coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रस्तावमै छलफल नगरी नगरसभा अन्त्य

वडा विभाजनको प्रस्तावमा छलफल नै नगरी टीकापुर नगरपालिकाको आठौं नगरसभा अन्त्य भएको छ। गत पुस २६ गतेदेखि सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावकै कारण लम्बिएको थियो। वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठन गरिएको वडा विभाजन कार्यदलमा सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेश गरिएको थियो। कार्यदलका सदस्य समेत रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलमै असहमति जनाएका थिए।

वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले वडा नम्बर १ को ब्लक नम्बर १४ लाई विभाजन गर्न खोजेपछि विवाद भएको हो। कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरूले प्रस्तावमा असहमति जनाएका थिए। कार्यपालिका सदस्यको असहमतिलाई वेवास्ता गर्दै सो प्रस्ताव नगरसभामा पेश गरिएको थियो।

‘वडा विभाजनको प्रस्ताव नगरसभामा कुनै छलफल नै भएन,’ ७ नम्बर वडाध्यक्ष रामलाल डगौरा थारुले भने, ‘अहिले प्रस्ताव थाँती राख्ने सहमति भयो।’ वडा विभाजनको प्रस्ताव राजनीतिक र प्राविधिक हिसाबले विवादमा परेको मेयर तपेन्द्रबहादुर रावलले बताए। उनले विशेष नगरसभा आह्वान गरेर सो प्रस्ताव टुंगोमा पुर्‍याउने सहमति भएपछि नगरसभा अन्त्य भएको बताए।

‘नगरसभालाई लामो समय लम्ब्याउन राम्रो देखिएन,’ मेयर रावलले भने, ‘सरोकारवालाबीच सहमति जुट्यो भने कुनै पनि बेला विशेष नगरसभा आह्वान गर्न सकिन्छ।’ वडा विभाजनको प्रस्तावप्रति असहमत रहेका ६ नम्बर वडाध्यक्ष बलिराम चौधरीले सरोकारवालाले दिएको ‘म्यान्डेट’का आधारमा वडा विभाजन हुने बताए।

कार्यदलले नगरसभामा वडा नम्बर १ लाई ४ र वडा नम्बर २ लाई २ वडामा विभाजन गर्ने प्रस्ताव पेस गरेको थियो। हाल नगरपालिकामा ९ वटा वडा रहेका छन्। वडा नम्बर १ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App