प्राय: घर खण्डहर भईसकेका छन् । कतिका अवशेष मात्र बाँकी छन् । केही सग्लै देखिन्छन् ।
भग्नावशेष घरका भित्ताहरुमा कांग्रेस र एमालेका हस्तलिखित नाराका ‘पेन्टिङ’हरु अझै मेटिईसकेका छैनन् । तल नदी किनारमा क्रसर उद्योगको मेसिन र ट्रिपरका आवाज परै सम्म सुन्न सकिन्छ ।
खण्डहर बस्तीमाथि उभिएर एकोहोरो क्रसरका आवाज सुन्दै गर्दा जो कोहीलाई पनि कुनै नदी छेउको अनकन्टारमा आईपुगेको आभास हुन्छ ।
व्यापारिक चहलपहलमा चक्चकी मच्च्चाएर नाउँ कमाउँदै कुनै बेला जिल्लै हल्लाएको तामाकोसी नदी किनारको यही खण्डहर जमिन आज मानिस हिँड्डुल नगर्ने एकलासे बाटो बनेको देख्दा नदी आसपासको प्रकृति समेत अचम्म मान्दो हो ।
हो, जिल्लाको ठूलो क्षेत्र ओगटेको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्र गुमुखोला बजारको यही जमिनमा ठडिएका घरहरु १५ वर्ष यता उठ्न सकेका छैनन् । तामाकोसी नदी किनारमा रहेको गुमुखोला बजारबारे थाहा नहुने ५० को दशकअघि जन्मिएको पुस्ता दोलखामा सायदै होला ।
उक्त दशकअघि जन्मिएका दोलखा उत्तरका जो कोही पनि यो बजारको चमक र चहलपहलको साक्षी छन् । दोलखा उत्तरका २२ गाउँको केन्द्र यो बजारलाई पञ्चायतकालमा कांग्रेस र एमालेले पञ्चायत विरोधी आन्दोलनका निम्ती राम्रै उपभोग गरे । बहुदलभरी तिनै कांग्रेस, एमाले अनि राप्रपाले चुनावी आमसभा गर्ने थलो र बिद्रोही माओवादीले समेत पटक पटक आफ्नो गतिविधि गर्ने सेल्टर बनाए । सबै दलका नारा बजारका भग्नावशेषहरुमा अझै भेटिन्छन् ।
समयक्रम र परिस्थतीले कुनै समयको गुलजार गुमुखोला बजारलाई आज आफ्नो नाम निसान मेटिने गरी ‘कोमा’ मा पुर्याइदिएको छ ।
हुन त वि.सं २०२५ सालदेखि जुर्मुराएको गुमुखोलाको इतिहास ५० वर्षभन्दा लामो छैन । अहिलेको कालिञ्चोक गाउँपालिका ७ मा रहेको यो बजार बस्नुमा ठ्याक्कै पारीपट्टी गौरीशंकर १ जुँगुमा रहेको पिखुतीमा थालिएको हाटको प्रसंग जोडिन्छ ।
२०२२ साल तिर दोलखा उत्तरको सुरीदोभान आसपासमा पहिरो चल्यो । त्यहाँ व्यवसाय गरेर बसेका कायस्थ परिवारको पसल र घर बगायो । बनेपाका कायस्थहरु व्यवसायका सिलसिलामा दोलखाको सुरीदोभान, शेराबेसीसहित बिभिन्न भागमा पुगेका थिए । तिनै मध्येका थिए मानकाजी कायस्थ र डबलकाजी कायस्थ । मानकाजी दाजु र डबलकाजी भाई हुन् । पहिरोले पसल र घरबार बगाएपछि मानकाजी सुरी गाउँ उक्लिए । डबलकाजी दोबाटो खोज्दै सदरमुकाम तर्फ फर्कदै थिए । जुँगुको पिखुतीमा आउँजाउँ गर्नेहरुका लागि बास बस्न बनाईएको एउटा पाटी थियो । त्यतीखेर व्यवसायका लागि सबैको केन्द्र पर्ने दोबाटो रोज्ने चलन हुन्थ्यो । उनी त्यहीं बस्न थाले ।
उनी बसेको स्थान तितेपातीको घारी थियो । डबलकाजीले स्थानीय एक खडका परिवारको उक्त जग्गा खरिद गरेर घर बनाए । उनले त्यहाँ व्यवसाय शुरु गरेपछि मैते तामाङ, बखतबहादुर तामाङ र धनबहादुर तामाङले पनि पिखुतीमै घर बसाले ।
