coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनाथमाथि ‘अनाथ आश्रम’ मै बलात्कार

जुम्लाकी अभिभावक विहिन रमिता केसी (नाम परिवर्तन) लाई नियतीले डोर्याउँदै दाङ ल्याई पुर्यायो । अभिभावकत्व ग्रहण गरेर दाङ ल्याएका ठूलोबुवा नाता पर्ने एक ब्यक्ति उनका एकमात्रै भरोसाका केन्द्र थिए । ठूलोबुवाले पनि भरोसा तोडे, रमिताको अस्मिता लुट्न खोजे । अभिभावक कहलिएका ठूलोबुवा नै यौन पिचास बनेपछि उनि असहाय बालबिकास केन्द्रीय कार्यालय (अनाथ आश्रम) मा पुगिन् । 

तर उनको पालनपोषण गर्ने जिम्मा लिएको आश्रम पनि उनका लागि यौन प्यास मेटाईदिने थलो बनिदियो । आश्रमकै मालिकले उनलाई पटक पटक बलात्कार गरेको सुनाउने १४ बर्षिया रमिता अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सेभहाउसबाट न्याय माग गरिरहेकी छिन् ।

 आँफू माथि बलात्कार गरेको दाबी सहित बिभिन्न संघसंस्थाको सहयोगमा ति आश्रमका सञ्चालक बिरुद्ध रमिताले बलात्कारको जाहेरि दिएकी छिन् ।  

घर जुम्ला । बाबु आमा को हुन् रमितालाई थाहा छैन । जुम्लामा बेसहारा बनेकी रमितालाई दाङ शान्तिनगरका ठूलो बुबा पर्ने एक ब्यक्तिले आँफूले पालनपोषण गर्ने भन्दै ल्याए । ५ बर्ष सम्म ठूलो बुवाले आफ्नै छोरी सरह मायाँ दिए । 

तर ५ बर्ष पछि ठूलो बुवाको मनमा पाप पलाउँदै गयो । श्रीमतीको निधन भएपछि ठूलो बुवा नाता पर्ने ति ब्यक्तिले उनै रमितालाई बिवाहको प्रस्ताव राखे । यो प्रस्ताव यौन संग जोडिएको रहेछ । उनले रमितालाई हातपात गर्न खोजे ।

 ‘घरमा ल्याएर राखेको ५ बर्ष पछि ठूलो बुवा नाता पर्नेले विवाह गर्छु भनेर अनैतिक काम गर्न खोजे,’ रमिताले जिल्ला प्रहरी कार्यालय दाङमा दिएको निवेदनमा उल्लेख छ ‘अनि म त्यसको दुई दिन पछि घर छोडेर भागेँ ।’ घर छोडेर निस्केपछि उनि अलपत्र परिन् ।  

प्रहरीले उनलाई भेट्टायो । आफ्नो सबै कथा सुनाएपछि प्रहरीले रमितालाई २०७५ जेठ १ मा असहायहरुको पालनपोषण गर्दै आएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ स्थित असहाय बालबिकास केन्द्रीय कार्यालय (अनाथ आश्रम) मा पुर्याईदियो । 

आश्रम सञ्चालक बिष्णु चौधरीले अधिकारकर्मी, प्रहरी लगाएत सरोकार राख्ने सबैको रोहबरमा रमिताको जिम्मा लिए र आश्रममा लिएर गए । रमिताका अनुसार उक्त आश्रममा ७ बालिका र ९ असहाय बालकहरु छन् । रमिताले सोही आश्रमको सहयोगमा तुलसीपुर स्थित पब्लिक ज्ञान ज्योती माविमा पढ्न पनि थालिन् । 

आश्रममा रहेका बालबालीकाहरुको अभिभावकत्व लिएर सञ्चालक बिष्णु चौधरीको मनमा पनि रमिता प्रति पाप पलाउँदै जान थाल्यो ।  

प्रत्यक शुक्रबार चौधरीले आफ्नो कोठामा बोलाएर मोबाईलमा फिल्म हेर्न लगाउने र यौनजन्य कृयाकलापहरु देखाउन थाले । ‘हामीहरुलाई शुक्रबार फिल्म हेर्न बोलाउने अनि आफ्नो यौनांगहरु खेलाउन लगाउँथे,’ रमिताको मुद्धामा उल्लेख छ ‘हाम्रो शरिरमा पनि उनले हात लगाउँथे ।’ 

रमिताले सञ्चालकको यो अनैतिक कार्यको प्रतिकार गर्न खोज्थिन् । तर उनले चेतावनी दिएर तर्साउँथे । ‘मैले अरुलाई भनिदिन्छु, यसो नगर्नुस् भन्थेँ,’ रमिताले लेखेकि छिन् ‘कसैसंग भनेपछि गोली हानेर उडाईदिन्छु भन्थे ।’ सञ्चालक चौधरीको यो रासलीला दोहोरिईरह्यो ।  

