टीकापुर नगरपालिकामा रहेका भूमिहीनलाई आफ्नो पक्षमा पार्न भूमिसम्बन्धी समस्या समाधान आयोगका दुई पक्ष सक्रिय देखिएका छन्। आयोगका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि अगस्त अधिकारी र कैलाली जिल्ला अध्यक्ष दीपकप्रसाद देवकोटा सक्रिय देखिएका हुन्। केन्द्रीय प्रतिनिधि अधिकारीले बस्तीमै पुगेर भूमिहीन सुकुम्बासीलाई भेटघाट गरेका छन्। उनीसँगै टीकापुर नगरपालिका–१ का अध्यक्ष गंगाराम आचार्य, कार्यपालिका सदस्य अक्कल माझी, नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष खडक शाह, एमाले नेता भैरव रावललगायत एकतानगर शिविर पुगेका थिए।
केन्द्रीय प्रतिनिधि अधिकारीको टोली बस्तीमै पुगेको तेस्रो दिन अध्यक्ष देवकोटाले केही भूमिहीन सुकुम्बासीका अगुवालाई टीकापुरस्थित सिद्धार्थ होटलमा बोलाएर भेटघाट गरेका छन्। भूमिहीन सुकुम्बासीका अगुवासँग सिद्धार्थ होटलको हलमा भएको भेटघाटमा नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताको समेत सहभागिता रहेको थियो। त्यहाँ टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलसमेत उपस्थित थिए।
आयोगका कैलाली अध्यक्ष देवकोटा स्थानीय तहका पदाधिकारीका लागि आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको अवधारणा र प्रक्रियागत पक्षविषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न टीकापुर पुगेका थिए। सो कार्यक्रममा आयोगको कामकारबाहीबारे जानकारी दिँदै अध्यक्ष देवकोटाले केन्द्रीय प्रतिनिधि अधिकारीको सक्रियताप्रति असन्तुष्टि व्यक्त गरे। उनले केन्द्रीय प्रतिनिधिको काम सहजीकरण गर्ने मात्रै भएको बताउँदै कार्यकारी भूमिका नभएको बताए।
उनले आयोगको कामकारबाहीमा केन्द्रभन्दा जिल्ला र जिल्लाभन्दा स्थानीय तह र वडा कार्यालय बढी जिम्मेवार रहेको बताए। ‘तपाईं/हामी बढी जिम्मेवार छौं,’ टीकापुर नगरपालिकाका जनप्रतिनिधिलाई सम्बोधन गर्दै उनले भने, ‘अरू कोही आएर केही हुँदैन। सबै कुरा हामीले गर्ने हो। यो तपाईंहाम्रो जिम्मेवारी हो।’
नागरिककर्मीको जिज्ञासामा अध्यक्ष देवकोटाले केन्द्रीय प्रतिनिधि अधिकारीले आफ्नो काम, कर्तव्य र अधिकार नचिनेर राजनीति गर्दै हिँडेको आरोप लगाए। ‘उहाँले आफूलाई नचिनेको हो कि जस्तो महसुस भइरहेको छ,’ उनले भने, ‘दिने हामीले हो। हामी काम गर्दै हिँडेका छौं। उहाँ राजनीति गर्दै हिँड्नुभएको छ।’
केन्द्रीय प्रतिनिधि अधिकारीले अध्यक्ष देवकोटाको आरोप अस्वीकार गरेका छन्। उनले नागरिककर्मीसँगको टेलिफोन कुराकानीमा आफू राजनीति गर्न नभई आयोगको काम कारबाहीबारे जनतालाई जानकारी दिन सुकुम्बासी बस्ती पुगेको बताए।
‘म आयोगको प्रतिनिधि हुँ। आयोगकै बारेमा जानकारी दिन त्यहाँ पुगेको हुँ,’ उनले भने, ‘मैले राजनीति गरेको छैन।’ उनले आयोगका कैलाली अध्यक्ष देवकोटाले जेजस्तो आरोप लगाए पनि सहमतिमै काम भइरहेको बताए। उनले आफूहरूबीच कुनै खालको विवाद नरहेको दाबी गरे। अध्यक्ष देवकोटाले समेत आफूहरूबीच विवाद भने नरहेको बताएका छन्।
टीकापुर नगरपालिका–१ र २ मा मात्रै झन्डै २ हजारभन्दा बढी भूमिहीन सुकुम्बासी घरपरिवार बस्दै आएका छन्। उनीहरूमध्ये मुक्त कमैया र पहाडी जिल्लाबाट बसाइँ सरेर आएकाहरू छन्। तीमध्ये धेरैजसो मतदाता छन्। तिनै मतदातालाई आफ्नो प्रभावमा पार्न आयोगका दुवै पक्षले प्रयास गरिरहेका छन्।
प्रकाशित: ५ चैत्र २०७७ ०३:१६ बिहीबार