१६ चैत्र २०८० शुक्रबार
समाज

गोठ भत्काएर घामपानी छेक्दै विपन्न, पालिकाले वितरण गर्ने टिन हुनेखानेलाई मात्र

तस्बिरः छानो चुहिएर भत्किएको मालारानी–५ का चन्द्रबहादुर बिकको घर।

मालारानी गाँउपालिका वडा नम्बर–५, आरुखोरका चन्द्रबहादुर बिक टिन पाउने आसले दर्जन भन्दा बढीचोटी वडा र पालिकामा धाए। गत असारमा उनको ढुङ्गाले छाएको घर भत्किएपछी उनी गोठमा बस्दै आएका थिए। पच्चिस वर्ष अँघी बनाएको पुरानो गोठको छाना चुहिएपछी त्यो पनी बस्न लायक भएन। पटक पटक वडा कार्यालय र पालिका धाएपछी उनले टिन पाउने आश्वासन पाए।  

आर्थिक अवस्था कमजोर भएका बिकले टिन पाउने आसले घर बनाउन सुरु गरे। तर, उधारो आश्वासन दिएको पालिकाले अहिले टिन दिन आनाकानी गरेको बिकको भनाई छ। ‘टिन दिन्छु भनेपछि जेनतेन घर बनाउन सुरु गरें, उनले भने, ‘अहिले अनेक बहाना बनाउने काम भएको छ। बर्खा सुरु हुन लाग्यो, यहीपनि भत्किने हो कि भन्ने चिन्ता छ।’ भएको थोरै खेत बेचेर घर बनाउन सुरु गरेका बिक वर्षायाम सुरु हुँदा घर न खेत हुने हो कि भन्ने चिन्तामा छन्। गोठमा भएको केही थान खिया लागेर चुहिने भएको टिनले ढाकछोप गरेर उनले निर्वाहा गरिरहेका छन्।

मालारानी–५, मिलनटोलका कमला बिकले पनी टिन पाउने आशमा धाउँदा धाउँदा थाकेपछी सहकारीबाट ऋृण काढेर टिन किन्न बाध्य भईन्। वडाले धेरैपटक रित्तो हात फर्काएपछी उनले भारतमा रहेका श्रिमानसंग सल्लाहा गरेर ऋणको पैसाले टिन खरिद गरिन्। ‘श्रिमान कोरोनाले छ महिना बेरोजगारै बस्नुभयो, पैसाको धेरै समस्या छ,उनले भनिन्,’वडा कार्यालय हुनेखानेको मात्र रहेछ, हाम्रो कुरा कसैले सुनेन।’

मालारानी गाउँपालिकाले दुई करोड ८० लाख रुपैया बराबरको टिन खरिद गर्न बजेट विनियोजन गरेको छ। जसमध्ये दुई करोड ४९ लाखको टिन पालिकाले खरिद गरिसकेको छ। अति जोखिमका घरहरुलाई प्राथमिकता दिएर टिन व्यवस्थापन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन। आफन्त र चिनजानका आधारमा टिन वितरण भईरहेको स्थानीयले गुनासो गरेका छन्।  

मालारानी–५ का वडाअध्यक्ष शोभाखर भुसालले पालैपालो सबैलाई टिन वितरण भईरहेको बताए। ‘कँहीकतै कमजोरी देखिएको छ, मैले उहाँहरुलाई सम्पर्क पनी गरेको छु,उनले भने,’ टिन पालिकामा आएको छैन, आएपछी प्रदान गर्ने छौं।’ प्रक्रियागत काम गर्दै जाँदा कतिपय कुराले ढिलाई भएको उनको भनाई छ।

अर्घाखाँचीका सबै स्थानीय तह खरका छानामुक्त पालिका बनाउने अभियानमा छन्। जिल्लाका तीन नगरपालिका र तिन गाउँपालिकाले खरका छानामुक्त बनाउने भन्दै टिन खरिद गरेर वितरण गरिरहेका छन्। दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत संघीय सरकारको सहयोग तथा पालिकाको आफ्नै बजेट विनियोजन गरेर टिन वितरण गरिएको छ। पालिकाले दलित तथा विपन्नका लागी बनाएको मापदण्डमा सबै अटाउन भने सकेका छैनन्।

६ स्थानीय तहमा १० करोड भन्दा बढीको टिन खरिद

अर्घाखाँचीका ६ स्थानीय तहले हालसम्म १० करोड रुपैयाँँ भन्दाबढी टिन खरिदका लागी बजेट विनियोजन गरेको तथ्याङ्कमा देखिन्छ। संघीय बजेट र पालिकाको आफ्नै बजेट गरेर जिल्लाका ६ स्थानीय तहले १० करोड १३ लाख ३० हजार रुपैयाँँ भन्दा धेरै टिनका लागि विनियोजन गरेका छन्।  

सन्धिखर्क नगरपालिकाले एक करोड २० लाख, शितगंगा नगरपालिकाले एक करोड ७३ लाख ३० हजार, भुमिकास्थान नगरपालिकाले १ करोड, मालारानी गाउँपालिकाले दुई करोड ८० लाख, पाणिनी गाउँपालिकाले दुई करोड २० लाख र छत्रदेव गाउँपालिकाले १ करोड २० लाख रुपैयाँ गरी १० करोड १३ लाख ३० हजार रुपैयाँँ टिनका लागी विनियोजन गरेका छन्।  

दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रम, सुरक्षित आवास, गरिबी निवारण कार्यक्रम, खरका छाना मुक्त कार्यक्रम जस्ता नारासहित ठूलो रकम टिनका छानामा विनियोजन भएको छ। अर्घाखाँचीका ६ वटै स्थानीय तहले गरिब तथा विपन्न परिवारलाई केन्द्रित गरी खरको छाना हटाई टिनको छाना लगाउने कार्यक्रम बजेटमा समावेश गर्दै आएका छन्। यी प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रमले जनप्रतिनिधिलाई काम देखाउने र जस लिने बाटो बनेको छ।  

खरको छानोका कारण कष्ट बेहोरिरहेका विपन्न समुदाय यो कार्यक्रमले लाभान्वित भएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए। ‘यो कार्यक्रम प्रभावकारी छ, जनतालाई सुविधा भएको छ,’ उनले भने, ‘वर्षायाममा छानो चुहिने समस्या हटेको छ। गर्मीमा आगलागीको घटनामा पनी कमी आएको छ।’ आर्थिक अभावको कारण खरको छानामुनि बस्न बाध्य नगरवासीलाई सुविधा भएको उनको भनाई छ।

प्रकाशित: २ चैत्र २०७७ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App