coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अझै बनेन खुलामञ्चको समाधान योजना

फाइल तस्बिर

चारैतिरबाट अतिक्रमणको चपेटामा परी साँघुरिएको खुला मञ्चलाई संरक्षण गर्ने दीर्घकालीन योजना अझै बन्न सकेको छैन। काठमाडौंको मुटुमै अवस्थित खुला मञ्च संरक्षण गर्ने विषयमा अभियन्ताहरूले काठमाडौं महानगरपालिकालाई खबरदारी गर्दै आइरहे पनि महानगरले दीर्घकालीन योजना अघि सार्न नसकेको हो।

हालै महानगरले खुला मञ्च खाली गर्ने भने पनि दीर्घकालीन समाधान खोजेको छैन। झाराटारी योजना बनाएर खाली गर्न थालिएकाले भविष्यमा खुला मञ्च खोस्ने पुरानै प्रवृति हट्न नसक्ने अभियन्ताहरूले बताए। उनीहरूले महानगरपालिकाले खुला मञ्च संरक्षणको सम्बन्धमा छुट्टै नियम बनाएर सधैंलाई खुला राख्नुपर्ने माग राखे। खुला मञ्च संरक्षण अभियन्ता प्रेमबहादुर थापाले खुला मञ्च राजधानीको केन्द्र भएकाले यो ठाउँ आम सर्वसाधारणका लागि खुला गर्नुपर्ने बताए।

‘राजाहरूको पालामा पनि खुला मञ्च खुलै थियो, खुला ठाउँ सहरका मानिसको अधिकार हो, पहिलेदेखि नै जनताले त्यही गएर आवाज उठाउँथे, विभिन्न सांस्कृतिक कार्यक्रम पनि त्यही हुन्थे,’ उनले भने, ‘तर पछिल्लो समय शासन प्रणाली फितलो हुँदा सर्वसाधारणले अधिकार माग्ने र सांस्कृतिक कार्यक्रम गर्ने थलो साँघुरियो।’ हाल खुला मञ्चको आधा भाग बसपार्कले ओगटेको छ। लामो समय बसपार्क सार्ने विषयमा विवाद भएपछि बल्ल काठमाडौं महानगरपालिका जागेको छ। यद्यपि बसपार्क र खुला मञ्च ओगटिएका संरचना हट्न सकेको छैन।

महानगरपालिकाले बसपार्कलाई हाल भ्युटावर बनिरहेको पुरानै ठाउँमा सारेर खुला मञ्च खाली गर्ने योजना तय गरेको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विद्युत् प्राधिकरण, दरबार हाई स्कुल निर्माण गरेको चिनियाँ कम्पनी र वीर अस्पतालले ओगटेको खुला मञ्चको केही भाग खाली गराउने जानकारी दिए। उनले भने, ‘एक महिनाभित्र खुला मञ्च साबिकको खुला मञ्चका रूपमा विस्तार हुन्छ, हाल त्यही विषयमा महानगरले काम अघि बढाएको छ, खुला ठाउँको संरक्षण गर्ने जिम्मा महानगरको हो।’

अभियन्ता गणपतिलाल श्रेष्ठले महानगरपालिकाले खुला मञ्चको दीर्घकालीन समस्या समाधानको उपाय खोज्न नसकेको बताए। उनले महानगरकै अधिकार क्षेत्रभित्र रहेको खुला मञ्च महानगरले नै बिगारेको आरोप लगाए। पछिल्लो समय विवाद सल्टाउने गरी मात्रै महानगरपालिकाले बसपार्क सार्ने आश्वासन दिएको उनको भनाइ छ। ‘खुला मञ्च जोगाउन काठमाडौं महानगरले छिटो पहल गरेन, सर्वसाधारणले सडकमा सभा सम्मलेन गर्दै आइरहेका छन्,’ उनले भने, ‘रत्नपार्कको चार कुनामा व्यापार पनि महानगरले नै चलाउन दिएको छ, पालेघर र अनावश्यक ठाउँमा शौचालय राखेको छ, यसलाई हटाउनुपर्छ।’

उनले भ्युटावरको काम रोकेर त्यसको तलपट्टि बसपार्क बनाउँदा उचित हुने बताए। महानगरपालिकाले भने भ्युटावर निरन्तर निर्माण गर्ने बताएको छ। महानगरपालिकाका प्रवक्ता डंगोलले हाल भइरहेको बसपार्क क्षेत्रमा पिक एन्ड ड्रपको नियम लागु गर्ने र पुरानो बसपार्कको आधी भागमा लामो दूरीका बस पार्किङ गरिने बताए। ‘खुला मञ्च खाली गर्ने अभिभारा महानगरकै हो, टुँडिखेलको प्रयोग सेनाले गर्दै आइरहेको छ,’ उनले भने, ‘सकेसम्म यी दुई ठाउँलाई खाली राख्ने हाम्रो योजना छ।’

प्रकाशित: ६ चैत्र २०७७ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App