ने गर्दछन्। उक्त चोरेको गुइँठा र तोरीको डाँठबाट होलिका बनाई चीर दहन गर्ने गरेको रानाथारू अगुवाहरू बताउँछन्। बेलागाउँमा १५ दिनदेखि होली सुरु भइसकेको विजयले बताए। 

मथुरामा श्रीकृष्णले गोपिनी र राधासँग खेलेको लयमा आधारित गीत गाउँदै रानाथारू ‘मथुरा होरी’ खेल्ने गरेका हुन्। मथुरामा कृष्ण भगवान्ले खेलेको होरीकै लयमा आफूहरू होरी खेल्ने गरेको विजय बताउँछन्। ‘होरीमा हामी युवायुवती मिलेर सँगै गोलवद्ध भई फाग, होरी गीत गाउँदै रमाइलो गर्छौ, तर यो समयमा भने रंग लगाउँदैनौ,’ उनले भने, ‘जब होलिकाको पुतला बनाई चीर दहन गरेपछि भने रंगको टीका लगाएर मात्रै दिउँसो होरी खेल्छौँ, त्यो भन्दा अघि राति मात्रै होरी खेल्ने गरिन्छ।’    

रानाथारू समुदायको प्रमुख चाड ‘होरी’ भएको बताउँदै पुनर्वास कञ्चनपुरकी साहित्यकार भुलिया राना भन्छिन्,‘माघ शुक्ल पूर्णिमादेखि सुरु भएको होली राति मात्रै खेल्ने गरिन्छ। जब फागु पूर्णिमाका दिन चीर दहन गरेपछि भने दिउँसो खेल्ने गरिन्छ।’ यसरी चीर दहन पछि दिउँसो खेलिने होलीलाई रानाथारू भाषामा ‘मरी होरी’ भन्ने गर्छन्। ‘होलिकाको चीर दहनपश्चात् (होलिकालाई मारेरको खुसीयालीमा) मरी होरी भन्दै दिउँसो खेल्ने गरिएको हो,’ राना कला एवम् संस्कृति सम्बद्र्धन समाज बेलादेवीपुर कैलाली अध्यक्ष महावीर राना बताउँछन्। 

राना पहिरन (पुरुषले झगयी, फेटा र महिलाले गोट, घँघरिया, मँगिया, उनिया, घुँघट, रुखा) मा सजिएर ढोल बजाउँदै गोलबद्ध भई कृष्ण चरित्र, राम चरित्र, देवी देउताका वीरताका गाथा गाउँदै खेल्ने गरिन्छ। चीर दहनपछि मात्रै रंगको टीका लगाउने गरिए पनि त्यो भन्दा अघि भने रानाथारूले रंगबिना गीत गाएरै होली खेल्ने गर्छन्।

प्रकाशित: १५ चैत्र २०७७ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App