७ वैशाख २०८१ शुक्रबार
समाज

बौद्धनाथ क्षेत्रमा टिकटक खिच्न निषेध

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ क्षेत्रमा सामाजिक सञ्जाल टिकटक भिडियो खिच्न निषेध गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि टिकटक भिडियो खिच्न निषेध गरेको हो ।

भिडियो बनाउन आउने टिकटक प्रयोगकर्ताका कारण बौद्धनाथ क्षेत्र भ्रमण गर्न आइपुगेका आगन्तुकलाई अवरोध पुगेको गुनासो आएपछि सूचना बोर्डसमेत राखिएको जानकारी समितिका कार्यकारी निर्देशक वसन्त लामाले गराएका थिए । ‘धार्मिक र शान्तिको प्रतीकका रूपमा स्थापित बौद्धनाथ क्षेत्रमा टिकटक भिडियो बनाउने क्रममा होहल्ला भएको गुनासो आएको छ,’ उनले भने, ‘टिकटक भिडियो बनाउँदा मोबाइलबाट चर्को स्वरमा गीत–संगीत बजाउँदा आगन्तुकहरूलाई समस्या भएकाले सूचना बोर्डमार्फत चेतावनी दिन बाध्य भएका हौं । टिकटक प्रयोगकर्ताले भिडियो खिच्ने लोभमा धर्मावलम्बी र आगन्तुकलाई अवरोध पुर्‍याउनु गलत भएकाले यसलाई निरुत्साहित पार्न निषेध गरेका हौं ।’

सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ता भिडियो बनाउन विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा भीड लाग्ने गरेका छन् । टिकटक भिडियो बनाउन बौद्धनाथ क्षेत्र पुगेका प्रयोगकर्ताका कारण धार्मिक गतिविधिसमेत प्रभावित हुने गरेको तर्क उनले गरे । ‘होहल्ला र भीड बढेपछि हामीले स्थानीय बासिन्दा र प्रहरीसँग सहकार्य गरेर यो निर्णय लिएका हौं,’ उनले भने, ‘यसलाई कार्यान्वयन गराउन सिसिटिभी र १२ जना सुरक्षा गार्ड खटाइएको छ । टिकटक खिचेको पाइएमा सर्वप्रथम चेतावनी दिएर भिडियो हटाउन लगाउने छौं । पटक–पटक नियम नमान्नेलाई पर्यटक प्रहरीले कारबाही गर्नेछ ।’

प्रकाशित: ११ चैत्र २०७७ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App