बनेपाबाट व्यापारको सिलसिलामा दाजुभाईसहित दोलखा छिरेका डबलकाजीले एउटा जुक्ती निकाले– ‘पिखुतीमा १० गते र २५ गते हाट लगाउने’ । उनको जुक्तीले काम गर्यो । हाटमा चहलपहल यती बढ्दै गयो कि भिड थेग्नै गाह्रो पर्यो । ‘मानिसहरुको भिडले हाम्रो खेतबारी सबै मासिदिन थाल्यो’ ८३ वर्षीय डबलकाजीले भने–‘तामाकोसी पारीपट्टी नदी किनारमा खुल्ला चउर थियो, त्यही चउरमा हाट बजार सार्ने निधो गर्यौं’ ।
हाटबजार तामाकोसी पारी चउरमा सारिएपछि चहलपहल झनै बढ्दै गयो । १० र २५ गते हाट लाग्थ्यो । उत्तरका साविक २२ गाविसको केन्द्र भएका कारण भिड थेगिनसक्नुको हुन्थ्यो । हाट भर्न जिल्लाभरीबाट मानिस पुग्थे । हाट लाग्ने स्थानलाई हाट भर्न आउनेहरुले गुमुखोला बजार नामाकरण गरिदिए ।
हाट लाग्ने यही चउरमा सुनखानीका महानन्द पाठकले पहिलो घर बनाए । बजारको बीचमा रहेको पाठकको यो घर नै गुमुखोला बजारको पुरानो वैभवको साक्षी थियो । त्यसपछि यज्ञप्रसाद शिवाकोटीले अर्को घर ठड्याए । डबलकाजी आफैं पिखुतीबाट गुमुखोला तिर सरे । पहिरोपछि सुरीमा पुगेका उनका दाजु मानकाजीको परिवार समेत गुमुखोला झरेर घर बनायो र यतै व्यवसाय शुरु गर्न थाल्यो । धमाधम घरहरु बन्दै जान थाले ।
३५ वर्ष गुमुखोलाको स्वर्णकाल थियो । दोलखा सदरमुकाम चरिकोटबाट उत्तरले मात्र २२ गाविस (हालका ३ गाउँपालिका) ओगट्थ्यो । हो त्यही २२ गाविसको प्रमुख व्यापारिक केन्द्र थियो गुमुखोला । गुमुखोला उता कुनै पनि बजार थिएनन् । यहाँको हाटबजार निकै प्रख्यात थियो । एमाले जिल्ला नेता समेत रहेका डबलकाजीका जेठा छोरा रामकाजीका अनुसार हाटको भिड थेगिनक्नुहुन्थ्यो । ‘घरबाट बाख्रा बस्तु, अन्न, तरकारीसहित बहनीबुतो गरेर तयार पारेका सामग्री बेच्न उत्तरका सबै गाउँबाट मान्छे आउथे’ गुमुखोलाका पुराना दिन सम्झदै उनले भने – ‘राजनीतिक दलका सभा सम्मेलन समेत यही हाटको दिनलाई लक्षित गरेर हुन्थ्यो’ । गुमुखोलाको ‘छ्याङ’ र माछा निकै लोकप्रिय हुन्थ्यो । २०३६, र २०४६ मा दोलखाका राजनीतिक दलले यो गुमुखोलामा थुप्रै पटक आमसभा गरेका थिए ।
रामकाजीका अनुसार चहलपहल बढ्दै गएपछि गुमुखोलामा कृषि विकास बैंकको शाखा खुल्यो । लगत्तै नेपाल बैंक लिमिटेडले समेत आफ्नो शाखा गुमुखोलामा खुलायो । महिला विकास, घरेलु कार्यालय, पशु, कृषि, हुलाक जस्ता सरकारी अड्डा खुले । स–साना उद्योग र कारखाना आए । घरहरु निर्माण हुँदै गए ।
गुमुखोला यसरी चम्किँदा यहाँबाट करिब १ घण्टाको पैदल दूरीमा रहेको सिंगटी बजार अस्तित्वमै थिएन ।
***
देशमा माओवादीले सशस्त्र युद्धको घोषणा गरे । युद्धको राप बिस्तारै बढ्दै थियो । गुमुखोलाबाट सरकारले बैंक उठाउने निर्णय गर्यो । सरकारी अड्डाहरु पनि उठेर गए ।
