८ वैशाख २०८१ शनिबार
समाज

टीकापुर नगरपालिकाद्वारा जग्गादातालाई सम्मान

टीकापुर नगरपालिकाले एक समारोहको आयोजना गरी जग्गादान गर्नेहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेमा स्थानीय सुशील सिँह, कमला बिष्ट, कुमारराज शाही र सुमन श्रेष्ठ रहेका छन। चारैजनाले विभिन्न कार्यालय स्थापनाका लागि नगरपालिकालाई जग्गादान गरेका छन।  

सिंहले वडा नं. ५ को कार्यालय स्थापनाका लागि ३ कठ्ठा र बिष्टले सोही वडामा रहेको मनिकापुर शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि २ कठ्ठा जग्गादान गरेका छन्। त्यस्तै वडा नं. ६ को भगवानपुरमा बाढीबाट प्रभावितहरुका लागि सुरक्षित उच्च भवन निर्माण गर्न शाहीले २ कठ्ठा २ धुर जग्गा दान गरेका छन्। उनले यसअघि पनि विभिन्न संघसंस्थाहरुलाई जग्गादान गरेका छन्।  

टीकापुर नगरपालिका–९ का श्रेष्ठले वडा कार्यालय र स्वास्थ्य केन्द्र स्थापनाका लागि जग्गादान गरेका छन। उनले ३ कठ्ठा जग्गादान गरेका छन्।  

नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी बिष्टले जग्गादान गर्ने दाताहरुलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरेका छन्।  

त्यस्तै सोही समारोहमा नगरपालिकाले कोभिड–१९ को बेला सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुलाई समेत सम्मान गरेको छ। नगरपालिकाले विपद कोषमा नगद जमा गर्ने र खाद्यान्न सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरेको हो।  

मेयर रावलले नगरपालिकालाई सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे। उनले संकटका बेला आमनागरिक नगरपालिकाको साथमा रहेको भन्दै आगामी दिनमा समेत सहयोगका लागि आग्रह गरे।  

सबैको प्रयासबाट लकडाउनमा पीडित समक्ष राहत पुर्याउन सकिएको उल्लेख गर्दै उनले सामुहिक रुपमा विपद्को सामना गरिएको बताए। कोभिड–१९ रोकथामका लागि गरिएको लकडाउनका क्रममा नगरपालिकाले आह्वान गरेको विपद कोषमा नगद र खाद्यान्न गरी झण्डै ७० लाख संकलन भएको बताईएको छ।  

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App