coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध सम्बन्धले व्यापारीको हत्या

गत शनिबार मृत अवस्थामा गोदावरी नगरपालिका–५, का ३६ वर्षीय शिवचरण रानाको उनकै प्रेमिकाले हत्या गराएको खुलासा भएको छ । गाउँकै एक विवाहित महिलासँग वर्षौदेखि उनको अवैध सम्बन्ध थियो । रानालाई उनकै सम्बन्धमा रहेकी प्रेमिकाले दुईजना युवक लगाएर हत्या गर्न लगाएको खुलासा भएको हो ।

चासोको साथ हेरिएको गेटा आँखा अस्पतालनजिक पसल सञ्चालन गरिरहेका रानाको हत्या उनकै सम्बन्धमा रहेकी युवतीले योजनाबद्ध ढंगले गरेको प्रहरीले बताएको छ । प्रहरीले बिहीबार हत्याको मुख्य योजनाकार गोदावरी नगरपालिका–५ की ३७ वर्षीया जयन्ती चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । युवतीको योजनामा दुईजना युवकले व्यापारी रानाको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक अनुपशमशेर जबराले बताए । हत्यामा संलग्न दुईजना युवक भने अझै फरार छन् । युवतीले आफ्नै भाइ नाता पर्नेलाई ४० हजार रुपैयाँ सुपारी दिएर हत्या गराएको बुझिएको छ । ‘युवतीले भाइ नाता पर्ने युवकलाई हत्या गर्न जिम्मा दिइन् र ती युवकले अर्को एक युवकको पनि सहयोग लिएर हत्या गरेको देखिन्छ,’ उनले भने ।

अर्की युवतीसँग लागेपछि हत्या

युवतीको पनि युवकसँगै पसल भएकाले करिब १५ वर्षअघि युवतीको व्यापारी रानासँग चिनजान भएको थियो । विस्तारै दुवैबीचको सम्बन्ध प्रेममा परिणत भयो । दुवै जनाबीच शारीरिक सम्बन्ध हुन थाल्यो । पाँच वर्षअघि युवतीका श्रीमान्ले व्यापारीसँग रंगेहात फेला पारे । रानाले दुई लाख रुपैयाँ दिएर अबदेखि सम्बन्ध टुटाउने भन्दै घटना मिलाइएको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक जबराले बताए । ‘युवती रानालाई धेरै माया गर्थिन्, उनी बिहे गर्न नै चाहान्थिन्, तर रानाले बिहे गर्न नचाहेर पैसा दिई घटना मिलाए,’ उनले भने, ‘रानाले बिहे नगरे पनि युवतीले माया गरेर सम्बन्धमा रहेकी थिइन् ।’ रानाले अर्को युवतीसँग पनि सम्बन्ध जोडे । अर्को युवतीसँग रानाले सम्बन्ध बनाएपछि जयन्तीले रानाको हत्या गर्ने सोच बनाइन् । सुरुमा आफैं हत्या गर्ने उनले योजना बनाइन् । घरमा बोलाएर रक्सी खुवाएर हत्या गर्ने प्रयास गरे पनि त्यो नसकेपछि भाइ नाता पर्नेलाई लगाएर हत्या गर्ने योजना बनाएको बयान दिएको प्रहरी उपरीक्षक जबराले बताए ।

शिवचरणको एक अर्की युवतीसँग पनि प्रेम सम्बन्ध रहेको थाहा पाएपछि युवतीले त्यसो नगर्न आग्रह गरिन् । शिवचरणले उल्टै युवतीलाई धम्की दिएपछि उनमा बदलाको भावना जाग्यो । शिवचरणले भेट्नका लागि सताइरहने र युवतीमा बदलाको भावना जागेपछि एक महिनाअघि एक नातेदारलाई घटना बताइन् र त्यही दिन बन्यो शिवचरणको हत्या योजना बनेको उद्धृत गर्दै प्रहरीले भन्यो ।  

हत्याको योजना बनेपछि ती युवतीका नातेदारले गेटा आँखा अस्पतालअगाडि पसल सञ्चालन गर्दै आएका शिवचरणको दैनिकीलाई नजिकबाट नियाल्दै आए । शिवचरण बिहान भैँसी दुहुन पसलबाट घर फर्किने गरेका थिए । शिवचरण रातिको समयमा पसलमा बस्ने र बिहानै घरमा भैँसी दुहुन जाने गरेको युवकले चियो गरे । ती युवकले बिहान भैँसी दुहुन जाने समयमा हत्या गर्ने योजना बनाए । त्यहीअनुसार दुईपटक हत्याको योजना विफल बनेको थियो । दुईपटकको विफल योजना गत शनिबार (फागुन १५ गते) बिहानै उनीहरूले सफल पारे ।  

प्रहरीले शिवचरण र युवतीको सम्बन्ध जानकारीसँगै दुई लाखको सम्झौता थाहा पायो । त्यही विषयलाई खोतल्दै जाँदा अन्ततः घटना बाहिर आएको प्रहरी बताउँछ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । युवतीले प्रहरीसमक्ष अपराध अस्वीकार गर्दै आइन् । पटकपटक प्रहरीले नियन्त्रणमा लिएर सोछपुछ गर्दा समेत युवतीले कुरा नखोलेपछि युवतीले प्रयोग गर्दै आएको सीमकार्डका आधारमा ‘कलडिटेल’ भेटायो । कलडिटेलकै आधारमा अन्ततः युवतीले अपराध स्वीकारेको प्रहरी बताउँछ । घटनामा संलग्न युवतीका नातेदार भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App