सामान बेचेर हात खाली नभएका गुमुखोला बजारका बासिन्दाले समय काल र परिस्थीतीको भेउ सम्म पाएनन् । तत्कालिन विद्रोही माओवादीले स्थानीय व्यापारीहरुलाई ठूलो रकम चन्दा माग गर्दै दुःख दिन थाल्यो । पुराना खाले व्यवसायीले विस्तार गुमुखोला छाड्दै गए । कोही दोलखा बजार, सदरमुकाम त कोही राजधानी पलायन हुँदै गए ।
गुमुखोला बजारले पहिलो झट्का खायो ।
तत्कालिन जिल्ला विकास समितिले दोलखा उत्तरलाई सदरमुकामसंग जोड्न सडक ट्रयाक खुलाउने निधो गर्यो । त्यती खेर सदरमुकाम चरिकोटबाट ४ किलोमिटरको दूरीमा रहेको दोलखा बजारसम्म मात्र सडकमार्ग थियो । दोलखा बजारबाट हिँडेर गुमुखोला बजार हुँदै दोलखा उत्तरका २२ गाविस ओहोरदोहोर गर्नुपर्थ्यो ।
जिल्ला विकास समितिले विश्व खाद्य कार्यक्रम मार्फत २०६० सालमा सिंगटीसम्म ट्रयाक खुलायो । यो सडक गुमुखोला बजारभन्दा माथिल्लो भेग हुँदै सिंगटी पुगेको थियो ।
गुमुखोला बजारको उधोगतिका लागि दोश्रो झट्का थियो त्यो ।
सिंगटीसम्म ट्रयाक खुलेपछि बजारका प्रायः स्थानीय बिस्तारै सिंगटी सर्न थाले । यसअघि अस्तित्वमै नरहेको सिंगटीमा बिस्तारै घरहरु बन्न थाले । केही व्यवसायीमाथि बञ्चरे सर्न थाले । शुरुमा बजार बसाल्ने मध्येका डबलकाजी दोलखा–सिंगटी सडक खण्ड छेउको बञ्चरे बजारमा सरे भने उनका दाजु मानकाजी राजधानी गए । महानन्द पाठक सदरमुकाम सरे । अन्य समेत सदरमुकाम चरिकोट र राजधानी हान्निए । उत्तर जोड्न खनिएको सडकमा बाह्रै मास गाडी नचलेका कारण केही भने गुमखोलामै बसे ।
२०६२/६३ पछि मुलुकमा व्यबस्था फेरियो । राजतन्त्र ढल्यो, गणतन्त्र आयो ।
यो नयाँ व्यवस्था आफ्ना लागि कति हानीकारक हुन्छ भन्ने बिचरो गुमुखोलाले भेउ नै पाएन । मानवनिर्मित विकास संगै परिस्थिती यसरी बदलियो कि त्यसलाई रोक्न सक्ने तागत गुमुखोलासंग थिएन ।
उत्तरी भेगमा राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी बन्ने भयो । आयोजना आफैंले ग्राभेल गरेर सडक सररर गाडी गुड्न सक्ने बनायो । मानव निर्मित विकाससंगै गुमुखोलाको अस्तित्व मेटिँदै गयो ।
कुनै बेलाको चर्चित गुमुखोला बजारमा अहिले रामकाजी श्रेष्ठको परिवार बाहेक कोही बस्दैनन् । माया मारेर बसाई सर्न नसकेका श्रेष्ठ एक्लै यहाँ बस्छन् ।
बजारको छेवैमा क्रसर उद्योग खुलेको छ । १ सय मिटर परबाट तामाकोसी नदीमा जुँगुतर्फ तर्ने आर्क पुल बनेको छ । कुनै बेलाको मुकामलाई फेरिे जगाउने गरि तयारी गर्ने सोचमा गाउँपालिका रहेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले सुनाइन् । ‘माछाको हव बनाउन सकिने गरी वरिपरिका सडक यो बजार क्षेत्रमा जोड्न सकिन्छ की भनेर लागिपरेका छौं’ उनले भनिन् ।
सेउली बजार मार्फत झारिएको सडकलाई गुमुखोला हुँदै जुगुँ जाने पुलसम्म जोड्न सके 'कोमा'मा रहेको यो बजारलाई फेरि जगाउने सकिने आशामा कतिपय स्थानीय छन् ।
प्रकाशित: ४ चैत्र २०७७ ०७:३४ बुधबार