coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

स्थानीय तहमा विपद् पूर्वयोजना नहुँदा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्।

विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन विनोदबहादुर चन्दले बताए। नगरपालिकाले रेडक्रसको सहयोगमा नगरपालिकाका ११ वटै वडामा प्रतिकार्य टोलीसमेत गठन गरी उनीहरूले घरघरमा पुगेर विपद् व्यवस्थापनका उपायमा छलफल र जानकारी गराउन थालेका छन्।

विपद्बारे सचेतना फैलाउँदै वडामा विपद्का योजना बनाउन सहयोग गर्न थालेको वडा ४ का अध्यक्ष मोहनबहादुर चन्दले बताए।विपद् व्यवस्थापन, संरक्षण, आपत्कालीन स्वास्थ्य र कोभिड–१९ बारे स्थानीयलाई जागरुक गराउन आवश्यक भएकाले स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी अग्रसर हुन थालेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। 

जनप्रतिनिधिले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य सरोकारका रूपमा अघि बढाउनुुपर्ने नगरप्रमुख थापाको भनाइ छ। नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर विपद् न्यूनीकरणका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ। विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको रेडक्रस बैतडीका बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत तेज पाण्डेले बताए। कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि सबै वडा क्वारेन्टिन व्यवस्थापनदेखि अन्य व्यवस्थापनमा जुट्न आवश्यक भएको उनी बताउँछन्।

व्यवस्थापनको योजना नहुँदा विपद् न्यूनीकरणका क्रियाकलाप प्रभावित भएकाले योजना बनाएर अघि बढ्न आवश्यक भएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए। जिल्लास्तरमै विपद् व्यवस्थापनको योजना बनाएर विपद् घटाउन स्थानीय तहको महŒवपूर्ण भूमिका भएको उनले बताए। नगरपालिकामा रहेका जीर्ण विद्यालयले बालबालिकालाई जोखिम भएकाले नगरपालिकासँग मिलेर भवन निर्माण, मर्मतका काम समेत गरिएको छ। विद्यार्थीलाई विपद्बारे सचेतना, बालकेन्द्रित विपद् अल्पीकरण योजना, सरसफाइ योजना, विपद् व्यवस्थापन, स्थानान्तरण योजना र सुरक्षित स्थान पहिचान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए।

बस्ती व्यवस्थापन, वडावडामा बहुप्रकोप नक्सांकन, आपतकालीन कोष, पूर्वसूचना प्रणाली व्यवस्थापन, ग्रामीण अर्थिङ प्रणाली तथा सडक निर्माण मापदण्डलगायतका योजना बनाउन आवश्यक भएको दशरथचन्द नगरपालिकाका विपद् फोकल व्यक्ति चन्दले बताए। ‘यस नगरपालिकामा पटकपटक विपद्ले क्षति पुर्‍याउने गरेकाले हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘त्यस क्षतिलाई न्यूनीकरण गर्न विभिन्न योजना बनाएर अघि बढेका छौं।’

३ सय घरले बनाए विपद् पूर्वतयारी योजना

दशरथचन्द नगरपालिकाभित्रका करिब ३ सय घरले विपद् पूर्वतयारी योजना बनाएका छन्। विपद्बाट सुरक्षित हुुने विषयमा परिवारका सदस्य मिलेर पूर्वतयारी योजना बनाएका हुन्। घरको जोखिम, विपद् आउँदा सुरक्षित स्थान पहिचान, झटपट झोलालगायत अन्य सुरक्षाका उपायबारे घरपरिवारमै बसेर विपद् पूर्वतयारी योजना बनाएको दशरथचन्द नगरपालिका–३ का मोहनबहादुर क्षेत्रीले बताए। विपद्को जोखिमबाट बच्न प्रत्येक घरपरिवार सचेत भए मात्र धनजनको क्षति कम हुन सक्ने भएकाले पारिवारिक विपद् पूर्वतयारी योजना बनाउन आवश्यक भएको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत तेज पाण्डेले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०७७ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App