१६ चैत्र २०८० शुक्रबार
समाज

मुस्कानलाई साहसी महिला पुरस्कार

दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

एसिड आक्रमण अन्त्यका लागि मुस्कानबाट भएको साहसिक प्रयासको प्रशंसा गर्दै पुरस्कार प्रदान गर्न लागिएको दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिंकनले मार्च ८ मा भर्चुअल कार्यक्रमबीच सो पुरस्कार प्रदान गर्ने नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जनाएका छन्। दूतावासले यो पुरस्कारका लागि खातुन छनोट भएकोमा खुसी व्यक्त गरेको छ।

आफूले पुरस्कार पाउने घोषणा भएपछि मुस्कान खातुनको परिवारमा शुक्रबार दिनभरि बधाई दिनेको घुइँचो लाग्यो। मिडिया, मिस नेपाल शृंखला खतिवडा, आफन्तलगायतले बधाई दिएको खातुनले बताइन्। आफूले कहिल्यै नसोचेको अन्तर्राष्ट्रिय पुरस्कार पाइने भएपछि आश्चर्यमा परेको प्रतिक्रिया उनले दिइन्। ‘मैले केही काम गरेकी थिएँ तर अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाइहाल्छु भन्ने लागेको थिएन,’ उनले शुक्रबार साँझ नागरिकसित भनिन्।  

डेढ वर्षअघि वीरगन्जको गणेश चोकमा स्कुल जाने क्रममा बिहान ६ बजे खातुनमाथि दुई पुरुषले एसिड आक्रमण गरेका थिए। आक्रमणपछि उपचारका क्रममा काठमाडौं आएको खातुन परिवार कलंकीमा बस्दै आएको छ। मुस्कान कलंकीको ब्राइट फ्युचर स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। उनले डाक्टर बन्ने सपना देखेकी थिइन्। तर एसिड आक्रमणपछि आफ्नो सपना फेरिएको खातुनले बताइन्। अहिले कतै महिलामाथि हिंसा भएको सुनियो कि उनी घटनास्थलमै पुग्छिन्, हिंसापीडित महिलाको भिडियो बनाउँछिन् र सामाजिक सञ्जालमा राख्छिन्। जीवनमा आइपरेका अप्रिय घटना बिर्सेर मात्र अघि बढ्न सकिन्छ भन्ने अनुभव उनको छ। आफू आक्रमणमा परेपछि घटनालाई बिर्सेर अघि बढेको उनले बताइन्।

घटनापछि उनले एसिड आक्रमणविरुद्धको कडा सजायको मागसहित कानुन परिमार्जनका लागि राज्यसित पहल गरेकी थिइन्। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन संशोधनका लागि सुझाव माग्न उनलाई भेटेका थिए। मुस्कानले जीवनभर बलात्कार, हिंसा, एसिड आक्रमणमा परेका महिलाका लागि कडा कानुन बनाउन र उनीहरूलाई न्याय दिलाउन लडिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्। ‘महिलामाथि हुने यस्ता हिंसाविरुद्ध कडा कानुन भएन भने उनीहरूको सपना अपुरो हुन्छ, कहिले एसिडको सिकार हुनुपर्छ, कहिले बलात्कार खेप्नुपर्छ,’ उनले भनिन्।

मुस्कानले पाउन लागेको यो पुरस्कार १५औं संस्करणको हो। यो पुरस्कार प्रायः ठूलो व्यक्तिगत जोखिम उठाई त्याग गर्ने र शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको पक्षमा वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानस्वरूप प्रदान गरिन्छ। यसअघि पाकिस्तानकी १५ वर्षीया किशोरी मलालालाई यो पुरस्कार प्रदान गरिएको थियो। उनले पाकिस्तानी महिला तथा बालिकाको शिक्षा र अधिकारका लागि वकालत गरेबापत यो पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७७ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App