coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने

तस्बिर : भीम/नागरिक

बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दीपक जैसी(दुर्गाप्रसाद तिम्सिना)को उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका हुन् । मन्त्री कार्कीले मंगलबार इलामका सिडिओ धु्रवबहादुर खड्कालाई टेलिफोन सम्पर्क गरी दीपकको उपचार गर्ने बारे अन्य व्यवस्था मिलाउन भनेका छन् । ‘दीपकको अवस्था अहिले के छ । उहाँलाई कहाँ लगेर कस्तो उपचार गर्नुपर्ने हो भन्ने जानकारी लिन मन्त्रीले निर्देशन दिनुभएको छ,’ सिडिओ खड्काले नागरिक न्यूजसँग भने, ‘मैले दीपकको घरमा टोली पठाएर विवरण लिन निर्देशन गरिसकेको छु।’  

खड्काले दीपकका भतिजा गोपाल शर्मा तिम्सिनालाई सम्पर्क गरी दीपकको उपचार गराउने जानकारी गराइसकेका छन् । ‘जिल्लाभित्रैका अस्पतालमा उपचार गर्ने हो कि, बाहिर लैजानुपर्ने हो, चिकित्सकसँग आवश्यक परामर्श गर्न परिवारलाई अनुरोध गरेको छु,’ खड्काले भने, ‘दीपकलाई जस्तो उपचार आवश्यक पर्छ, त्यही उपचार प्रदेश सरकारले गर्ने मन्त्रीज्यूको भनाइ छ ।’  

मन्त्री कार्कीले दीपकलाई क्षतिपूर्ति भराउन प्रदेश सरकारले पहल गर्नेसमेत बताएको खड्काले जनाए । ‘यतिका वर्ष जेलमा बस्दा दीपकले पाउनुपर्ने अधिकार र क्षतिपूर्तिका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने पनि मन्त्रीले बताउनुभएको छ,’ खड्काले भने, ‘जिल्ला प्रशासनले पनि त्यसमा आवश्यक सहयोग गर्छ ।’  

व्यक्ति हत्या अभियोगमा ४० वर्षसम्म सुनुवाई बिनै भारतको जेलमा बसेका दीपक आइतबार आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक आइपुगेका थिए । दीपक मानसिक रूपमा बिरामी छन् । उनी ज्यादै थोरै बोल्छन्, जीउ थरर्र कामेको देखिन्छ । चिकित्सकले दीपकमा ९ वर्ष ९ महिनाको बालकले गर्ने व्यवहारमात्र रहेको रिपोर्ट दिएका छन् । जेलमा औषधि उपचार पाइरहेका दीपकले घर आएपछि औषधि खान पाएका छैनन् । उनले खाने औषधि नै थाहा नभएको र जेलले पनि औषधि नपठाइदिएको दीपकका भतिजा गोपाल शर्मा तिम्सिनाले जानकारी दिए । परिवारमा धेरैजना मानसिक बिरामी रहेको र आर्थिक अवस्था पनि दयनीय भएकाले दीपकलाई पुनस्र्थापना गर्न निकै जटिल भइरहेको छ ।

दीपकलाई मानसिक समस्या रहेको भनी कोलकाता हाइकोर्टले जेलबाट रिहा गर्न गत बुधबार आदेश दिएको थियो । आदेशअनुसार उनी शनिबार बिहान साढे ११ बजे कोलकातास्थित दमदम जेलबाट छुटेका हुन् । दीपकको मुद्दामा अदालतले फैसला गरेको छैन । ६÷६ महिनामा दीपकको स्वास्थ्य अवस्था जानकारी गराउन अदालतले आदेश गरेको थियो । सोमबार अदालतले दीपकको परिवारले क्षतिपूर्ति माग गरे त्यसको व्यवस्था मिलाउन पश्चिम बंगाल सरकारको नाममा आदेशसमेत जारी गरेको छ ।

दीपकको नागरिकता छैन  

२०१७ साल साउनमा जन्मेका दीपक २०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मंगलबारे बजार हिँडेका थिए । उनी कहाँ छन् भन्ने कसैलाई थाहापत्तो थिएन । घरबाट २० वर्षको हुँदा हिँडेका दीपकको नागरिकतासमेत छैन ।  

‘त्यतिबेला अलि ढिलोगरीमात्र नागरिकता बनाउने चलन रहेछ,’ दीपकका काकाका छोरा प्रकाशले भने, ‘दाजुको नागरिकता बनाउन भ्याइएको रहेनछ ।’ २०२४ सालमा दीपकका बाबु चम्पाखरको निधन भयो । अहिले आमा धनमायाको नागरिकता रहेको र आमा तथा परिवारको नागरिकताका आधारमा दीपकको नागरिकता बनाउनुपर्ने अवस्था रहेको प्रकाशले बताए । सिडिओ खड्काले प्रक्रिया पु¥याएर अहिले पनि दीपकको नागरिकता बनाउन सकिने बताए । ‘उपचार सहयोगका लागि पनि नागरिकता चाहिने हुन्छ,’ उनले भने, ‘परिवारको कसैको नागरिकता भए त्यसको आधारमा नागरिकता प्रदान गर्न सकिन्छ ।’  

दीपकको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाह  पनि भएको छैन । ८६ वर्षीया आमा धनमाया भन्छिन्, ‘छोराको व्रतबन्ध, बिहे सबैथोक गर्न बाँकी नै छ । तर, बिरामी भएर आएछ, पहिला उपचार गर्नुपर्छ अनि अरू काम गरुँला ।’  

प्रकाशित: १० चैत्र २०७७ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App