उनले रमितालाई मात्रै एक्लै आफ्नो कोठामा बोलाउन थाले । तर उनले साथी लिएर जाने गरेको बताईन् । ‘म अरु साथीहरुलाई लिएर जाँदा अरु साथीहरुलाई तिमीहरु किन आएको ? भनेर गाली गर्थे,’ उनले भनिन् ‘एक रात अरुलाई रात परिसक्यो तिमीहरु जाओ भनेर अरु सबै साथीहरुलाई पठाईदिए, मलाई एक्लै बस्न भने ।’ 

रमिता ०७७ कात्तिक महिनाको त्यो रात आश्रममा आश्रय दिएका उनै मालिकबाट लुटिईन् । ‘ राम्रो फिल्म छ हेरेर जालिस् भनेर मलाई रोके,’ रमिताले भनिन् ‘अनि मलाई बलात्कार गरे, रोई कराई गरेँ, तर कसैलाई भनेपछि मार्ने धम्की दिए ।’ बेसहारा रमितालाई सञ्चालकको बिरुद्ध बोल्ने आँट आएन ।  

फलतः उनि त्यस पछि चार पटक सम्म बलात्कृत भईन् । ‘त्यो दिन पछि म चार पटक बलात्कारमा परेँ,’ उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ‘मलाई ज्यान मार्ने धम्की दिएकाले मैले यो कुरा कसैलाई पनि भन्ने हिम्मत गरेन ।’ 

केहि दिन अघि (फागुन अन्तिममा) पनि उनै सञ्चालक बिष्णुले पुनः रमितालाई राती आफ्नो कोठामा बोलाए । अनि उसैगरि फेरी यौन प्यास मेटे । पटक पटकको बलात्कार श्रृंखला पछि रमिताले उक्त आश्रम छोड्ने निधो गरिन् । 

बिद्यालयमा चलिरहेको परिक्षा दिएर उनि आश्रमबाट भागिन् ।  

ओरेक नामक संस्था संग निकटस्थ एक महिलाको शरणमा पुगेकी उनलाई ओरेक लगाएतका संघसंस्थाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सेफ हाउसमा पुर्याएका छन् । 

नागरिक समाज, ओरेक, ईन्सेक लगाएतका आधा दर्जन संघसंस्थाहरुको सहयोगमा रमिताले बिष्णु बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको मुद्धा दर्ता गरेकि छिन् । 

 ‘असहायहरुको संरक्षण , पालनपोषणका लागि भनेर खोलिएको अनाथ आश्रममा उनै अनाथ असहाय बालिकामाथि भएको यो घटना ज्यादै निन्दनीय हो,’ रमिताको मुद्धामा सहयोग गरेका जिल्लाका एक मानव अधिकारकर्मीले भने ‘अनाथ आश्रम भनेर सामाजिक संसथा चलाउने तर तिनै आश्रममा रहेका अनाथहरुमाथि बलात्कार गर्नेलाई कडा कारबाही हुनु पर्छ ।’  

यता जिल्ला प्रहरी कार्यालयले उक्त आश्रमका सञ्चालक चौधरी बिरुद्ध जाहेरी परेको र अनुसन्धान सुरु गरिएको बताएको छ । ‘प्रहरीमा पिडितको जाहेरी आएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले भने ‘हामीहरुले यो घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेका छौँ ।’

साथै रमिता बाहेक त्यहाँ आश्रममा रहेका अन्य बालिकाहरु माथि पनि यौन शोषण भए नभएको बारेमा पनि अनुसन्धान थालिने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जिल्ला बालकल्याण समितिका अध्यक्ष रहने व्यवस्था छ । 

‘आरोपि पक्राउ भैसकेपछि त्यहाँका अन्य बालिकाहरु माथि यौन दुरब्यवहार भए नभएको अनुसन्धान थाल्छौँ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘यदि अन्य बालीकाहरु माथि पनि त्यस्तै खालको ब्यवहार भएको रहेछ भने उनिहरुलाई अन्यत्र बसोबासको व्यवस्थापन गरिन्छ, तर अन्य बालिकाहरुमाथि यौन दरब्यवहार नभएको भनेर हामी ढुक्क हुने अवस्था भए उनिहरु त्यहिँ बस्ने हुन्छ ।’

बलात्कार आरोपित आश्रम सञ्चालक बिष्णु केहि बर्षको बलात्कारको ठूलो घटनामा मुछिएका थिए । बिजौरीमा देउखुरीकी एक युवती माथि भएको सामुहिक बलात्कारमा ति युवतीको ज्यानै गएको थियो । उक्त घटनाका आरोपि बिष्णु फरार भएका थिए । उनलाई जिल्ला अदालतले दोषी प्रमाणित गरिदिएको थियो । अदालतले दोषी सावित गरिदिएपछि उनि कैद बस्न आएका थिए । कैद सजाय भोगिरहेकै बेला सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यसपछि उनि निस्कीएका थिए ।      

 

प्रकाशित: १२ चैत्र २०७७ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App